0
गोल्डेन न्यूज संवाददाता
 शनिबार हुने उपराष्ट्रपति निर्वाचनमा दुई जना उम्मेद्वार भिड्ने भएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट एमाओवादीका उम्मेद्वार नन्दकिशोर पुन पासाङ र कांग्रेसका समानुपातिक सांसद् अमियकुमार यादव एक आपसमा भिड्ने भएका हुन्। यसअघि चार जनाले उम्मेद्वारी दिएपनि दुबैले आ–आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि दुई मात्र उपराष्ट्रपतिमा भिड्ने भएका हुन्।संसद् सचिवालयले शुक्रबार विहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उमेद्ववारी दर्ताको समय तोकेको थियो। सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुनलाई उमेद्वार बनाएको छ। ५० वर्षिय पुनको खास नाम भने नन्दबहादुर पुन हो। तत्कालीन माओवादीका लडाकु कमाण्डर रहेका पुनलाई उपराष्ट्रपति पदमा जिताउन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक बसेका छन् भने राप्रपा नेपालका सचेतक दिलनाथ गिरी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिक का सांसद् योगेन्द्र चौधरी समर्थक बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले संविधानसभा भवनको ल्होत्से हल पुगेर उम्मेदवारी दर्ता गराएपनि पुनलाई उपराष्ट्रपति बनाउने प्रस्तावमा सत्ता गठबन्धनका अन्य दलहरुले समर्थन गरेका छैनन्। सत्ता गठबन्धनका सबै दलहरु सभामुख, उपसभामुख र राष्ट्रपतिको निर्वाचनमा एक ठाउँमा उभिएका थिए। नेपाली काँग्रेसले सिरहाका समानुपातिक सांसद् अमियकुमार यादवलाई उमेद्वार बनाएको छ। ६९ वर्षिय यादवलाई उपराष्ट्रपति बनाउन संसद् सचिवालयमा दर्ता गराइएको प्रस्तावमा काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रस्तावक तथा सचेतक इश्वरी न्यौपाने समर्थक बसेका छन्।
 
मधेश आन्दोलनका कारण संविधानको कार्यान्वयन चुनौतीपूर्ण बनेको अवस्थामा सबै नेपालीलाई एक ढिक्का बनाउनका लागि उम्मेदवारी दिएको यादवले बताए। सत्तारुढ गठबन्धनमै रहेको नेपाल परिवार दलका दयाराम कँडेल पनि उमेद्ववारी दर्ता गराए पनि उसले एमाओवादी उम्मेद्वारलाई सहयोग गर्ने भन्दै फिर्ता लिएको छ। परिवार दलका अध्यक्ष एकनाथ ढकालका अनुसार सत्तारूढ दलको आग्रहमा आफूले उम्मेद्वारी फिर्ता लिएको बताए। नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका अतहर कमाल मुसलमानले पनि उपराष्ट्रपति पद्मा कांग्रेसलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता गरेका छन्। मुसलमानले अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई प्रस्तावक र जनजागरण पार्टीका लोकमणि ढकाललाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएका थिए। पुन र यादव दुबैले आफ्नो जीत सुनिश्चित रहेको दाबी समेत गरेका छन्। सांसद्हरुले शनिबार विहान ११ बजेदेखि २ बजेसम्म गोप्य मतदान गरेर उपराष्ट्रपति चयन गर्नेछन् ।
यता, एकीकृत नेकपा
 
(माओवादी)ले उपराष्ट्रपतिका उम्मेदवार नन्दबहादुर पुनको पक्षमा मत मागेको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव एवम् उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उपराष्ट्रपति पदका उम्मेदवार पुनलगायत टोलीले विभिन्न राजनीतिक दलसँग मत मागेको हो । अध्यक्ष दाहाल नेतृत्वको टोलीले मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र  नेपाल मजदुर किसान पार्टीसँग प्रत्यक्ष भेटघाट गरेर नै पुनका पक्षमा मत मागेको हो । यस्तै राष्टिूय प्रजातन्त्र पार्टी, नेकपा (माले), नेकपा (संयुक्त), राष्टिूय जनमोर्चा लगायत दलसँग पनि मत मागेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उपराष्ट्रपति पुनको नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राष्टिूय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक रहेका छन् । एमाओवादीले गणतन्त्र प्राप्ति र संविधानसभाका लागि सशस्त्र सङ्घर्षमा महत्वपूर्ण योगदान गरेको व्यक्तित्वलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाएकाले सहयोगका लागि आग्रह गरेको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत विषयमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई उपराष्ट्रपतिमा विजयी गराएर प्राप्त उपलब्धिलाई  संस्थागत गर्न पनि पुनको उम्मेदवारी आवश्यक रहेको एमाओवादीको भनाइ छ । नेकपा(माले)का महासचिव सिपी मैनालीले राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, उपसभामुख चयन भइसकेका अवस्थामा तराई(मधेस क्षेत्रकै व्यक्तिलाई उम्मेदवार बनाएको भए राम्रो हुने थियो भन्ने पक्षमा आफूहरु रहेको बताए । उनले सरकार गठनका समयमा कायम भएको गठबन्धनलाई टिकाइराख्न पनि एमाओवादीका उम्मेदवार पुनलाई मत दिइने र विजयी गराइने उल्लेख गरे । मालेको शुक्रबार बसेको पोलिटब्युरोको बैठकले फरक मतसहित एमाओवादी उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहाडी र मधेसी भनेर चर्को नारा लागिरहेका अवस्थामा त्यसलाई सम्बोधन गर्न पनि खास गरी थारु समुदायबाट उपराष्ट्र पति बनाउनुपर्ने आफ्नो भनाइ रहेको बताए । उम्मेदवारी दर्ता भइसकेका अवस्थामा आफ्नो पार्टीले एमाओवादीका उम्मेदवारलाई मत दिने तर फरक मत भने राख्ने अध्यक्ष केसीको भनाइ छ ।
 
एमाओवादीले संसद्मा रहेका समाजवादी जनता पार्टी, नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, मधेस समता पार्टी नेपाल, दलित जनजाति पार्टी नेपाल, बहुजनशक्ति पार्टी नेपाललगायत दलसँग पनि आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ ।     उपराष्ट्रपतिको निर्वाचन शनिबार बिहान १० बजेदेखि अपराह्न १३ बजेसम्म व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा हुने सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनमा देखिएको केही प्राविधिक समस्यालाई ध्यानमा राख्दै मतदानमा सहज होस् भनेर केही बुथ थप गरिएको उनको भनाइ छ ।


Post a Comment

 
Top