0
सोमबार कैलालीको टीकापुरमा एक नाबालकसहित सातजना प्रहरीको कायरता एवं निर्ममतापूर्वक हत्या गरिएपछि त्यस क्षेत्रको सुरक्षा स्थिति जटिल बनेको छ । त्यसको असर तराईका अन्य जिल्लाहरुमा पर्ने आशंका गरिदैछ । बाहिरबाट थरुहट कार्यकर्ताहरुको घटनामा संलग्नता देखिए पनि दक्षिणतिरबाट आएका पेशेवर आपराधिक समूहाबट उक्त जघन्य हत्याकाण्ड भएको आशंका गरिएको छ । स्वयं थरुहट र थारुवान् आन्दोलनका अगुवाहरु नै आन्दोलनमा घूसपैठ भएको र घुसपैठियाहरुबाट घटना घटाइएको बताइरहेका छन् । लामो सशस्त्र द्वन्द्वको पीडा भोगेको नेपाली समाजमा फेरि हिंसाको शुरुवात हुनु र अनाहकमा नेपाली जनताको रगत बग्नु अत्यन्तै दुस्खद छ । टीकापुरमा भएको दुःखद् घटनाको जिम्मेवारी थरुहट र थारुवानका आन्दोलनकारी नेतृत्वले नलिएको सन्दर्भमा अब उनीहरु आन्दोलन स्थगित गरेर वार्ताको टेबुलमा बस्नुपर्छ । प्रमुख दलका शीर्ष नेतृत्वले पनि उनीहरुले उठाएका सम्भव र जायज मागहरुलाई कुनै न कुनै रुपमा संबोधन गर्नुपर्छ । मुलुकलाई हिंसाबाट बचाउन तत्काल गर्नुपर्ने काम यही हो । समाजमा सामाजिक सद्भाव खल्बलियो भने त्यसको दुष्परिणाम अत्यन्त कष्टकर हुनेतर्फ सबै पक्ष गम्भीर र सचेत हुन जरुरी छ । टीकापुर घटनापछि त्यस क्षेत्रमा जातजाति, क्षेत्र र समुदायबीच द्वन्द्व सिर्जना हुने स्थिति देखिनु सर्वथा अनुचित छ । यो परिस्थिति सिर्जना किन भयो भन्ने विषयमा आन्दोलनकारीहरु मात्र हैन, प्रमुख राजनीतिक दल र तिनको नेतृत्व वर्गले गम्भीर समीक्षा गर्नुपर्छ । थारुहरुको भावनामाथि पटक–पटक ठेस पुर्रुयाउने काम गर्नु हुँदैनथ्यो । प्रमुख चारदलले १६ बुँदेमार्फत् आठ प्रदेश बनाउने सहमति गरेपछि छ प्रदेशको खाका सार्वजनिक गरे । त्यो बेला मधेश शान्तजस्तै देखिए पनि मध्यपश्चिम क्षेत्र र तराईका थारु बहुल ४र५ जिल्लामा बढी असन्तुष्टि देखिएको थियो । थारुहरुले उठाएका मागलाई संबोधन नगरेर फेरि सात प्रदेशको खाका ल्याइयो । यहाासम्म आइपुग्दा फोरम लोकतान्त्रिक समेत सहमतिबाट बाहिरिने परिस्थिति सिर्जना गरियो । कैलालीको टीकापुरमा पुगेर केही नेताहरुले गरेको उत्तेजक भाषणबाट थारु आन्दोलनकारी अगुवाहरु समयमै सचेत हुन सक्नुपथ्र्यो । आफ्नो कर्तव्य निर्बाह गरिरहेको समयमा वरिष्ठ प्रहरी उपरीक्षकमाथि नै घरेलु हतियार प्रयोग गरेर हत्या गरिएको घटना स्वतस्स्फूर्त वा सुनियोजित के हो, राज्यले अनुसन्धान गर्ला । तर यो अत्यन्तै निन्दनीय र पाशविक प्रकृतिको घटना हो । केही प्रहरी जवानलाई पेट्रोल छर्केर जिउँदै जलाइएका खबर छन् । यस्ता घटनाको जति निन्दा गरे पनि कम हुन्छ । यी घटनाको सत्यतथ्य छानबिन गरी दोषी पत्ता लगाउनुपर्छ । नयाा संविधान जारी हुने दिशातर्फ मुलुक अगाडि बढ्दै जाँदा भएका यसखालका घटनाले भावी राजनीतिक–सामाजिक अनिष्टको संकेत गरिसकेको छ । निषेधाज्ञा वा कफ्र्यू लगाएर संविधान जारी गर्न सम्भव हुँदैन । नयाँ संविधान घोषणा गर्दा आमजनताले दीपावली गर्ने परिस्थिति सिर्जना गर्नेतर्फ प्रमुख राजनीतिक दल र नेतृत्ववर्ग लाग्नुपर्छ । यसका लागि सबैका असन्तुष्टिहरुलाई संबोधन गर्न नसकिएला तर कसैमाथि दासत्व लाद्ने शैलीले प्रस्तुत हुनुहुँदैन । थारु समुदायले उठाएका सम्भव मागहरुलाई संबोधन गर्नेतर्फ कञ्जुस्याइँ गरिनुहुँदैनथ्यो । नेतृत्वले राजनीतिक दूरदर्शिता देखाउन सकेको भए यो परिस्थिति आउने थिएन । नेपाली समाज सामाजिक सद्भावयुक्त समाज हो । अब यो सद्भाव भाँडिन्छ कि भनेर सर्वत्र चिन्ता बढेको छ । टीकापुरलगायतका ठाउँहरुमा भएका पछिल्ला घटनाक्रमले त्यस्तै संकेत गरेका छन् । यसलाई राजनीतिकरुपमा संबोधन गर्नुको विकल्प छैन तर अब विलम्ब गर्नुहुँदैन । मुलुकलाई अस्थिर बनाउन जातजाति एवं क्षेत्र–भूगोलका जनतालाई लडाउने षड्यन्त्रप्रति सचेतना फैलाउने जिम्मेवारी सरकार, राजनीतिक दल, नागरिक समाज सबैको हो । यसमा नेतृत्व वर्गले अझ बढी सुझबुझ देखाउन जरुरी छ ।






Post a Comment

 
Top