0
गोल्डेन न्यूज संवाददाता
नेपाल महिला संघ कास्कीद्वारा आज यहाँ आयोजित ‘समसामयिक जटिल अवस्था, नयाँ संविधानको कार्यान्वयन र नेपाल महिला संघको भूमिका’ विषयक अन्तरक्रियामा नेपालको नयाँ संविधान समावेशिता लगायतका दृष्टिबाट उत्कृष्ट भएकोमा जोड दिइएको छ । नयाँ संविधानका साथै समसामयिक राजनीतिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ नेपाल महिला संघले सुरु गरेको जनजागरण अभियान अन्तर्गत आयोजित अन्तरक्रियामा वक्ताहरूले नेपाली जनताको सात दशकदेखिको संघर्षको उपलब्धि स्वरुप प्राप्त संविधानमा समावेशिता लगायतका धेरै महत्वपूर्ण विषयलाई समेटिएको बताएका छन् । कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष डिला संग्रौलाले संविधानले महिला लगायत विपन्न वर्ग तथा समुदायको हक अधिकारलाई सुनिश्चित गरेको बताइन । संविधानको कार्यान्वयन महत्वपूर्ण पक्ष भएको बताउँदै उनले यसका लागि प्रमुख पार्टीका रुपमा नेपाली काँग्रेसको भूमिका विशेष महत्वपूर्ण हुने स्पष्ट पारिन् । नेपाली काँग्रेस कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले नेपाली काँग्रेसले २००७ सालमा नै संविधान सभाबाट संविधान बनाउने उद्घोष गर्दै संघर्ष गरेको र त्यसले वर्तमानमा आएर साकार रुप लिएको बताए । संविधानले समाजमा लामो समयदेखि पछि परेका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा समाहित गराउने स्पष्ट व्यवस्था गरेको उनले जानकारी दिए । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएका कारण यसको सफल कार्यान्वयनमा लाग्नुपर्ने बताए । सांसद शारदा पौडेलले संविधान सामाजिक र सांस्कृतिक रुपमा पिछडिएका महिलाको सशक्तिकरण र विकासका लागि अत्यन्त उपयोगी भएको बताइन । नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारीले नेपाली जनताको कठिन संघर्षबाट प्राप्त संविधानको सफल कार्यान्वयन वर्तमानको प्रमुख चुनौती भएको बताए। नेपाल महिला संघ कास्कीकी अध्यक्ष कोपिला रानाभाटको सभापतित्वमा भएको अन्तरकयामा केन्द्रीय सदस्यहरू आनन्दी राना, माया राना, उर्मिला थापा, रविकला खनाल, हिरा शर्मा, संघका विभिन्न छिमेकी जिल्लाका अध्यक्षहरु ज्ञानु शाह, पवित्रा पौडेल, मनकुमारी गुरूङ, कल्पना तिवारी लगायतले संविधानले महिला, दलित तथा विपन्न वर्ग र समूदायका हक अधिकारलाई सुनिश्चित गरेको र यसको कार्यान्वयनमा सबैको सहयोग आवश्यक हुने बताएका थिए ।




Post a Comment

 
Top