0
गोल्डेन न्यूज संवाददाता
नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव परशुराम तामाङले राजनीतिक शक्ति स्थापित नगरेसम्म अधिकार प्राप्त नहुने भएकाले आदिवासी जनजातिहरुले सशक्त आन्दोलन गर्नुपर्ने बताएका छन् । तमुवान आन्दोलनलाई सशक्त बनाउने उद्देश्यले तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले शनिवार पोखरामा आयोजना गरेको परामर्श भेलामा बोल्दै तामाङले राजनीतिक शक्ति प्रमुख भएकाले अधिकार सुनिश्चित र पहिचान स्थापित गर्न आन्दोलनबाटै राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए । उनले नेपाली जनताको आन्दोलनलाई दवाउन भारत र चीनको कार्ड प्रयोग गर्नु नेपाल सरकारको नालायकीपन हो भन्दै देशको संकट मुक्ति र मुलुक संचालनका लागि आदिवासी जनजातिहरु जुट्नुपर्नेमा जोड दिए । देश चलाउन राज्य संचालकहरु असफल भएकाले लामो समयदेखि विभेदमा पारिएका आदिवासी जनजातिल लगायतले राजनीतिक शक्ति निर्माण गरी मुलुक संचालन गर्नुपर्नु उनको भनाई थियो । पहिचान स्विकार नगरेको संविधान मान्दैनौ भन्दै तामाङले अधिकार विहीन संविधानले आदिवासी जनजातिलाई टेक्ने धरातल नै ध्वस्त बनाइएको आरोप लगाए । संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका केन्द्रीय सहअध्यक्ष समेत रहेका आदिवासी नेता तामाङले तमुवान पहिचान र अधिकारको साझा आन्दोलन भएकाले देशैभरका अधिकारमुखी आन्दोलनसँग मोर्चाबन्दी, आन्दोलनलाई नयाँ ढंगले विकास गर्न प्रादेशिक सम्मेलन र आन्दोलन खण्डित नभई एकात्मक राज्यसत्ताको केन्द्र काठमाडौं ठप्प पार्न देशैभरका आदिवासी जनजाति केन्द्रीत हुनुपर्ने सुझाव दिए । कार्यक्रममा तमु मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष जितबहादुर तमु मामाले तमुवानको आन्दोलन सशक्त बनाउन सामाजिक अभियान र तमुवानको अवरोधक तमुहरुलाई खवरदारी शुरुवात गर्नुपर्नेमा जोड दिए । नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले तमुवानबासीले पोखरामा शुरु गरेको धर्म निरपेक्षताको आन्दोलनले देशैभर तरङ्गित गरे झै तमुवान आन्दोलनले गाँउ गाँउका जनतालाई राजनीतिसँगै साँस्कृतिक जागरण ल्याउनुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा बोल्दै दीपक वाइबा तामाङले तमुवान प्राप्ति, अधिकार सुनिश्चितता, पहिचान स्थापित गर्नका लागि तमुवानकै आन्दोलनकारीको शक्ति र नेतृत्व सक्षम हुनुपर्ने बताए । कार्यक्रमका बक्ताहरुले जनस्तरसम्म आन्दोलन, सचेतना, प्रशिक्षण, संगठन, तमुवान पक्षधरको समन्वय, आन्दोलनरत पक्षहरुसँग मोर्चाबन्दी, आन्दोलन विरोधीलाई कारवाही लगायतका सुझाव दिएका थिए । तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति अगुवा देवीराज तमु, भिम श्रीस मगर, तमुवान महिला संघर्ष समितिका अध्यक्ष पुष्पा गुरुङ, तामाङ घेदुङ कास्की अध्यक्ष सुवेदार हरिमान तामाङ, तमु प्ये ल्हु संघ कास्कीका कार्यवाहक अध्यक्ष ओमबहादुर गुरुङ, बौद्ध अर्घौ सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, ङ्योई तमु धिं लेखनाथका उपाध्यक्ष क्या. मेकबहादुर गुरुङ, उपमहासचिव सुवेदार नन्दबहादुर गुरुङ, भुजेल समाजका कुलबहादुर भुजेल, घले समाजका अध्यक्ष श्रीप्रसाद घले, थारु समाज कास्कीका अध्यक्ष असीलाल थारु, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
 
कार्यक्रममा तमुवान आन्दोलन अनुगमन समितिका संयोजक सुन्दर गुरुङले संघर्ष समितिले उठाएको मुद्धा, आन्दोलनका चरणहरु र आन्दोलन सशक्त बनाउन भूमिकाका बारेमा अवधारणा प्रस्तुत गरेका थिए भने सचिव गजेन्द्र सुब्बाले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top