0
पदयात्राको लागि संसारमै प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको पोखरेबगर–घार–शिख–घोरेपानी पदमार्ग सडक बनेपछि ओझेलमा परेको छ । बेनी–जोमसोम खण्डमा जोडिएर घोरेपानी नजिक चित्रेमा सडक पुगेपछि सो पदमार्ग सुनसान बनेको छ । मोटरबाटो पुगेपछि पर्यटकले अन्य वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका छन् । पदमार्ग क्षेत्रमा भएका दर्जनौं होटल पर्यटककीय याममा समेत बन्द अवस्थामा छन् । फाट्टफुट्ट खुलेका होटलमा पनि एकाध पर्यटक मात्र आउने गरेको होटल व्यवसायी बताउँछन् । मोटरबाटो खुलेपछि ओझेलिएको पदमार्ग भूकम्प र आपूर्ति अभावले झन् थलिएको छ । पहिले–पहिले दैनिक सयौँ पर्यटक आवातजावत गर्ने उक्त पदमार्ग अहिले सुनसान रहेको घार–६ का होटल व्यवसायी सक्कली बरुवालले बताए । “मोटरबाटो आएपछि यस क्षेत्रमा आउने पर्यटक घटेका छन्, भूकम्पले पनि ठूलो असर पारेको छ”–बरुवालले भने । कास्कीको नयाँपुल, वीरठाँटी, घान्द्रुक, घोरेपानी हुँदै तातोपानी, जोमसोम पुग्ने पर्यटक सो पदमार्ग हुँदै आवातजावत गर्ने गर्छन् । मोटरबाटो नबन्दा र अन्य वैकल्पिक पदमार्ग नहुँदा घान्द्रुक–घोरेपानी हुँदै तातोपानी निस्केर मुक्तिनाथ जाने प्रमुख पदमार्ग यही रहेको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताए । “अहिले नयाँ–नयाँ रुट खुलेका छन्, त्यसले पनि प्रभाव पारेको हो । सँगै मोटरबाटो बनेपछि प्रमुख पदमार्ग नै ओझेलमा परेको छ”– उनले भने ।     पदयात्रा रुचाउने पर्यटकको लागि आर्कषक मानिने यस क्षेत्रमा मोटरबाटो ल्याउँदा पदमार्ग छलेर ल्याइनुपर्ने उनको भनाइ छ । घोरेपानीका पर्यटन व्यवसायी टेकसर पुन पनि मोटरबाटो बनेको क्षेत्रमा विदेशी पदयात्राको लागि आउन नरुचाउने धारणा राख्नुहुन्छ । पछिल्लो समय वैकल्पिक पदमार्गको रूपमा ‘खोप्रा टूेक’ खुलेपछि पुरानो पदमार्ग ओझेलमा परेको हो । तीन हजार ६६० मि उचाइमा रहेको खोप्रा लेक हुँदै जोमसोम जाने नयाँ पदमार्ग खुलेपछि पर्यटकको आकर्षण त्यता बढेको हो । होटल व्यवस्थापन समितिका अध्यक्ष पुनका अनुसार पोखरेबगर–घार–शिख–चित्रे–घोरेपानी पदमार्गमा रहेका होटल–रेस्टुराँको अवस्था पनि नाजुक छ । कतिपय बन्द भइसकेको छन् भने कतिपय बन्द हुने अवस्थामा छन् । सुविधा सम्पन्न र पर्यटन लोभ्याउने गरी बनाइका होटल पर्यटकको पखाईमा बसिरहेका छन् ।बराही गेष्ट हाउसका सञ्चालक खेम सेञ्चुरीले मोटरबाटो निर्माण, भूकम्प जस्ता कारणले दर्जन बढी होटल प्रभावित बनेको उल्लेख गरे। पर्यटककीय याममै पदमार्ग सुनसान बनेपछि होटल व्यवसायीहरू पनि निराश छन् । घारेपानी–पुनहिल पुगेका पर्यटक पनि सो पदमार्ग छोडेर वैकल्पिक पदमार्ग रोज्न थालेका छन् । कतिपय पर्यटक भने घोरेपानी फन्को मारेर पुनः घान्द्रुक हुँदै कास्की नयाँपुल ओर्लने गरेका छन् । घोरेपानीमा पनि यो वर्ष अघिल्लो वर्षको तुलनामा पचास प्रतिशतभन्दा बढीले पर्यटक आगमनमा कमी आएको छ । सूर्योदय र मनोरम हिमशृङ्खला अवलोकनको लागि वार्षिक तीस हजार पर्यटक घोरेपानी–पुनहिल पुग्ने गरेका छन् । रासस

Post a Comment

 
Top