0
गोल्डेन न्यूज संवाददाता
नाम ः धनबहादुर फडेरा, उमेर ः २०,  ठेगाना ः सर्कीदेउ गाविस ४ हुम्ला, आरोप ः ठगी
हो, उमेरले २० वर्ष मात्र भए धनबहादुर । नामै धनबहादुर भएर होला, सानै उमेरमा उनलाई मनग्गे पैसा कमाउन मन लाग्यो । उनले उपाए रचे । अनि बनाए योजना । यही क्रममा कास्कीको बाटुलेचौरकी लक्ष्मी गुरुङसंग उनको भेट भयो गोंगबुस्थित एक होटेलमा भूकम्प अघि । मीठो गफले लक्ष्मीलाई मन ताने । उमेरले आमा सरहकी लक्ष्मीसँग आमाकै नाता जोडे उनले । नेता मात्र हैन, प्रधानमन्त्री र मन्त्रीसंग खिचेको फोटो देखाए । उनले फोटो मात्र देखाएन् आफू कृषि मन्त्रालयको सचिव भएको फूर्ति लगाए । लक्ष्मी अचम्म परिन् । यो उमरमै कसरी बाबु ? ठग्न सिपालु धनबहादुरले भने, म ठूलो खानदानी परिवारमा जन्मेको मान्छे । पढाइ लेखाइ पनि राम्रो भयो । बुबाको नेतासंगको सम्बन्धले सानै उमेरमा मन्त्रालयको त्यो पद पाइयो । धनबहादुरको गफले सोझी लक्ष्मी मख्ख परिन् । अझ आमाको नाता जोेडेपछि त झनै प्रभावित । त्यही दिन जोडिएको नाताले अहिले लक्ष्मीसहित पाँच जनाले ८१ लाख रुपैयाँ गुमाएका छन् । कृषि मन्त्रालयको सचिव हुँ भन्दै विदेश पठाइदिने नाममा रकम ठगी गर्ने हुम्लाको सर्किदेउ ४ का २० वर्षे उनै धनबहादुर फडेरा अहिले कास्की प्रहरीको हिरासतमा छन् । क्यानडा पठाइदिन्छु भन्दै उनले वैशाख यता पोखराको बाटुलेचौरका पाँचजनाबाट ८१ लाख रुपैयाँ ठगी गरेको आरोप पीडितले लगाएका छन् ।
 
पोखराको बाटुलेचौरकी लक्ष्मी गुरुङ, उनका छोरा सन्दीप गुरुङ, ज्वाइँ किरण, भान्जी दीपा गुरुङ र छिमेकी वैकुण्ठ बस्नेतबाट पटक पटक गरी ८१ लाख रुपैयाँ धनबहादुरले लिएका थिए । नेपाल र क्यानडा सरकारबीच सम्झौता भए अनुसार ६ महिनाको लागि कृषि मन्त्रालयमार्फत् ३५ जनाको कोटा आएको भन्दै धनबहादुर पैसा ठगेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । एक जनाको ३० लाख रुपैयाँ लाग्ने भन्दै उनले पैसा उठाएका थिए । अब हुन्छ, अब हुन्छ भन्दै तीन÷चार महिना कुराएपछि शंका लागेको पीडितले बताएको गन्थन डटककम खबर छ ।
 
जुवातास मुद्दामा गत साता चितवनको नारायणगढमा धनबहादुर पक्राउ परेपछि बल्ल लक्ष्मीसहित चारजनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी थिए । त्यसपछि पोखरा ल्याएर जिल्ला अदालतबाट म्याद थपि ठगी मुद्धामा कार्वाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी गोविन्द अधिकारीले बताए । धनबहादुरले दीपाबाट २४, किरणबाट २० बैकुण्ठबाट १० र लक्ष्मीबाट २७ लाख रुपैयाँ लगेको पीडितले बताएका छन् ।
 
वैशाखको भूकम्प अघि लक्ष्मी र धनबहादुरको भेट काठमाडौंको गंगबुमा भएको थियो । त्यतिबेला नै धनबहादुरले आफू कृषि मन्त्रालयको सचिव भएको भन्दै लक्ष्मीसंग आमाको नाता गासेर कुरा गर्न थालेका थिए । प्रधानमन्त्री, मन्त्री र अन्य उच्च ओहोदाका मानिससंग बसेर खिचाएको फोटो त्यतिबेला नै लक्ष्मीलाई उनले देखाएका थिए । त्यसपछि फोन मार्फत् नियमित सम्पर्कमा रहेका धनबहादुरले पोखरा नै आएर उनीहरुबाट पैसा झार्न थालेका थिए । यति सानै उमेरमा कसरी त्यति ठूलो पदमा पुगेको भनेर सोध्दा आफू ठूलो खानदानको भएको, राम्रो पढाइ अनि राजनीतिक पहुँचका कारण त्यो पदमा पुगेर लोभ्याएको धनबहादुरले बताएका थिए । अब छिटै अनुसन्धान सकेर छिटै सरकारी वकिलमार्फत् मुद्दा दायर गरिने डीएसपी अधिकारीले बताए ।

Post a Comment

 
Top