0
भूमध्यसागरबाट उच्च वायु मण्डल हुँदै मध्य पाकिस्तान र भारतको राजस्थानमा न्युन चापीय क्षेत्रको विकाससँगै उत्पन्न भएको बादलको प्रणालीको असर नेपालको वायुमण्डलमासमेत देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले अरब सागरबाट उत्पन्न भएको जलवाष्पयुक्त वायुका कारण बादलको प्रणाली झन् बलियो बन्दै नेपालको पश्चिम भाग छिरेपछि त्यसैको असरले वर्षा भएको बताए । बुधबार दिउँसो पानी पार्ने वाष्पयुक्त वायु पश्चिम भाग प्रवेश गरेको थियो । ‘त्यो वायु पश्चिम क्षेत्र हुँदै पूर्वतिर सर्दै आएपछि देशैभर वर्षा भयो,’  मौसमविद् रिमालले भने,–‘भारतको विहार र उत्तर प्रदेशमा पनि न्यूनचापीय प्रणाली विकास भएकाले बादल त्यतै सोहोरिएको छ र सबैतिर असर देखिएको छ ।’ महाशाखाका अनुसार बुधबार रातिदेखि नै पश्चिमका डडेलधुरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, जुम्ला, दाङ, पोखरा, भैरहवालगायतका स्थानबाट वर्षा सुरु भएको थियो । बितेका २४ घण्टामा सबैभन्दा बढी दाङमा १९ मिलिमिटर वर्षा भएको छ भने पोखरामा १३, जुम्लामा १२, धनगढीमा ३, नेपालगञ्जमा २, भैरहवामा ५.३, सिमरामा ३, काठमाडौंमा ११ र ओखलढुंगामा ०.१ मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । बिहीबार राति पनि मुलुकका धेरै जसो भागमा वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् रिमालका अनुसार पश्चिमक्षेत्रमा शुक्रबारबाट नै मौसममा सुधार आए पनि मध्य र पूर्वी भागमा अझै केही दिन बदली भई वर्षा हुनेछ । बुधबार रातिदेखि लगातार वर्षा भएका कारण काठमाडौंसहित देशका विभिन्न भागमा चिसो बढेको छ । महाशाखाले उच्च हिमाली भागमा हिमपातको सम्भावना रहेको बताएको छ ।

Post a Comment

 
Top