0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीचको एकता अपरिहार्य भएको बताएका छन् ।
नेपाल प्रेस युनियन, कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान जारी गर्दासम्म एक जुट बनेका दल जारी पछिको समयमा एक बन्न नसकेकै कारण देशमा विद्यमान सङ्कट समाधान हुन नसकेको बताउँदै दलहरूबीचको १६ बुँदे सहमतिका आधारमा अहिले पनि अघि बढ्नुपर्नेमा जोड दिए । 
देशको जारी समस्या एवम् मित्रराष्ट्र भारतसँगको चिसिएको सम्बन्धलाई सुदृढ बनाउन पनि नेपालका राजनीतिक दल एक ठाउँमा बस्नु अपरिहार्य भएको नेता खड्काको भनाइ छ । वर्तमान सरकारले संविधानमा उल्लिखित २५ जनाको मन्त्रिमण्डल हुने कुरालाई तोडेर ४० पु¥याएको उल्लेख गर्दै उनले संविधान कार्यान्वयनका लागि बनेको सरकारले संविधान मिचेर गलत काम गरेको आरोप लगाए । नेपाली काँग्रेसको आशन्न महाधिवेशनले विद्यमान ६०÷४० को घेरालाई तोड्नुपर्ने औँल्याउँदै उनले समयानुकूल पार्टीमा नवजागरणको अभियान आवश्यक भएको बताए । 
यता, प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भूकम्प र नाकाबन्दीबाट पीडित जनताको पक्षमा सरकारले काम नसकेको आरोप लगाउँदै सांसदको भूमिकाबारे बृहत् छलफलको खाँचो औँल्याएको छ । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा काँग्रेसका नवीन्द्रराज जोशीले ३१ मन्त्रालय, छ उपप्रधानमन्त्री सहितको सरकार गठन भए पनि चिसोमा कठ्याङ्ग्रिएका जनताले सरकारको महसूस गर्न नपाएको आरोप लगाए । उनले भने–‘महँगीको मारमा जनता छट्पटाइरहेका भए पनि सरकार मन्त्रालय, मन्त्री थप्नेतिर उद्दत भएको छ, नाकाबन्दी र भूकम्पबाट पीडितलाई राहत दिने मामिलामा संवेदनशील छैन, त्यसैले सांसदको भूमिकाबारे बृहत् छलफलको आवश्यकता देखिएको छ ।’
यस्तै नेपाली काँग्रेसका नेता डा शशाङ्क कोइरालाले काँग्रेसले स्थापना कालदेखि नै वैज्ञानिक भूमिसुधारका पक्षमा आवाज उठाउँदै आएको बताएका छन् । ‘नेपाली काँग्रेस र वैज्ञानिक भूमिसुधार’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता कोइरालाले भूमिमा सबैको पहुँच पु¥याउन काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वको सरकारले २०१५ सालमा वैज्ञानिक भूमिसुधार योजनाको थालनी गरेको बताए । उनले काँग्रेस स्थापना कालदेखि नै सामन्ती भू–स्वामित्वको अन्त्य गर्दै भूमिको न्यायपूर्ण वितरणका माध्यमबाट समतामूलक समाजमा केन्द्रित रहेको चर्चा गरे ।

Post a Comment

 
Top