0
आधुनिक नेपालको ईतिहासमा पहिलो पटक जनताकी छोरी विद्या भण्डारी राष्ट्रपति भएकी छन् । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भएपछि पहिलो पटक बुधवार भएको राष्ट्रपतिको निर्वाचनमा भण्डारी ३२७ मत प्राप्त गरी विजयी भएकी हुन् । यसरी उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति भएकी छन् । नेकपा एमालेबाट निर्वाचित भण्डारका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । भण्डारीलाई सत्तारुढ दलहरु नेकपा एमाले, एमाओवादी, लोकतान्त्रिक मधेसी मोर्चा, राप्रपा नेपाल लगायतका दलहरुको मत परेको थियो भने गुरुङलाई कांग्रेस बाहेक केही साना दलको मात्र मत परेको थियो । राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसद मध्ये ५४९ ले मतदान गरेका थिए । खसेको मतमा ८ मत बदर भएको छ । गृह जिल्ला भोजपुरबाट आइए उत्तीर्ण गरेकी जनताकी छोरी भण्डारीको वि.सं.२०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याङ–२ मा जन्मेकी हुन् । हाल व्यवस्थापिका संसदमा समानुपातिक तर्फबाट सदस्य रहेकी विद्या नेकपा एमालेको उपाध्यक्ष हुन् । उनी लामो समयदेखि अनेम संघको अध्यक्षसमेत रहँदै आएकी छिन् । त्यसैगरी उनी मदनभण्डारी फाउन्डेसनको पनि अध्यक्ष रहँदै आएकी छिन् । उनी अफ्र्राे एशियाली जनएकता संघको उपाध्यक्ष समेत छिन् । अब राष्ट्रपति बनेपछि विद्याले सम्हाल्दै आएका यी सबै जिम्मेवारीबाट नैतिकताका आधारमा हट्नु पर्नेछ । नेपाली सक्रिय राजनीतिमा क्रियाशिल भण्डारीलाई अवको जिम्मेवारी ओजपूर्ण छ । कुनै एक पार्टीको विचार र आस्थामा क्रियाशिल उनलाई अव राष्ट्रको साझा विचार र जिम्मेवारी पुरा गर्नुपर्ने दायित्व आइलागेको छ । यो उनका लागि गहन जिम्मेवारीकोे बिषय हो । अहिले मुलुकमा केही क्षेत्रिय दल र समूह नयाँ संविधानको विरोधमा आन्दोलनरत छ । संविधान निर्माणको विषयमा विरोध जनाउदै एउटा छिमेकीले नाकावन्दी गरेका कारण आमनागरिक पिडामा छन । राष्ट्रिय स्वाभिमानको प्रश्न गम्भिर रुपमा खडा भएको छ । मुलुक आफैमा सार्वभौम छ कि छैन् भन्ने प्रश्नको उत्तर नागरिकले खोजिरहेका छन् । जातीय, धार्मिक र क्षेत्रियतावादीहरुले मुलुकलाई विखण्डन गर्ने प्रयाश गरिरहेका छन् । यस्तो जटिल अवस्थामा निर्मित नयाँ संविधान बमोजिम निर्वाचित राष्ट्रपतिलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र मुलुकको सार्वभौमिकता लागि क्रियाशिल भइरहनुपर्नेछ । मुलुक संघियतामा गएको सन्दर्भमा आइपर्ने समस्यालाई अभिभावकत्व प्रदान गर्नुपर्ने र राष्ट्रिय सुरक्षाका लागि विशेष ध्यान दिनुपर्ने अवस्था त्यति सहज छैन् । संविधानको संरक्षकको हैसियतले छरपस्ट भएका राष्ट्रिय शक्तिहरुलाई जोडेर अहिलेको संकटपूर्ण घडीमा राष्ट्रिय एकता कायम गर्न सफल हुनु पर्ने मुल दायित्व छ । मुलुकको यस जटिल अवस्थामा गरिमामय राष्ट्रपति पदमा निर्वाचित राष्ट्रकी छोरी विद्या भण्डारीको आगामी कार्यकाल सोही रुपमा सफल बनोस् हार्दिक बधाई सहित शुभकामना !

Post a Comment

 
Top