0
गोल्डेन न्यूज संवाददाता 
एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दबहादुर पुन पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। एमाओवादीका स्थायी समिति सदस्य पुन शनिबार संविधानसभा भवनमा भएको निर्वाचनमा नेपाली काँग्रेसका सांसद् अमियकुमार यादवलाई पराजित गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। व्यवस्थापिका संसदमा ५ सय ९६ जना सांसद् रहेकामा पुनले ३ सय २५ मत पाएका थिए। पुनले पाएको मत खसेको मतको ५४ दशमलव ५३  प्रतिशत हो।  निर्वाचनमा ५ सय ४७ मत खसेको थियो। खसेको मतमध्ये १० मत भने बदर भएको छ। पुनका प्रतिद्वन्दी नेपाली काँग्रेसका उमेद्वार अमियकुमार यादवले २ सय १२ मत पाए । काँग्रेससँग २ सय ७ जना सांसद रहेकामा दुई जना अनुपस्थित भएकाले यादवले अन्य दलका ७ जना सांसद्को मात्र मत पाएका हुन्। यसअघि राष्ट्रपतिको निर्वाचनमा काँग्रेस उम्मेद्वार कुलबहादुर गुरुङले २ सय १४ मत ल्याएका थिए। निर्वाचनपछि शनिबार अपरान्ह बसेको व्यवस्थापिका संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले पुन उपराष्ट्रपतिमा निर्वा्चित भएको घोषणा गरिन्। सभामुख घर्तीले मत परिणाम सार्वजनिक गरिरहँदा पुन दर्शकदीर्घामा बसेका थिए। सांसद्हरुले नवनिर्वाचित उपराष्ट्रपति पुनलाई संविधानसभा भवनको शंकर हलमा बधाइ दिएका थिए । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति बनेको पुनले तत्कालीन माओवादीले संचालन गरेको जनयुद्धमा लडाकुहरुको कमाण्डरको जिम्मेवारी सम्हालेका थिए। तत्कालीन माओवादीका लडाकुहरुलाई नेपाली सेनामा समायोजन गरिएकामा सक्रिय राजनीति गर्न भन्दै पुनले सेनामा जान अस्वीकार गरेका थिए। राजनीतिमा सक्रिय हुन भन्दै दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका पुन नेपाली काँग्रेसका युवा नेता गगन थापासँग फराकिलो अन्तरले पराजित भएका थिए।
 
उपराष्ट्रपतिमा निर्वाचित नन्दकिशोर पुन ‘पासाङ’ले परिचित उनको वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने जनयुद्धले जन्माएको नाम हो । जनयुद्धको तयारी र सुरुआतको चरणमा लिफङबाट परिचित उनीपछि पासाङ बनेका हुन् । राङसी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनु भएका उनी पाँच भाईमध्ये माइला छोरा हुन् । उनका तीन जना तीन दिदी बहिनी छन् । किसान परिवारका रामसुरलाई छोराहरु पढाउन निकै मुस्किल थियो । एकातिर धेरै सन्तान अर्को्तिर गाउँका ठालुहरुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोराहरुलाई अध्ययन गराए । उनका बाबुले खोसिएको सम्पत्ति पनि प्यूठान अड्डाबाट मुद्दा जितेर फिर्ता लिए । पाँचै भाई छोरालाई रामसुरले त्यसबेला नै आईए भन्दा माथिको अध्ययन गराए ।
 
८२ वर्षीय मनसुर अझै पनि गाउँमा कृषिमा सक्रिय छन् । पासाङको जेठा दाजु वीरबहादुर पुन ईन्जिनियर, साईलो भाई भीमप्रकाश पुन उच्च माविको प्राचार्य, काईलो भाई दिपक पुन शिक्षण पेशा छाडेर खेती किसानीमा छन् । कान्छो भाई कमल भने अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुँदा ०५९ मा राज्यले मारिदियो । जनयुद्धमा उनकी श्रीमति हस्तामाली पुन स्थानीय पार्टी कमिटिमा रहेर काम गरेकी थिइन । उनका छोेराहरु पनि सानै उमेरमा पढाई छाडेर बन्दुक बोकेर जनयुद्धमा सहभागी भए ।
प्रचण्ड निवासमा बास
 
