रेडियो जननीको संयोजन र विश्व शान्ति मिसन नेपाल काठमाडौँको आयोजनामा पोखरामा आइतबारदेखि संगीतमय ध्यान योग शिविर सुरु भएको छ । कास्टर नेपाल प्रा.लि.को प्रायोजनमा सृजनाचोक स्थित साइमन पार्टी प्यालेसमा आयोजित योग शिविरको कार्यक्रमका प्रमुख अतिथि निमित्त क्षेत्रीय प्रशासक दिवाकर बास्तोलाले उद्घाटन गरे । कार्यक्रममा बौल्दै आध्यात्मिक तथा मानसिक परामर्श अभियानका संयोजक समेत रहेका निमिक्त क्षेत्रीय प्रशासक बाँस्तोलाले मानिस शारिरीक रुपमा मात्रै नभई मानसिक रुपमा पनि स्वस्थ रहनु पर्ने र त्यसका लागि योग र ध्यान निकै महत्वपूर्ण रहेको स्पष्ट पारे । मनलाई शान्त पार्न र आनन्द प्राप्तिका लागि योग गरिने भएकाले अहिलेको व्यवस्ततापूर्ण जीवनशैलीमा यसको महत्व झनै बढ्दै गएको भनाई उनले बताए । 
विश्व शान्ति मिसन नेपालका अध्यक्ष एवम् योग शिविरका विशेष प्रवक्ता स्वामी आनन्द प्रेमले स्वस्थ शरिर र मन लिएर आनन्दसँग जीवनयापन गर्ने प्राचिन वैज्ञानिक प्रक्रिया एवं प्रयोगात्मक साधन शारीरिक योग सँगै आयूवेर्दिक प्राकृतिक चिकित्सा पद्धति र आध्यात्मिक दर्शनको माध्यमलाई आत्मसात गर्दै स्थापना भएको विश्व शान्ति मिशन नेपालले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा नै आफ्ना अभियानहरुलाई विस्तार गर्ने योजनासँगै पोखरामा शिविर आयोजना भएको बताए ।  पोखरा उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेलले स्वस्थ नागरिकले मात्र समाजमा योगदान पु¥याउन सक्ने भएकाले सबैभन्दा पहिला व्यक्ति स्वस्थ रहनु पर्ने र त्यसका लागि योग महत्वपूण भएको बताए । कार्यक्रममा स्वागत मन्तव्य र उद्देश्य माथि प्रकाश पार्दै रेडियो जननीकी स्टेशन म्यानेजर विमला भण्डारीले उद्यमशीलतामा केन्द्रित रहेर समाज रुपान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएकोमा आध्यात्मिक क्षेत्रको अभियानमा अगाडि बढ्दै रेडियोले शिविरको संयोजन गरेको बताइन ।
काष्टर नेपालका अध्यक्ष एवम् विश्व शान्ति मिसन नेपालका महासचिव गोपाल थापाले सुख, शान्ति र समृद्धि मात्रै नभई देशमा भएका जडिबुटी र जैविक विविधतालाई नेपालमा मात्रै नभई विश्वमा चिनाउने उद्देश्य सहित आफ्नो कम्पनी अघि बढेको बताए । कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै रेडियो जननीकी अध्यक्ष हिरा भट्टराईले आर्थिक समृद्धि र उद्यमशील बन्नका लागि हामी स्वस्थ रहनु पर्छ भन्ने कुरालाई मनन् गर्दै विश्व शान्ति मिसन नेपालले आयोजना गरेको योग शिविरमा संयोजनको भूमिका निर्वाह गरेको बताइन । कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य एवम् सामाजिक अभियन्ता सुष्मा पौडेल, नेपाली कांग्रेस कास्कीका पूर्व सभापति सोभियत बहादुर अधिकारी, अधिकारकर्मी माधव पहारी, बौद्ध गुरु मिन गुरु,  टोल विकास संस्था समन्वय समिति वडा नं ९ का अध्यक्ष उत्तम जोशी, महिला पतञ्जली योग समिति कास्कीका संस्थापक अध्यक्ष विद्या गुरुङ्ग लगायतले आ–आफ्नो भनाइ राखेका थिए । रेडियो जननीका कार्यक्रम संयोजक नरमाया रसाइलीले कार्यक्रमको सञ्चालन गरेकी थिइन । निःशुल्क चिकित्सा परामर्शका साथै शरीरमा भएका विशाक्त पदार्थलाई अत्याधुनिक मेशिनद्वारा निकालिने कार्यक्रम रहेको आयोजक विश्व शान्ति मिसन नेपालले जनाएको छ ।
Post a Comment