0
गोल्डेन न्यूज संवाददाता
सडक बालबालिकाहरुलाई धेरैले हेप्छन् । विभिन्न खालको गाली दिने चलन पनि व्याप्त छ । तर कोहि कसै त्यसै सडकमा बास बस्न आउँदैन । एउटा खालको बाध्यता भएर नै ती बालबालिकाहरु सडकमा खान, बस्न र सुत्न बाध्य छन् । सडकमा बस्दा उनीहरु आधारभुत आवश्यकताबाट समेत बञ्चित हुन्छन् । न खानको ठेगान हुन्छ न बस्नको । गतिलो लाउने कपडा हुँदैन । जस्तो पायो त्यस्तै खायो, हिँड्यो र त्यसमै रमायो । उनीहरुको संसार भनेकै सडक हुन्छ । यद्यपि उनीहरुलाई पनि राम्रो लाउने, खाने र बस्ने मन नहुने भने होईन । तर उनीहरुको त्यस्तो चाहना कसले पुरा गरिदिने ? भलै, केहि संघसंस्थाहरुले उनीहरुलाई सहयोग नगर्ने होईनन् तर पनि त्यसले उनीहरु सन्तुष्ट हुन सक्ने स्थिति भने छैन । कहिलेकाँहि केहि मनकारी मान्छेहरुले उनीहरुलाई मिठो खाने र राम्रो लाउने व्यवस्था गरिदिन्छन् । र, उनीहरु त्यसमा खुशि हुन्छन् । संचारकर्मी संजोग बस्यालले शुक्रबार पोखराका २२ जना सडक बालबालिकाहरुलाई टि–सर्ट बाँडेका छन् । सँगै उनले उनीहरुलाई खाना खुवाए । आफ्नो २८ औँ जन्मदिन उनले सडक बालबालिकाहरुको साथमा मनाएका हुन् । ‘जन्मदिनमा विभिन्न तरिकाले खर्च गर्ने चलन हुन्छ । तर मैले परोपकारी जन्मदिन मनाउने योजना बनाएँ ।’ विग एफएमका कार्यक्रम संयोजक बस्यालले भने–‘त्यसैले मैले सडक बालबालिकाहरु लाई थोरै भए पनि खुशि बनाउन उनीहरुलाई खाना खुवाएर टिसर्ट बाँडेको हुँ ।’ सडक बालबालिकाहरु सँगै खानपिन गर्ने क्रममा उनले आगामी दिनमा पनि सडक बालबालिकाहरुको क्षेत्रमा काम गर्न आफू तत्पर रहेको उनले सुनाए । दशैँको मुखमै आएर मिठो खाना  र नयाँ टिसर्ट पाएपछि २२ जना सडक बालबालिकाहरु पनि निकै खुशि देखिए । उनीहरुले बस्याललाई जन्मदिनको शुभकामना दिए । र, ‘म पनि यो देशको भविष्य हुँ, मलाई नहेप’ लेखेको टिसर्ट लाएर मख्ख परेर निस्किए ।

Post a Comment

 
Top