0
गोल्डेन न्यूज संवाददाता
वातावरणमैत्री दीगो आवास कार्यक्रमको लागि आवश्यक पर्ने सामाग्रीहरुको बजारीकरण हुन सके मात्र  दीगो हरित आवास कार्यक्रमले सार्थकता पाउने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, युएन ह्याविट्याट, पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा उपमहानगर पालिकाको संयुक्त आयोजनामा पोखरामा आयोजित दीगो आवास कार्यक्रमका निम्ति उद्यमशीलता विकास तालिमको अवसरमा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । पोखरा उद्योग वाणिज्य संघ तथा तालिम समापन कार्यक्रमका अध्यक्ष विन्दुकुमार थापाले दीगो आवास कार्यक्रमका लागि आयोजित तालिमले उद्यमशीलता विकास र हरितगृह कार्यक्रमलाई सघाउ पुग्ने बताए । उनले घर निर्माणमा प्रयोग हुने सामाग्रीहरुको बजारीकरण हुन सके जनस्तरबाटै हरितगृह कार्यक्रम फस्टाउने धारणा राखे । पोखरा उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लले पोखरा लतितपुर र धरानमा हरित गृह कार्यक्रम लागू भएको जानकारी दिँदै पोखरालाई नमूना शहर बनाउन यो  कार्यक्रम फलदायी हुने आशा व्यक्त गरे ।
 
युएन ह्याविट्याटका दीगो हरित गृह विशेषज्ञ इञ्जिनियर डा. सन्तोष श्रेष्ठले वातावरणीय दृष्टिले सुन्दर र स्वच्छ घर निर्माणले मानिसको आयू समेत बढाउने भएकोले हरितगृह  निर्माण राष्ट्रकै अभियान बन्नुपर्नेमा जोड दिए । पोखरामा विद्युतीय सामाग्री बिक्री वितरण गर्ने तथा हलो क्रंक्रिट ब्लक उत्पादकहरुलाई छुट्टाछुट्टै रुपमा आयोजित २÷२ दिने तालिममा दुबै समूहका गरी ५० जनाको  सहभागिता रहेको आयोजक नेपाल उद्योग वाणिज्य महासंघका परियोजना प्रमुख रञ्जन भट्टराईले जानकारी दिए । कार्यक्रममा तालिममा सहभागी सन्तोष सिग्देल र संकर ताम्राकारले तालीमले आफूले संचालन गर्दै आएको व्यवसायको बजारीकरणलाई सहयोग पु¥याएको बताए ।

Post a Comment

 
Top