0
गोल्डेन न्यूज संवाददाता
कास्की ढिकुरपोखरीकी चेली  अम्बिका भण्डारीले दोस्रो तीजगीत म्युजिक भिडियो ‘खुसी राख्छौं बाबा तिमीलाई’ लिएर आएकी छन् । लोकगायिक एवं साहित्यकार भण्डारीको उक्त म्युजिक भिडियो आइतबार पोखरामा सार्वजनिक गरिएको छ । उनले यसअघि ‘आमाको सम्झना’ बजारमा ल्याइसकेकी थिइन । करिब एक दशक साहित्यफाँटमा बिताएकी उनको कृति म्युजिक भिडियोमामात्र सीमित छैन । उनका लोक छन्दका फूल, आफ्नो गाउँ आफ्नै हुन्छ र तेस्रो पाइला कविता संग्रह समेत प्रकाशित भइ बजारमा आइसकेका छन् । नितान्त ग्रामिण परिवेश समेटिएर तयार पारिएको उनको म्युजिक भिडियो वर्तमान तीज गीतमा देखिएको उच्छृङ्खलपन, विकृति–विसंगतिलाई चुनौती दिने महसूस गर्न सकिन्छ ।  खुसी राख्छौं बाबा तिमीलाई’ भिडियोको शव्द समेत स्वयं भण्डारीकै हो । उनको नयाँ तीजगीत म्यूजिक भिडियोमा समेटिएका शव्द, लय, नृत्य र छयाङ्कन समेत ग्रामिण परिवेशमै आधाधित छ । लोकार्पण कार्यक्रममा उक्त भिडियो बज्दा र स्वयं गायिका भण्डारीले सोही गीत प्रस्तुत गर्दा आफ्ना पिताको सम्झना गर्दै सहभागीहरु भावुक भएका थिए भने कतिपयको आँखामा आँसु समेत देखिन्थ्यो । गीत र भिडियोले छोराछोरीले आफ्ना बुबाप्रति गर्ने कर्तव्य, जिम्मेवारी र बुबाले आफ्ना सन्तान सानो छँदा निर्वाह गर्नुपरेको भूमिकालाई स्पष्ट पार्न खोजेको छ । जब बुबा घरमा हुँदैनन् तब घरनै अँध्यारो हुने, उज्यालो नहुने सन्देश भण्डारीको तीजगीत म्युजिक भिडियोले दिन खोजेको छ । भण्डारीले आफ्नो गीत र भिडियोमा शव्द, लय, संगीत, नृत्य सबै मिलाउन प्रयत्न गरेकी छन् भने रदिफ, काफियाका साथै गीतमा हुनुपर्ने सबै कुरा समावेश भएकोले खोट लगाउने ठाउँ नभएको समिक्षक असफल गौतमले बताए । ‘देख्न पाए बाबा तिमीलाई, सधैंभरि हाँसेको....’, ‘तिमी रोए के काम भयो हामी बाँचेको...’, ‘बाबा घरमा भएमात्र घर उज्यालो हुने..’ र ‘बुढेसकालमा पनि सुख छैन...’  गीतहरु कार्यक्रममा प्रस्तुत हुँदा सहभागी सबैको मन छोएको थियो । गीतद्वारा ग्रामिण भेगमा आफ्ना बुबाहरुले गरेको दुःख र छोराछोरीको लालन–पालनमा खेप्नुपरेको दुःखलाई यथार्थ चित्रण गर्न खोजिएको छ । म्युजिक भिडियो हेर्दा गायिका भण्डारीकी आमा नभएको र भण्डारीलाई हुर्काउन र शिक्षा–दीक्षा दिने सबै जिम्मेवारी बुबाले निर्वाह गरेको  महसूस हुन्छ । भिडियोको निर्देशन हास्य कलाकार युवराज भण्डारीले गरेका छन् भने संगीत तारानाथ आचार्यले भरेका छन् । भिडियोका निर्माता स्वयं गायिका भण्डारीका श्रीमान गोपाल भण्डारी हुन् भने नृत्यमा मुना गुरुङको मुख्य भूमिका रहेको छ ।   नृत्यको सहायक भूमिकामा सिशतल अधिकारी, सविता सुवेदी र विन्दु पराजुली समेत रहेका छन् । भिडियो तर्फ शान्ति थापा, विन्दु पराजुली, दिवाकर भण्डारी र युवराज भण्डारीको भूमिका रहेको छ । भिडियोको लोकार्पण गर्दै  नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पौडेलले गीत, सङ्गीत हाम्रो संस्कृतिका अभिन्न अंग भएकाले यसको संरक्षणमा सबैले प्रयत्नु गर्नुपर्ने बताए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले आजभोलि चाडपर्व मान्ने र अन्य काम गर्दा समाजमा हुँदा खाने र हुने–खानेबीच खाडल देखिएको उल्लेख गर्दै त्यस्ता दुर्गुणलाई हटाउन सांस्कृतिक चेतना प्रभावकारी हुने बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य चोलेन्द्र पौडेलले आजभोलि तीज गीत र समग्र सङ्गीत क्षेत्रमै विकृति आएको स्वीकार गर्दै यसलाई हटाउन स्रोता, दर्शक, सर्वसाधारण, सञ्चारकर्मी सबैको एकीकृत प्रयास हुनु पर्ने बताए । उनले भने–‘अश्लिल र भड्किला गीतको विरोध गर्ने अनि आफै ती गीत सुन्ने र बजाउने गर्नु भएन ।’ स्रष्टा अम्बिका भण्डारीले नेपाली संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने बताइन् । उनले आफ्ना सफलता दर्शक, पाठकहरूको माया भएको र उनीहरुकै सुझाव अनुसार आफ्नो आगामी यात्रा परिमार्जित गर्ने भएकाले उपयुक्त सुझाव र सल्लाह दिन आग्रह गरिन् । गीतको समीक्षा गर्दै समीक्षक असफल गौतमले सैद्धान्तिकरुपले पनि गीत उत्कृष्ट बनेको बताए । उनले गीतको समय परिवेश र महत्व नबुझ्नु मुख्य समस्या रहेको बताए । कार्यक्रममा अन्नपूर्ण सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष छन्दमणि त्रिपाठी, साहित्यकार फडिन्द्र अकिञ्चन, कलाकार युवराज भण्डारी, रेडियो नेपालकी शान्ति राणा, गीताञ्जली साहित्य परिवारकी सह–सचिव लक्ष्मी थापा लगायतले राष्ट्रले कलाकारलाई उचित सम्मान नगरेसम्म कलाकारहरु माथि उठ्न नसक्ने बताएका थिए । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानका प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरिता तिमिल्सिना पगेनी र सञ्चालन सचिव कल्पना चिलुवालले गरेकी थिइन् । त्यस अवसरमा लक्ष्मी थापा, सोनिया केसी गीत प्रस्तुत गरेका थिए भने मुना गुरुङ, शितल अधिकारी र अरुणा बानियाँले नृत्य प्रस्तुत गरेका थिए ।


Post a Comment

 
Top