0
गोल्डेन न्यूज संवाददाता
महिलाहरुलाई उद्यमशील वनाउने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघले विहिवार एक दिने कर्जा प्रवाह गर्ने सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमशिलता विकास कोषवाट प्राप्त भएको रकमलाई महिलाहरुद्वारा संचालित उद्योग व्यवसायलाई विना धितो कर्जा प्रवाह गर्ने वारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिपाठीले कर्जा प्रवाहको उद्देश्य माथि प्रकाश पार्दै महिला उद्यमीहरुलाई महिला उद्यमशिलता विकास कोषबाट विना धितो कर्जा प्रवाह गर्नको लागि कास्की जिल्ला छनौट भएको र यस कोषबाट कर्जा लिनका लागि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका सम्पूर्ण महिला उद्यमीहरुले कर्जाका लागि निवेदन दिन सक्ने जानकारी दिएका थिए ।
 
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बावुराम गिरीले नेपाल सरकारले महिला उद्यमीहरुलाई विशेष प्राथमिकतामा राखेको स्पष्ट पारे । महिलाहरुद्वारा संचालित उद्योगहरुले सस्तो र विना धितो कर्जाको व्यवस्था गरेकाले सवै महिलाहरुले यसबाट लाभ लिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न आग्रह गरेका थिए । त्यसगरि घरेलु तथा साना उद्योग कार्यालय कास्कीका लेखा अधिकृत एवं कार्यक्रमका सदस्य सचिव विष्णुप्रसाद आचार्यले कार्यक्रम र कोष निर्देशिकाका बारे विस्तृत जानकारी दिएका थिए । लेखनाथ उद्योग वाणिज्य संघमा आवद्ध ६५ जना महिला सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संघका द्वितिय उपाध्यक्ष बलराम ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन सघका उपमहासचिव भरतकुमार अधिकारीले गरेका थिए ।


Post a Comment

 
Top