0
भारतीय विदेश मन्त्रालयले नेपालमा संविधान जारी भएपछि पनि निरन्तर रहेको सिमावर्ती मधेश क्षेत्रको असहज परिस्थितीबारे परामर्श गर्दै अहिले जारी संविधानमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने प्रावधान हटाइएकोमा ‘गम्भीर चासो’ देखाएको छ । दिल्लीस्थित विदेश मन्त्रालयमा मंगलबार अपरान्ह दुबै देशका राजदूतसहित कुटनीतिक अधिकारीको उपस्थितीमा सम्पन्न परामर्श बैठकमा मन्त्रालयमा नेपाल डेस्क प्रमुख सहसचिव अभय ठाकुरले भारतीय चासोबारे ध्यानाकर्षण गराए । पहिलो चरणमा नेपालका लागि भारतीय राजदूत रन्जित राय र अर्कोपटक विदेश सचिव एस. जयशंकरले काठमाडौंमा भारतीय चासोबारे छलफल गरेपनि ‘सुनुवाइ नभएको’ बारे परामर्श बैठकमा छलफल भएको थियो । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहितका कुटनीतिक अधिकारी सहभागी बैठकमा नेपालको पछिल्लो स्थिति ‘ब्रिफिङ’का लागि दिल्ली पुगेका राजदूत रायले भने–‘भारतसाग जोडिएको सिमावर्ती नेपाली क्षेत्रमा देखिएको अशान्ति र असुरक्षाको स्थिति लम्बिंदो स्थितिमा छ । यसकारण समस्या समाधानमा आपसी सहमती र परामर्शका लागि पनि तदारुकता खोज्नुपर्छ ।’
 
यसैबीच परामर्श बैठकमा भारतीय अधिकारीले बिहारमा आसनन राज्यसभा चुनावका कारण सिमावर्ती क्षेत्रको तनाव र हिंसात्मक गतिबिधिबारे स्वभाविक चिन्ता रहेको भन्दै सिमाक्षेत्रमा आवागमनमा केही कडाइ भएको हुन सक्ने धारणा राखेका थिए । बैठकमा सहभागी एक अधिकारीले भने–तर यसो भन्दैमा तत्कालै नाकाबन्दी गरिहाल्ने सोचाइ छैन, स्थिती अहिलेजस्तै असहज रहेमा सिमाक्षेत्रमा थप निगरानी रहनेछ ।’ बिहारका जोगबनी र रक्सौल नाकामा आज देखिएको तनाव र आवागमनमा भएको अवरोधबारे ‘बुझेर मात्रै बोल्न सकिने’ भन्दै ती अधिकारीले बिहार चुनावका कारण सिमा शशश्त्र बलको निगरानी बढेको हुन सक्ने प्रतिक्रिया दिए । ‘भारतीय–सरोकारको बिषय’ भन्दै उठाइएको नेपालको अन्तरिम संविधानमा समेत व्यवस्था भएको ‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिनेछ’ भन्ने प्रावधान अहिलेको संविधानमा हटाइएकोमा गम्भीर–चासो राखिएको छ ।
 
अहिलेको संविधानमा भने ‘निर्वाचन क्षेत्रका हकमा भूगोल र जनसंख्यालाई आधार मानिने’ भनिएको छ । बिशेषत तराइ क्षेत्रमा धेरै जनसंख्या हुने भएकाले निर्वाचन क्षेत्र समेत बढी हुने भएकाले यसमा ‘आवाजहीन र पछौटे समाज’ को बढी प्रतिनिधित्व रहने भारतीय अधिकारीको दावी थियो । मधेशरतराइको अशान्तीले भारतलाई स्वभावत प्रभावित पार्ने भन्दै ‘भारतलाई असर पर्नुअघि समाधान खोज्न’ भारतीय अधिकारीले बैठकमा आग्रह गरेका थिए । नेपाली राजदूत उपाध्यायले राजनीतिक संवाद जारी रहेका कारण केही दिनमैं समस्या समाधान हुने विश्वास दिलाएका थिए । राजदूत उपाध्यायले विदेश मन्त्रालयको बैठकपछि भने–मधेशी वा थारु समुदायका सबै सरोकारमा सम्बोधन हुनेछ तर अब भने पहिलो चरणमा राजनीतिक समझदारी जरुरी छ । त्यसपछि प्रक्रियामा जानैपर्छ । संघीय आयोग भनेपनि अथवा अरु सहमतिका आधार भनेपनि अब भने कानून र नियमावली बन्नैपर्ने हुन्छ ।’
 
राजदूत उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा रहेको ‘लोकप्रिय र बृहत छवि’ अहिले भारतले देखाएको ‘सानो चित्त’ का कारण केही खस्किएर जाने क्रममा रहेको तर्फ भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए । राजदूत उपाध्यायले राखेको धारणाबारे एक अर्का अधिकारीले भने–‘तपाईहरुले अहिले राखेको मधेशी समुदाय सहितका जेजति चासो छन्, मलाई अवगत गराएको भए आजको अवस्था आउने नै थिएन, ‘कुटनीतिक संयन्त्र र माध्यमलाई पन्छाएर गुनासो मात्रै गरिरहनुको अर्थ छैन ।’ राजदूत उपाध्यायले नेपालको नयाँ संविधानलाई भारतले स्वागत नगरेर असहज स्थिति निम्त्याएकोबारे पनि चासो राखे ।  
 
परामर्श बैठकमा सहभागी एक भारतीय अधिकारीले भने–‘हो, हामीले स्वागत नगरेकै हो । हाम्रा सरोकारलाई सम्बोधन नगरिएको अवस्थामा कसरी स्वागत गर्न सकिन्छ ? ढिलो वा चााडो भारतले स्वागत गर्नेछ, यसका लागि हाम्रा चासोहरुको सम्बोधन भएको संकेत हामी कुरिरहेका छौं ।’
दिल्लीबाट पत्रकार देवेन्द्र भट्टराई कान्तिपुरमा लेख्छन्–राजदूत रन्जित राय पनि मंगलबार दिनभर प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयमा बिशिष्ट पदाधिकारीहरु संग नेपाल स्थितीबारे ‘ब्रिफिङ’मा व्यस्त भए । उनी बुधबार बिहान काठमाडौं फर्कनासाथ प्रधानमन्त्री सुशील कोइरालासंग भेटवार्ता गर्न र भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउन बालुवाटार पुग्नेछन् । नाकाबन्दी हुदैन ः परामर्श बैठकमा भारतीय अधिकारीले बिहारमा आसन्न राज्यसभा चुनावका कारण सिमावर्ती क्षेत्रको तनाव र हिंसात्मक गतिबिधिबारे स्वभाविक चिन्ता रहेको भन्दै सिमाक्षेत्रमा आवागमनमा केही कडाइ भएको हुन सक्ने धारणा राखेका थिए । ‘तर यसो भन्दैमा तत्कालै नाकाबन्दी गरिहाल्ने सोचाइ छैन,’ ती अधिकारीले भने–‘स्थिति अहिलेजस्तै असहज रहेमा सिमाक्षेत्रमा थप निगरानी रहनेछ ।’ बिहारका जोगबनी र रक्सौल नाकामा मंगलबार देखिएको तनाव र आवागमनमा भएको अवरोधबारे ‘बुझेर मात्रै बोल्न सकिने’ भन्दै ती अधिकारीले बिहार चुनावका कारण सीमा सशस्त्र बलको निगरानी बढेको हुन सक्ने प्रतिक्रिया दिए ।

Post a Comment

 
Top