0
गोल्डेन न्यूज संवाददाता
जनकवि गोकुल जोशीको जन्म स्थान तनहुँको राइपुर–६ खोलाखेतमा पोखरेली साहित्यकारहरुले दुई दिने भ्रमण सम्पन्न गरेका छन्। त्यस अवसरमा राइपुरवासीले एक कार्यक्रमको आयोजना गरी साहित्यकारहरुको स्वागत गरेका थिए। कार्यक्रममा मन्तव्य राख्दै प्रा.डा रविलाल अधिकारीले जनकवि गोकुल जोशीको चर्चा व्यापक रहेको उल्लेख गर्दै अब उनको जन्मस्थानलाई चम्काउन र त्यसबाट लाभ लिन स्थानीय जनता नै सकृय हुनुपर्नेमा जोड दिए।
 
गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमीले संगमले गोकुल साहित्य पुरस्कार स्थापना गरेको र मुखपत्र मार्फत पनि कविको बारे लेख रचना प्रकाशन गर्दै आएको बताए। संगमका उपाध्यक्ष डा. कृष्णराज अधिकारीले कवि गोकुललाई तत्कालीन अवस्थामा राज्यले चिन्न नसकेको उल्लेख गर्दै उनी सामन्तवाद र साम्रज्यवादको प्रखर विरोधी रहेको बताए। स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले राइपुर साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास हुन सक्ने प्रचुर सम्भावना रहेको बताउँदै त्यसको लागि तत्काल अतिथि सदन निर्माण गर्नुपर्नेमा जोड दिए। साहित्यकार हरिहर खनालले गोकुल देशको रत्न भएको बताउँदै उनको जन्मस्थलमा सिर्जना ग्राम बनाउनु पर्नेमा जोड दिए। साहित्यकार पोषराज पौडेलले गोकुल आफू जलेर अरुलाई प्रकाश छर्ने कवि भएको बताए। साहित्यकार छवि सुवेदी विजयीले वर्तमान अवस्थामा सबैले आत्मनिर्भर बनेर देश जोगाउन लाग्नु पर्नेमा जोड दिए। समाजसेवी युवराज शर्माले कवि गोकुलका बारे स्थानीय रुपमा प्रचारप्रसार हुन नसकेको बताए।
 
प्रतिमा निर्माण समितिका सल्लाहाकार वेदप्रसाद पोखरेलले राईपुरका मोतिको रुपमा रहेका कवि गोकुललगायत धेरै सम्पदाहरु आझेलमा परेको बताए। तनहूँ सम्पर्क समाज पोखराका महासचिव अम्बिकाप्रसाद भद्मराई साहित्यकार र पत्रकारहरुको भ्रमणले उक्त स्थानमा विकासको वातावरण सिर्जन ागर्ने बताए। त्यस अवसरमा कवि कवियत्रीहरु हरिहर खनाल, पोषनाथ पौडेल, नारायण बास्तोला, छवि सुवेदी विजयी, नारायण परिश्रमी, भीम रानाभाट, अम्बिका प्रसाद भट्टराई, मञ्जु पोखरेलले कविता वाचन गरेका थिए। कार्यक्रममा अध्यक्षको आशनबाट प्रतिमा निर्माण समितिका अध्यक्ष लोकनाथ पोखरेलले पोखराबाट आएर साहित्यकार तथा पत्रकारहरुले आर्थिक सहयोगसमेत गरी उत्साह बढाई दिएकोमा खुसी व्यक्त गर्दै प्राप्त सहयोगको सदुपयोग गर्ने बताए। पोखराबाट जनकवि गोकुल जोशी (पोखरेल) को जन्मस्थान तनहूँको राइपुरमा भ्रमणका लागि गएका साहित्यकारहरुले जनकविको नाममा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग प्रदान गरेका छन्। राईपुरको दुई दिने भ्रमणका लागि पोखराबाट सोमबार साहित्यकारहरु डा. रबिलाल अधिकारी, हरिहर खनाल, पोषराज पौडेल, डा. कृष्णराज अधिकारी, नारायण परिश्रमी, कृष्णप्रसाद बास्तोला, अम्बिका प्रसाद भट्टराई, छवि सुवेदी ‘विजयी’ र भीम रानाभाट गएका थिए। यसैगरी उक्त टोलीमा श्रीप्रसाद भट्टराई र पूर्णबहादुर शाही रहेका थिए। भ्रमण टोलीका तर्फबाट गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमीले कवि गोकुल जोशीको प्रतिामा निर्माण समितिका अध्यक्ष लोकनाथ पोखरेललाई १८ हजार पाँच सय १० रुपैयाँ हस्तान्तरण गरेका हुन्। राइपुर–६, तल्लाखेत स्थित गोकुल जोशी प्रतिमा निर्माण स्थलमा मंगलबार बिहान आयोजित कार्यक्रमबीच उक्त रकम हस्तान्तरण भएको हो। सोही कार्यक्रममा कवि छवि सुवेदी विजयीले प्रतिमा निर्माणका लागि पाँच हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे। कवि गोकुल जोशीको तस्वीरमा पुष्पार्णप गरी सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सचिव गेहेन्द्र भट्टराईले गरेका थिए।

Post a Comment

 
Top