0
यतिबेला नेपालको तराइमा भइरहेको आन्दोलन जारी छ । विशेषगरि मधेशवादी दलहरुको अगुवाइमा भएको आन्दोलन ४५ दिन पुग्न लागिसक्यो । तराईमा अहिले गरिएको आन्दोलन मधेशी र पहाडियाबीचको सम्बेदना भड्काउने खालको छ । जातको सम्बेदना यति शक्तिशाली हुन्छ, त्यसको दुरुपयोग भयो भने समाज कहिल्यै मिल्न नसक्ने गरी टुक्रिन्छ । तर, समाजलाई टुक्रा पारेरै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने हिसावले गतिविधिहरु भइरहेका छन् । आफूलाई मधेशबादी भन्ने दलले मधेशका समस्या के हुन् भन्ने नै बुझेका छैनन् । उनीहरुले २०६४ सालमा यस्तै खालको उट्पट्याङ कुरा गरेर चुनाव जितेका थिए । त्यो चुनाव जितेर सत्तामा पुगेपछि उनीहरुले मधेशी जनताका लागि सिन्कोसम्म भाँचेनन् । उनीहरुको राजनीति तराई–मधेशमा सकिएको थियो । राजनीति सकिएपछि शक्ति आर्जन गर्न उनीहरु बेलाबेला आन्दोलनका नाममा यस्तो गर्छन् । जनताको अवस्था भने जस्ताको तस्तै हुन्छ । दुर्गम मानिएको कर्णालीमा भन्दा तराईको साक्षरता प्रतिशत कम हुनुले पनि यस्तो देखाउँछ । पहाड–तराई जहाँका मानिसहरु पनि सवै ठीक हुन्छन् भन्ने छैन । १०–१५ प्रतिशत मान्छे जहाँपनि खराव हुँदा रैछन् । उनीहरुको मुख्य उद्देश्य के गर्दा आफूलाई फाइदा हुन्छ त्यही गर्ने हुनेरहेछ । अहिले मधेसमा भड्काउने र यस्तो काममा नेतृत्व गर्ने पनि त्यस्तै मान्छे हुन् । आफूलाई फाइदा हुन्छ भने उनीहरु पहाडेविरुद्ध भड्काउन पनि तयार छन्, पहाडेसँग मिलेर मधेशीमाथि शासन गर्न पनि तयार छन् । साम्प्रदायिकता भड्काएर खेल्न पनि तयार छन् । तिनीहरु नै हुन्, कहिले हिन्दु र मुसलवानबीच द्वन्द्व सिर्जना गराइदिन्छन् कहिले मधेशी–पहाडियाका बीचमा द्वन्द्व गराउँछन् । उनीहरुको कामनै अस्थिरता ल्याउने मात्र हो । हामी मधेसी हौं, हाम्रा समस्या कहाँ छन् उनीहरुका मुद्दामा ? अहिले मधेश केन्द्रीत दलका नेताले तिनै मान्छेलाई प्रयोग गरेर तराई–मधेश क्षेत्रलाई डरलाग्दो बनाएका छन् । संविधान नराम्रो छ भनेर आन्दोलन भएको पनि होइन । यो आन्दोलन सत्ताआकांक्षासंग मात्र जोडिएको अनुमान लगाउन सकिन्छ । अहिलेका मधेसी दलका नेता पञ्चायतमा पनि मन्त्री भए, बहुदलमा पनि मन्त्री भए । जति ब्यवस्था आए उनीहरु सबै ब्यवस्थामा फरक फरक नाम बनाएर खाँदै आए । पञ्चायतमा सर्बेन्द्रनाथ शुक्ल, रेणु कुमारी यादवहरु पञ्च थिए । राजाको प्रत्यक्ष शासनकालमा पनि ज्ञानेन्द्रले उनीहरुलाई मन्त्री बनाए । त्यसबेला मधेसमा के थियो यिनीहरुलाई मतलव थिएन । बहुदल आयो, महन्थ ठाकुरले कांग्रेस बनेर खाए, महेन्द्र राय यादवले एमाले बनेर खाए । कांग्रेस एमाले बनेर खान अप्ठेरो हुन्छ जस्तो भएपछि यिनीहरुले मधेसी दल खोले । एक पटक होइन्, अनेकपटक मन्त्री भएका छन् यि सबै । राजेन्द्र महतोको आधा उमेर मन्त्री पदमै वित्यो । त्यसबेला मधेसप्रेम कहाँ थियो ? मधेसी जनताप्रति यिनीहरुले के गरे ? नयाँ संविधानलाई उनीहरुले अर्काे चुनावमा कसरी सफल हुने भन्ने मुद्दाका लागि प्रयोग गरे । यो आन्दोलनले मधेसी जनताका मुद्दा सम्बोधन गर्दैन । बरु उनीहरुका बन्द हड्तालले जनताले दुख पाइरहेका छन् । धान खेतमा हाल्न रासायनिक मल मल पाएका छैन । नेपालमै ८–९ सय रुपियाँमा पाइने मल भारतमा गएर १५ सय रुपियाँ तिरेर किन्नु पर्छ । त्यसको पनि गुणस्तर छैन । कमजोरी तीन दलमा पनि छ । तीन दलले संविधान जारी भएपछि कमसेकम संविधानमा जनताका यी कुराहरु छन् भनेर जनता सामु जानुपर्दथ्यो । सक्रिय कार्यकर्तालाई प्रशिक्षित गरियो भने त उनीहरुले नै संविधानमा समेटिएका जनताका अधिकारका बारेमा कुरा बुझाउँछन् । गाउँ–गाउँका मानिसहरुले संविधानमा समेटिएका कुराहरु जानकारी पाउँछन् । त्यसपछि त तिनै गाउँलेले लखेट्छन् आन्दोलनकारीलाई । अहिले त उनीहरुले संविधानमा अधिकार छैन् । सवै पहाडेले विगारे भनेर जनतामा भ्रम छर्न पाएका छन् । कमसेकम जनतासँग राजनीतिक दलहरु जाँदा यी कुराहरु स्पष्ट हुने थिए । दलहरुको कुरा यो भए पनि मधेस केन्द्रीत दलहरु पनि अब सबै आन्दोलन छाडेर दह्रोसंग वार्तामा बस्नु नै वर्तमान समयको टड्कारो आवश्यकता हो ।


Post a Comment

 
Top