0
तीन महिनाभन्दा लामो मधेस आन्दोलन टुंग्याउन बुधबार साँझ बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ता बिनानिष्कर्ष सकिएको छ । सिंहदरवारस्थित राज्यव्यवस्था समितिको कार्यालयमा भएको वार्ता ठोस एजेन्डामा प्रवेश नै नगरि रोकिएको हो । बैठकपछि संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एजेन्डामा प्रवेश नगरि वार्ता सकिएको बताए । यादवले सरकारले विपक्षी सँगसमेत बसेर साझा धारणा बनाएपछि वार्ता हुने जानकारी दिए । ‘सरकारले ठोसरुपमा कुनै पनि प्रस्ताव ल्याएन,’ उनले भने, ‘चियाबिस्कुट खाएर उठेर हिंडियो ।’ उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै विषयलाई प्याकेजमै समाधान खोजिने जानकारी दिए । ‘किस्ता किस्तामा समाधान खोज्न सकिन्छ कि भन्ने थियो,’ उनले भने, ‘समग्रमा सबै विषयलाई टुंग्याउनुपर्ने भयो ।’ सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका कानुनमन्त्री अग्नि खरेलले सरकारको तर्फबाट सत्तारुढ दलबीच छलफल गरेर पुनस् वार्ता हुने बताए । ‘वार्ता सकारात्मक छ,’ उनले भने,–‘बिग्रिहालेको छैन ।’
छठपछि कडा संघर्ष गर्ने घोषणा गरेको मोर्चासँगको बुधबारको वार्तालाई ‘निर्णायक’ भनि प्रचार गरिएको थियो । उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष दाहालले राखेको प्रादेशिक सिमांकनको नयाँ प्रस्तावमा सत्तारुढ एमाले र विपक्षी कांग्रेस नै असहमत छन् । स्वयं एमाओवादीका पूर्व र सुदूरपश्चिमका नेताहरुले पनि दाहालको प्रस्तावप्रति कडा असहमति राखेका छन् । दाहालले पूर्वका सुनसरी र मोरङ र सुदूर पश्चिमका कैलाली, कञ्चनपुरका केही भाग टुक्र्याउने प्रस्ताव गरेका थिए । बैठकमा एमाले बरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापा, अग्नि खरेललगायत थिए । मोर्चाबाट संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सहअध्यक्ष हृदयेश त्रिपाठी लगायत थिए ।

Post a Comment

 
Top