नवनिर्वाचित उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ बानेश्वरबाट सिधै लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन् । शनिबार ससंदमा भएको निर्वाचनमा उपराष्ट्रपति निर्वाचित भएलगत्तै पासाङ कारगेटमा चढेर प्रचण्ड निवास पुगेका हुन् । एमाओवादी पूर्वलडाकु कमाण्डर तथा स्थायी समिति सदस्य उनले सपथग्रहण अघि आइतबार मात्र पार्टीगत संलग्नता परित्याग गर्ने प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले बताए । पासाङ पुत्र दीपेश पुनले सुरक्षाका कारण उपराष्ट्रपति लाई प्रचण्ड निवासमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिए । भूकम्पले बसेको घर भत्केपछि पासाङ गत वैशाखदेखि नै कपनमा अस्थायी टहरा बनाएर बस्दै आएका थिए । त्यस क्रममा पासाङले उपराष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारी दिएको भन्दै प्रचण्डलाई धन्यवाद दिए । प्रचण्डले पदीय जिम्मेवारी र मर्यादमा बसेर काम गर्न सुझाव दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।
सभामुखले त्रुटि गर्दा...
 
सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसदमा शनिबार एमाओवादी पूर्वलडाकु कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपतिमा निर्वा्चित भएको घोषण गर्दा गम्भीर त्रुटि गरिन् । उनले उपराष्ट्रपतिलाई राष्ट्रपति भनेर सम्बोधन गरेपछि धेरै सांसद अक्क न वक्क भए । एमाओवादी सांसदहरु लाजले रातो भए पनि एमालेका केही र काँग्रेसका अधिकांश सांसद् गलल हाँसे । उनले पासाङ र काँग्रेसका अमियाप्रसाद यावदले पा्रप्त गरेको मत संख्या सुनाउने क्रममा ‘उपराष्ट्रपति पदका उम्मेदवार’ भन्नुपर्नेमा राष्ट्रपति पदका उम्मेदवार भनेकी थिइन् । संसदमा सबै हाँस्दासमेत उनले गल्ती गरेको पत्तै पाइनन् । सँगै रहेका संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई सहितका कर्मचारीले समेत गल्ती भएको संकेत दिएनन् । यसअघि गत ११ कात्तिकमा  भएको राष्ट्रपति निर्वाचनमा समेत उनले गल्ती गरेर क्षमासमेत मागेकी थिइनन् । त्यस क्रममा उनले सत्तारुढ दलका तर्फबाट साझा उम्मेदवार रहेकी तत्कालिन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति निर्वाचनमा पाएको मत ३ सय २७ भन्नुपर्नेमा २ सय २७ मात्र भनेकी थिइन् । उक्त प्रसंग सेलाउन नपाउँदै सभामुखले अर्को गल्ती गरेकी हुन् ।
उपराष्ट्रपतिको यात्रा
 
माहिलो छोरो काठमाडौंमा उपराष्ट्रपति चुनिँदा रामसुर पुन रोल्पाको सुदूर गाउँ भन्भनेस्थित मूल घरमा गोरुलाई घाँस हाल्दै थिए। काइँला छोरा दीपक भने मूलघर पाल्लोपट्टिको घरमा पासाङले खनेको सुरुङअगाडि उभिएर उपराष्ट्रपति चुनिएको समाचार स्थानीय एफएममा सुनिरहेका थिए। (मूल घरबाट ठीक पाल्लोपट्टिको घरको भुइँतलाबाट झण्डै पचास मिटर टाढासम्म खनिएको सुरुङमा जनयुद्ध थालिएको अर्को वर्ष दीपक हतियारसहित पक्राउ परे। र, पुलिसले गोली हान्यो।) अहिले सुरुङ पुरिए पनि दीपकको गालामा बसेको गोलीको टाटा भने पुरिएको थिएन। टिभी बिग्रेर उपराष्ट्रपतिलाई देख्न नपाउँदा रामसुर चुकचुकाउँदै थिए। रोल्पाको राङ्सी ९ भन्भनेमा जन्मेको एउटा झिल्के ठिटो कमरेड लि फङहुँदै पासाङको नामले युद्धकालभर चर्चित भए र, आफ्नै मृत्युको सरकारी समाचार आफैले खन्डन गर्दै हिँडे। पचास बर्षीय पुनले न जनमुक्ति सेना प्रमुख हुन्छु भन्ने चिताएका थिए न त उपराष्ट्रपतिको कुर्सीमा पुग्ने कहिल्यै चिताएका नै। एमाओवादीले मन्त्री र उपराष्ट्रपतिमा उनको चर्चा थालेदेखि र उम्मेदवारी दर्तासम्म सामाजिक संजालका भित्ता उनको पक्ष र विपक्षमा रंगिए । युद्धकालका उनका फोटोले भरिए। उम्मेदवारी दर्ता गराउँदै पासाङले भन्दैथिए, ‘लडाइँकै रुपमा लिएको छु। हो, मलाई रोक्न प्रतिक्रियावादी लागेका छन्।’

Post a Comment

 
Top