0
गोल्डेन न्यूज संवाददाता 
राष्ट्रपति विद्या भण्डारीले आफूले संविधानको परिधिभित्र रही जनता र मुलुकको अग्रगतिका लागि काम गर्ने बताएकी छन्। राष्ट्रपति भण्डारीले आफ्ना दिवंगत पति मदनकुमार भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्न शुक्रबार विहान एमालेको पुरानो मुख्यालय बल्खु पुगी राष्ट्रपति पद्को गरिमालाई आँच आउन नदिने काम गर्ने बताएकी हुन्। उनले २२ वर्ष पहिले दिवंगत भएका पतिको सालिकमा माल्यार्पणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै आफूले संविधानको परिधि ननाघ्ने स्पष्ट पारिन्।राष्ट्रपति भण्डारीले पतिको सालिकमा मार्ल्यापण गर्नुपहिले लैनचौरस्थित सहिद स्तम्भ पुगेर सहिद्हरुपति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। राष्ट्रपति भण्डारीले बिहिवार सपथग्रहण गरी पद्भार सम्हालेकी थिइन्। यता,  नर्वेले विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ । संविधानको घोषणा र नयाँ सरकार गठनलगत्तै भएको राष्ट्रपतिको निर्वाचन मुलुकको लोकतान्त्रिक विकास, शान्ति र समृद्धिप्रतिको नेपालको प्रतिबद्धताको प्रकट रुप भएको यहाँस्थित नर्वेली राजदूतावासद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ। आगामी दिन नेपालको समाजिक–आर्थिक विकास र पुनःनिर्माणको प्रयासलाई मूर्तरुप दिने अभियानमा संविधानको शान्तिपूर्ण र समावेशी कार्यान्वयन सुनिश्चित गर्न नर्वेले प्रोत्साहन गर्ने पनि विज्ञप्तिमा भनिएको छ।
 
यसैबीच पार्टी निर्णय विपरित राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गरेको आरोपमा सदभावना पार्टीले सांसद माधवीरानी साहलाई साधारण सदस्यबाट समेत निलम्बन गरेको छ। नयाँ संविधानमा असहमति जनाउँदै तराई मधेसमा आन्दोलनरत सदभावना पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, नेपालको संविधान २०४७ को धारा २६ को उपधारा ३ बमोजिम पार्टी अध्यक्ष राजेन्द्र महतोको निर्देशन अनुसार सांसद साहलाई पार्टीको साधारण सदस्यता समेतबाट निलम्बन गरेको छ।  विज्ञप्ति अनुसार, मधेसी मोर्चाको सहमति र पार्टी संसदीय दलको निर्देशन विपरित साहले कात्तिक ११ गते सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा संसदमा उपस्थित भई मतदान गरेकाले उनलाई निलम्बित गरिएको हो। असोज २४ गते सम्पन्न प्रधानमन्त्री पदको निर्वाचनमा उपस्थित भएर कांग्रेसका उम्मेदवार सुशील कोइरालाको पक्षमा मतदान गरेको आन्दोलनरत मधेसी मोर्चाले राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो। तर सत्तारुढ गठबन्धनको तर्फबाट तत्कालिन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाएपछि सांसद साहले महिलाको पक्षमा मतदान गर्न आफू उपस्थित भएको भन्ने प्रतिक्रिया दिएकी थिइन।



Post a Comment

 
Top