0
गोल्डेन न्यूज संवाददाता
पोखरा नगर रेस्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (सिटी रेवान) को आयोजनामा आगामी असोज २२ गतेदेखि पोखरामा चौथो ‘दशैँ महोत्सव तथा फुड फेस्टिभल’ हुने भएको छ । महोत्सव कात्तिक २ गतेसम्म चल्नेछ । ‘दशैँ महोत्सव तथा फुड फेस्टिभल’को लागि यतिबेला आयोजक संस्था सिटी रेवानले तयारी तीव्र पारेको छ । हाम्रा अधिकांश स्टलहरु बुकिङ भैसकेका छन् ।’ सिटी रेवानका अध्यक्ष केपी शर्माले गोल्डेन न्यूज दैनिकसंग भने–‘तयारीलाई हामीले निकै तीव्र रुपमा अगाडि बढाएका छौँ ।’ पोखरा रंगशाला परिसरमा हुने ‘दशैँ महोत्सव तथा फुड फेष्टिवल’ विशेष तरिकाले गर्ने तयारी भैरहेको उनले सुनाए ।
 
अघिल्लो तीन सँस्करणको अनुभवलाई समेत समेटेर यो पटकको ‘दशैँ महोत्सव तथा फुड फेस्टिभल’ उत्कृष्ट बनाउन आयोजक संस्था लागिपरेको छ । यतिबेला आयोजकले प्रचार–प्रसारलाई पनि तीव्रता दिईरहेको छ । ‘पोखरा रंगशाला परिसरमा जतिसक्दो दर्शकलाई महोत्सवमा भित्र्याउनका लागि हामीले प्रचारलाई तीव्रता दिएका छौँ ।’ सिटी रेवानका महासचिव तथा महोत्सवका प्रचार विभाग प्रमुख दिपक तिमिल्सिनाले भने–‘अघिल्लो सँस्करणभन्दा यो सँस्करणमा दर्शक पक्कै पनि बढि आउनेछन् । तिमिल्सिनाले महोत्सवमा दर्शक सँख्या बढ्ने आधारहरु पनि देखाए । उनका अनुसार दशैँलाई लक्षित गर्दै महोत्सवमा सस्तो बजार पनि संचालन हुने भएकोले दशैँको किनमेलका लागि पनि दर्शक बढ्नेछन् । दशँैको लागि आवश्यक सामाग्रीहरु सँगै खसि, बोका, च्याङ्ग्रा देखि पाडोसम्म महोत्सव स्थलमा उपलब्ध हुने आयोजकले बताएको छ ।
 
त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुको विशेष खाले साँगीतिक प्रस्तुति पनि दर्शक तान्ने अर्को अस्त्र हुनेछ । त्यस्तै विभिन्न खाले रमाईला प्रतियोगिताहरु पनि दर्शकको लागि आकर्षण हुने महोत्सवका पप कन्सर्ट तथा सुगम संगीत सँयोजक जीवन गुरुङले बताए । ११ दिनसम्म दैनिक दिउँसो लोकदोहोरीको रौनक र साँझमा पप कन्सर्टको रमाईलो लिन पनि दर्शक आउने आयोजकको अनुमान छ । त्यस्तै भारतबाट आउने नृत्यको विशेष टोलीले पनि महोत्सवमा तामझाम थप्नेछ । महोत्सवमा ढिँडो खाने प्रतियोगिता, अष्ट्रिचको विशेष परिकारहरु, हाँस्य प्रस्तुती, बाल नृत्य तारा, गृहणी एकल नृत्य प्रतियोगिता पनि आकर्षणमा रहेका छन् । महोत्सवमा यो पटक १ सय ८० वटा स्टल रहनेछन् । ११ दिने महोत्सवका लागि करिब ३८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महोत्सवबाट करिब ४२ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ ।

Post a Comment

 
Top