0
गोल्डेन न्यूज संवाददाता
राजधानीसहित अन्यत्र क्षेत्रका विकास बैंक र फाईनान्सहरुको निश्क्रिय कर्जा थामिनसक्नु गरी बढ्नु, संस्थागत सुशासन कमजोर भएर राष्ट्रबैंकको कार्बाहीमा पर्नेक्रम बढिरहेको बेला पोखराका बैंक तथा बित्तीय संस्थामा भने बिल्कुलै फरक प्रबृत्ति देखिएको छ । सानो पूँजीबाट सुरु भएका बैंक तथा बित्तीय संस्थाहरुले लगानीकर्ताहरु लाई बर्षेनी आकर्षक प्रतिफल बाड्दै पूँजी बृद्धि गर्दै लगेका मात्रै छैनन् निष्क्रिय कर्जा एक प्रतिशत भन्दा तलै राखेर संस्थागत सुशासनको उदाहरण पनि प्रस्तुत गरेका छन् । 
राजधानी र अन्य शहरमा प्रधान कार्यालय रहेका विकास बैंक तथा वित्त कम्पनीहरुको भन्दा निक्षेप संकलन, कर्जा प्रवाह, मुनाफा र खराब कर्जालाई तुलना गर्दा पोखराका बैंक वित्तीय संस्थाहरुको प्रगति निकै राम्रो देखिएको हो । पोखरालाई केन्द्र बनाएर संचालित अधिकाश बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा पोखरा फाईनान्स बाहेक अरुको एक प्रतिशत भन्दा कम छ भने प्रतिशेयर आम्दानी औसत ३० रुपैयाँ भन्दा बढी छ ।
पोखरामा प्रधान कार्यालय रहेका १० वटा संस्थामध्ये ७ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनी छन् । यसक्षेत्रमा मात्रै बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघु वित्त विकास बैंककागरि २५० भन्दा बढि शाखाहरु संचालनमा रहेका छन् । मेरो लगानीका अनुसार गत आर्थिक वर्ष ०७१÷०७२ मा विकासमा पोखराका १० बैंक तथा वित्तीय संस्थाहरुले ३ अर्ब भन्दा बढि नाफा कमाएका छन् । सो अवधिमा यी दश संस्थाहरुले झण्डै ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । जसमध्ये सबै कम्पनीहरुले उल्लेख्य नाफा कमाएका छन्  । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार पोखरा फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा बढि देखिएको छ । पोखरा फाइनान्सको प्रतिशेयर आम्दानी ४७.२७ रुपैयाँ रहेको छ । त्यसपछि मुक्तिनाथ विकास बैंक, ओम फाइनान्स, सिटी डेभलपमेन्ट र गण्डकी विकास बैंक रहेका छन् । यी बैंकहरुको प्रतिशेयर आम्दानी ३० रुपैयाँ भन्दा बढि छ । सबैभन्दा कम प्रतिशेयर आम्दानी भएको कास्की फाइनान्सको समेत २२.६५ रुपैयाँ रहेको छ ।
नाफाका हिसाबले मुक्तिनाथ विकास बैंक पहिलो, फेवा विकास बैंक दोस्रो र गरिमा विकास बैंक तेस्रो स्थानमा छन् । त्यस्तै निक्षेप संकलनका हिसाबले फेवा विकास बैंक पहिलो स्थानमा छ भने त्यसपछि मुक्तिनाथ र गरिमा विकास बैंक रहेका छन् । कर्जा विस्तारमा पनि यी संस्थाहरु अग्रस्थानमा रहेका छन् ।
पोखरा फाइनान्स सबैभन्दा बढि खराब कर्जा भएको संस्था हो । उसको खराब कर्जा २.२२ प्रतिशत छ । सबैभन्दा कम खराब कर्जा  मेट्रो डेभलपमेन्टको ०.११ प्रतिशत मात्रै रहको छ । पोखरा फाइनान्स बाहेक सबै कम्पनीको खराबकर्जा एकप्रतिशत भन्दा कम रहेको छ ।  मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालका अनुसार व्याज आम्दानी र सञ्चालन आम्दानी पोखराका संस्थाहरुको मुख्य आम्दानी हो । पोखराका  बैंक तथा वित्तीय संस्थाहरु राष्ट्रबैंकको निर्देशन अनुसार संचालित रहेको, संस्थागत  सुशासन र ऋणिहरुको असल नियत कै कारण वित्तीय संस्थाहरु सबल बन्दै गएको उनको भनाई छ ।
