0
गोल्डेन न्यूज संवाददाता
पोखरामा क्रियाशिल विभिन्न नागरिक र पेशागत संगठनको समूहले विहीवार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक र कास्कीका प्रमुख जिल्ला अधिकारीलाई वर्तमान समस्याको वारेमा केन्द्रीत स्मरणपत्र वुझाएको छ । नागरिक समूहहरुको तर्फवाट ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका केन्द्रीय सदस्य आनन्दराज मुल्मीको नेतृत्वमा गएको टोलीले आठ वुँदे स्मरणपत्र क्षेत्रीय प्रशासक केदारवहादुर अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतलाई वुझाएको हो । कास्कीका उद्योग वाणिज्य संघहरु, पर्यटन व्यवसायी, पेशागत संस्थाका प्रतिनिधि तथा नागरिक संस्थाका विभिन्न सदस्यहरु सहभागी टोलीले वर्तमान जटिल परिस्थितिमा सहज र सरल ईन्धन तथा अन्य सामाग्री आपूूर्ति गर्ने वारेमा प्रशासकहरुसंग छलफल समेत गरेको सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिए ।
 
नागरिक समूहले वजार अनुगमन प्रभावकारी वनाउन, ईन्धन आपूर्ति सहज र पारदर्शी वितरण गर्न तथा मुल्य वृद्दि गर्ने र अभाव सृजना गरी नाजायज फाइदा लिने कार्यलाई निरुत्साहित गर्न पनि प्रशासनलाई आग्रह गरेको छ । नाकावन्दीको निउमा सरकारी कार्यालयहरुमा कर्मचारी समयमा नजाने र काम समेत नगर्ने गुनासो नागरिकवाट आउन थालेकाले सो कार्यको अनुगमन गर्न पनि आग्रह गरिएको मुल्मीले जानकारी दिए । साथै शहरमा फोहर समेत नउठाउने लगायतका कार्य भएको समूहले जनाएको छ । नागरिक समूहले पेट्रोलियम पदार्थको आपूर्ति प्रभावकारी बनाउन केन्द्रमा समेत पहल गर्न प्रशासनलाई ध्यानाकर्षण गराएको छ । नागरिक समूहसंगको भेटमा क्षेत्रीय प्रशासक केदारवहादुर अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले ईन्धनको आपूर्तिका लागि पहल भैरहेको जानकारी दिए । उनीहरुले हाल भएको इन्धनको समुचित र न्यायोचित वितरण गर्ने तथा त्यसको अनुगमन कडाईका साथ गर्ने प्रतिवद्धता समेत गरेका थिए । नागरिक समूहले मितव्ययी वन्न तथा अनावश्यक जगेडा नगर्न र चाडपर्व तथा संस्कारका नाममा फजुल खर्च गर्ने, तडक–भडक देखाउने र अस्वभाविक काम नगर्न आम नागरिकसँग अपिल समेत गरेको सुनासका अध्यक्ष पुण्य पौडेलले जानकारी दिए ।


Post a Comment

 
Top