0
गोल्डेन न्यूज संवाददाता
पोखराको आकाशमा १८ वर्ष देखि अल्ट्रालाइट जहाज मार्फत पर्यटकलाई सेवा दिदै आएको एभिया क्लव नेपालले नयाँ र फरक स्वरुपको जहाज भित्र्याएको छ । केहि दिनदेखि व्यवसायिक उडानमा रहेको ‘ह्याङग्लाइडिङ’ एभियाले नयाँ र भिन्दै स्वरुपको जहाज भित्रयाएको हो । हालै भित्रिएको यो जहाज ‘फिक्सविङ’ हो । एभियाले भित्र्याएको यो सातौं जहाज भएको एभियाका म्यानेजर रिजन रिजालका जानकारी दिए । अल्ट्रालाइट अन्तगर्तको ‘ड्रयागन फ्लाइट’ जहाज भित्रयाएको रिजालले बताए । अमेरिकामा बनेको यो जहाज व्यवसायिक रुपमा दृश्यावलोकन र ‘ह्याङग्लाइडिङ’ तथा ‘स्काइडाइभ’मा प्रयोग गर्न सकिने उनले बताए । ‘अहिले सम्मकै फरक खालको जहाज ल्याएका छौ । यसको आकार र स्वरुप अन्य भन्दा निकै भिन्न छ’ रिजालले भने,–‘‘ह्याङग्लाइडिङ’ गर्दा यहि जहाजलाई प्रयोग गर्नेछांै ।’ उनका अनुसार यो जहाजको मूल्य करिब एक करोड २५ लाख रुपैयाँ परेको छ । पोखराको आकाशमा लामो समयदेखि अल्ट्रालाइट र प्याराग्लाइडिङ उडान गरिरहेको एभिया क्लव नेपालले साहसिक पर्यटकीय प्रोडक्टको रुपमा केहिदिनपछि ‘ह्याङग्लाइडिङ’ उडान सुरु गर्ने तयारी गरेको छ । यसको सफल परीक्षण उडान समेत गरिसकेको छ । बिना इन्जिन ग्लाइडरमा चराजस्तै आकाशमा स्वतन्त्र रुपमा उडन मिल्ने ह्याङग्लाइडिङले पोखराको पर्यटन क्षेत्र बिस्तारमा थप मद्दत पु¥याउने भएकोले यो जहाज ल्याएको उनले बताए ।
 
सोलो (एकल) र टेण्डम (दुइजना) उड्न मिल्ने ह्याङग्लाइडिङ को एभियाले डेढवर्षअघि नै सराङकोटबाट सोलो उडानको परीक्षण गरेको थियो । केहि महिनाअघि लौरुकस्थित आफनै हवाइ मैदानबाट टेण्डम उडानको परीक्षण गरेको थियो । परीक्षणमा सोलो र टेण्डम दुवै उडान सफल भएको एभियाले जनाएको छ । ‘ह्याङग्लाइडिङ’ का लागि कम गतिमा उड्ने जहाज चाहिएपछि एभियाले अमेरिकामा बनेको ड्रागन जहाज भित्रयाएको उनले बताए । यो जहाजको उडानको ‘स्पिड’ अरुको भन्दा कम हुन्छ । त्यस्तै छोटो धावनमार्गमा पनि उड्न सक्छ । करिब २ सय मटिर लामो धावनमार्गमा यो जहाज उडाउन र अवतरण गराउन सकिन्छ । अरु जहाजलाई कम्तिमा ४ सय मिटर लामो धावनमार्ग चाहिन्छ । यो जहाजको उडान गति प्रतिघण्टा ५५ माइल (करिब ९० किलोमिटर) हुन्छ । १ सय हर्स पावर क्षमताको इन्जिन भएको यो जहाजमा पेट्रोलले चल्ने इन्जिन रहेको छ । ‘ह्याङग्लाइडिङ’ ‘हावाको ‘थर्मल’ मा आधारित भएर उड्ने भएकोले मौसम अनुकुल हुनुपर्छ । ह्याङग्लाइडिङमा टेण्डम उडान पनि हुने भएकोले पाइलटसँग एकजना यात्रु मात्र उड्न मिल्छ । यो जहाजमा पनि पाइलट बाहेक एकजना मात्र उड्न मिल्छ । एभियाले ह्याङग्लाइडिङको परीक्षण उडानमा अल्ट्रालाइट जहाजबाट कामचलाउ गरेपनि स्थायी रुपमा यो जहाजबाट व्यवसायिक उडान गर्ने रिजालले बताए । उनका अनुसार अमेरिका र न्यूजील्याण्डमा यसको बढि प्रयोग छ । ‘ह्याङग्लाइडिङ’ को परीक्षण उडान भएपनि अब लौरुककै हवाइ मैदानबाट व्यवसायीक उडान गराइने उनले बताए । केहि दुरी दौडेर उड्ने र अवतरण गर्ने भएकोले यसका लागि फराकिलो र लामो मैदान आवश्यक पर्छ । रिजालका अनुसार यो जहाज ‘स्काइडाइभ’ गर्न लागि पनि उपयुक्त छ । स्काइडाइभमा पनि यसलाई प्रयोग गर्ने उनले बताए । एभियाले स्काइडाइभमा पनि अल्ट्रालाइट जहाज प्रयोग गर्दै आएको थियो । यो जहाज करिब १२ हजार ५ सय फिट उचाइसम्म पुग्न सक्छ ।

Post a Comment

 
Top