पोखरा पर्यटकीय क्षेत्र भएको र यहाँका बैंकका ग्राहकहरुले कर्जाको सदुपयोग गरेकाले पनि वित्तीय संस्थाहरु फस्टाँउदै गएका हुन् । ग्राहकहरुको पर्यटन तथा कृषि क्षेत्रमा लगानी बढाएका छन् । पोखराको जग्गाको मूल्य समेत अन्यत्रको भन्दा महङ्गो भएकाले तुलनात्मकरुपमा हाउजिङ्ग र रियलस्टेट कर्जा संकुचित भएकाले पोखराका बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य राम्रो भएको देखिन्छ । ‘गभर्नेन्सका हिसाबले पनि कास्कीका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था चर्चा गर्न लायक छ’ ढकालको भनाई छ । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका उपनिर्देशक अमर अधिकारीले पनि नेपाल राष्ट्रबैंंकको निर्देशन अनुसार बैंक तथा फाइनान्सहरु संचालन हुनु र संस्थागत सुशासन नै संस्थाहरुको अवस्था राम्रो हुनुको कारण भएको बताए । पोखराको निक्षेपको मूल स्रोतको आधार रेमिटान्स हो । त्यस्तै पर्यटन, कृषि, साना तथा मझौला र ट्रेडिङ विजनेस लगानीका मुख्य क्षेत्र भएको पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।
भूकम्प  र भारतीय नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिका कारण राष्ट्र बैंकले बैंकहरुलाई केही सहुलियत दिएकाले उनीहरुको नाफामा खास संकुचन नदेखिएको हो । केन्द्रीय बैंकले  असल ऋणिलाई कर्जा तिर्ने म्याद लम्ब्याएर कर्जा नोक्सानी व्यवस्थामा सहुलियत दिएको थियो । भूकम्प पश्चात बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले दिएको राहत प्याकेजका कारण पनि गत आर्थिक बर्षको बासलत राम्रो देखिएको र पोखराबाट संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको तराई क्षेत्रमा शाखा नहुदा पहिलो त्रैमासमा समेत प्रफमेन्स राम्रो देखिएको गुरुङको भनाई छ । तर नाकान्दीपश्चात अर्थतन्त्रमा लगानीको वातावरण संकुचीत भएको र ब्याज समेत घट्दै गएकाले आगामी प्रफमेन्समा भने केहि गिरावट हुनसक्ने उनको भनाई छ ।
भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर परेको बेला पनि पोखराका १० वटा बैंक तथा वित्त संस्थाले यो आर्थिक वर्षको पहिलो तीन महिनामा २५ करोड ६० लाख रुपैयाँ नाफा कमाएका छन् । पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंक ६ करोड ८५ लाख, फेवा विकास बैंक ४ करोड ६५ लाख, गरिमा विकास बैंक २ करोड ९१ लाख, कामना विकास बैंक २ करोड १२ लाख, सिटी विकास बैंक २ करोड ५ लाख,ओम फाइनान्स २ करोड २ लाख, गण्डकी विकास बैंक २ करोड १ लाख, कास्की फाइनान्स १ करोड १५ लाख, मेट्रो डेभलपमेन्ट बैंक १ करोड ९ लाख र पोखरा फाइनान्सले ७५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यस्तै राष्ट्रबैंकले पूँजीवृद्धिको योजना ल्याएपछि पोखराका बैंक तथा वित्तीय संस्थाहरुमा पनि मर्जरको लहर चलेको छ । यसबीचमा कास्की फाइनान्स र कामना विकास बैंकले एक आपसमा गाभिन सहमति गरेका छन्। त्यस्तै ओम फाइनान्स र सिटी विकास बैंकले पनि गाभिने सहमति गरिसकेका छन् । यसभन्दा अगाडि विश्व विकास बैंक र फेवा फाइनान्स गाभिएर बनेको फेवा विकास बैंकले गत असारबाट नै एकीकृत कारोबार सुरु गरिसकेकोमा फेरि काठमाडौको बिजिनेश युनिभर्सल बिकास बेंकसँग मर्जमा जाने सम्झौता गरेको छ ।
गरिमा विकास बैंक र नीलगिरि विकास बैंकले पनि मर्जरपश्चात गएको असारदेखि गरिमा विकास बैंकको नाममा एकीकृत कारोबार थालिसकेका छन्। त्यसभन्दा अगाडि मुक्तिनाथ विकास बैंकले पनि सिभिक विकास बैंकलाई आफूमा विलय गराएको थियो। अहिले संचालनमा रहेका यी बैंकहरुले पनि चुक्ता पूँजी बढाउनका लागि उपयुक्त जोडीको खोजीमा जुटेका छन् ।


Post a Comment

 
Top