0
गोल्डेन न्यूज संवाददाता
एकीकृत नेकपा माओवादीका नेता एवं पूर्व मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले भारतले नेपालको मामिलामा हस्तक्षेप गर्न नसक्ने दाबी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीको आयोजनामा मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा शर्माले नयाँ संविधान जारी भएपछि भारतले देखाएको असन्तुष्टिले कुनै फरक नपार्ने बताए ।
 
शर्माले भने,–‘हामी कसैको दास हैनौं, अनि गुलाम पनि हैनौं, हामी स्वाभिमानी नेपाली हौं, त्यसैले हामीलाई कसैले नाकाबन्दी लगाउन सक्दैन, त्यस्तो स्थिति आइहाले पनि अन्तर्राष्ट्रिय समुदाय हेरेर बस्दैन ।’ शर्माले मधेसीको माग पूरा नगरेकोप्रति भारतले देखाएको असन्तुष्टीकै कारण नेपालमा नाकाबन्दी लाग्छ भन्नु हास्यास्पद भएको टिप्पणी गरे । नेपाललाई नाकाबन्दी गरे वा हस्तक्षेप गरे यो मुद्दा अन्तर्राष्ट्रियकरण हुने भएकाले भारतले नेपाललाई त्यस्तो गर्नै नसक्ने उनको जिकिर थियो । संविधान जारी भएकाले समृद्धितर्फ लम्कने बताउँदै उनले नेपाल आफैले आफूलाई चाहिने सामान उत्पादन गर्नसक्ने स्थितिमा अब पुग्ने बताए ।
संविधान निर्माणका क्रममा एमाओवादीमा कुनै अन्तर्विरोध नभएको उनले जिकिर गरे । उनले भने,–‘संविधान निर्माणमा सबै पार्टी एउटै भए, को कुन दलको भन्ने समेत रहेन, सबै दल र तिनका नेता समेत एउटै भएका बेला दल भित्रको कुनै नेताले विरोध गर्रुयो भन्नु बेकार हो, यसमा सत्यता छैन ।’ प्रभाकरले संविधान निर्माणसँगै देश, पार्टी र जनता सबै सक्षम रहेको पुष्टी गरेको बताए । उनले भने,–‘देशमा संविधान निर्माण नहुँदा निराशा पैदा भएको थियो, पार्टीहरुको औचित्य माथि नै प्रश्न चिन्ह उठेको थियो अनि दलका नेताहरुमाथि असक्षम हुन् कि भन्ने आशंका पैदा गरेको थियो तर अब संविधान बनेपछि यी सबै आशंका निवारण हुँदै जनतामा आशा जगाएको छ ।’
 
नयाँ संविधानमा उल्लेख भएका धाराको व्याख्या गर्दै गयाँै भने अहिले असन्तुष्ट रहेका मधेसी र जनजाति पनि समझदारीमा आउने विश्वास व्यक्त गर्दै उनले बन्दुक हानेर मात्रै समस्याको समाधान नहुने भएकाले आन्दोलनरत पक्ष वार्तामा बसेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । केही माग संविधानमा सम्बोधन भएपनि नबुझेर आन्दोलन भइरहेको तर्क गर्दै उनले त्यसलाई पत्रकार र दलहरुले बुझाउन सके आन्दोलन आफै मत्थर हुने बताए । साथै उनले बाँकी केही जायज माग वार्ता र सम्बादबाटै मिलाउनुपर्नेमा जोड दिए । आदिवासी, जनजाति र मधेशीका मुद्दा संविधानमा लगभग सम्बोधन भएको दाबी गर्दै उनले थारु समुदायको माग भने सम्बोधन गर्न बाँकी रहेको बताए । थारु समुदायको माग सम्बोधन नगरेर उनीहरुलाई अन्याय भएको सबै दल र नेताहरुले स्वीकार गरेको पनि उनको भनाइ थियो । उनले अहिले नेपाली युवामा राष्ट्रवादी भावना बढ्दै गएकोमा खुसी व्यक्त गरे । कार्यक्रम सङ्घका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको थियो ।


Post a Comment

 
Top