0
समय परिवर्तनशील छ त्यसैले मानिस स्वयम् परिवतित हुँदै जान्छ । समय सँगसँगै व्यक्तिले परिवर्तन चाहन्छ । यो हामीले देखेको र भोगेको वास्तविकता हो । देशमा २०६२÷२०६३ को जनआन्दोलनले आमूल परिवर्तन गराउला भनेर धेरै व्यक्तिले अपेक्षा गरेका थिए । गाउँका साइला दाइ कुर्कुच्चाबाट रगत बगाउँदै लोकतन्त्रका लािग सहरमा झरेर भोको पेटमा जुलुस निकाले । वेसीकी ठूली भाउजु सहादत प्राप्त आफ्नो छोराको लासमाथी वीर सहिद अमर रहुन् ! भनेर फूलमालाले सच्चा श्रद्धाञ्जली दिइन् । उता पल्लाघरे मनबहादुर दुई चार घान मकै भुटेर परिवारको गर्जाे चलाउँदै सबैलाई परिवर्तनका लागि होमिन आग्रह गरे । यी र यस्ता यावद प्रसङ्गहरू हामीले भोगेर आएका हौं ।
पिता बालुराम शर्मा र माता खुमामाया शर्माको कोखबाट वि.सं. २०२८ साउनमा स्याङ्जा, ओरष्टे(६ मा पहिलो पटक धर्तीमा आफ्नो उपस्थिति जनाएका जीवनाथ शर्मा ओरष्टे, स्याङ्जा, पोखरा हुँदै वर्तमानमा राजधानीवासी बनेका छन् । विएस्सी, विए हुँदै एमविएसम्मको अध्ययन गरेका शर्मा विज्ञान, गणित र दर्शनसम्बन्धी पुस्तक पढ्दै, जिन्दगीको नौका विद्यार्थी र वोर्डसँग खेल्दै र खेलाउँदै वर्तमानमा नेपाली वाङ्मयको क्षेत्रमा भन्नेहरूले पछिल्लो समय भित्रिएको लाहुरे विधा भनेर उपेक्षा गरेतापनि निकै मौलाएको गजलमा रमाइरहेका छन् । सोही कारणले हालसम्म उनका जीवनपानीका फोहराहरू (२०५९), जीवनपानीका सुस्केराहरू (२०६१), जीवनपानीका तरङ्गहरू, ऋतु थरिथरिका र पानीमुनिको आकाश (२०६९) गजलसङ्ग्रह प्रकाशित भएका छन् । वि.सं. २०५२ सालको असारबाट पाठकका लागि भित्ते साहित्यिक पत्रिकाको माध्यमबाट आफ्ना सिर्जनाहरू पस्कदै आम पाठकहरूलाई गजलको स्वाद चखाउन लागेका शर्मा पछिल्लो समय एकाएक जीवनपानी बनेका छन् । दायित्व वाङ्मय प्रतिष्ठान काठमाडौं, अभिव्यक्ति द्वैमासिक पत्रिका र स्याङ्जा साहित्य प्रतिष्ठान लगायतका वाङ्मयिक क्षेत्रसँग सम्बद्ध रहेर साहित्य साधनालाई अगाडि बढाएका जीवनपानी नेपाली गजलको क्षेत्रमा परिवर्तनको सपना साच्ने एक इमान्दार गजलकार हुन् । पछिल्लो समय नेपाली वाङ्मयको क्षेत्रमा परिवर्तन निम्त्याउनका लागि धेरै प्रयासहरू गरिए । थाहा छैन आज के, कस्ता, कति र कसरी परिवर्तन आए भन्ने कुरा । समयले यस्तै(यस्तै जवाफ मागिरहेको बेला युवा गजलकार उदाएका हुन् एक नविनतम् कृति लिएर । सुरूवातीका दिनबाट नै देशप्रेमी गजलकार बनेका शर्मा जीवनपानी बनेपछि झन् देशप्रेमी नहुने कुरै भएन । पङ्क्तिकारलाई लाग्छ उत्तरआधुनिक कालका एक सतिसाल बनेर उभिने प्रयासमा छन् अब जीवनपानी । प्रयोगवादी धरातलमा गजल लेखनको यात्रा थालनी गरेका जीवनपानीका प्रारम्भिक चरणका गजलले बोकेका विषयवस्तु के कस्ता थिए ? उनका सिर्जनामा वासनात्मकता, उत्तेजना र कुण्ठाको अनूभूति भयो कि भएन भन्ने कुराहरू यस लेखका सीमाहरू हुन् ।
जीवनपानीको पानीमुनिको आकाश दायित्व वाङ्मय प्रतिष्ठानबाट प्रकाशित कृति आकार, आयाम, गुणस्तर र गजल संरचनाका दृष्टिले दोष लगाउने ठाउँ देखिदैन । ७२ वटा गजल संग्रहित उनको पुस्तक आठ खण्डमा विभक्त रहेको पाइन्छ । प्रत्येक खण्डलाई समेटने गरी तयार गरेका अकृनको कलाकारिताले कृतिको शोभा बढाएको छ, यसर्थ अकृन धन्यवादका पात्र बनेका छन् । अग्र, मध्य र अन्तिम गरी जम्मा ११८ पृष्ठमा फैलिएको कृति भित्रका गजल अध्ययनका आधारबाट मूल्याङ्कन गर्न सकिन्छ उनी गजलको माध्यमबाट मानवअधिकारको आवाज उठाएका छन् । मानवतावादी स्वर उरालेर मानवतावादी गजलकार बनेर निस्केका छन् अब । विश्वशान्तिको अपेक्षा गर्ने उनले युद्ध विभीषिकाको विरोध गरेका मात्र छैनन मानव जातिको निम्ति सहानुभूतिसमेत प्रकट गरेका छन् । देशमा मौलाएको रक्तपात र सामन्ती शोषकहरूको शोषणका विरूद्ध आफ्ना अभिव्यक्ति उनले गजलका शेरहरूबाट दिएका छन् । सम्पूर्ण जनसमुदायको हितका लागि बनाइएका नियम कानुनहरू हुने खानेहरूलाई हैन हुँदा खानेहरूका लागि मात्र बनेका हुन् जस्तो भएको छ । जहाँ नसल्केको आगोले ती सोझा सिधा नेपालीको कानमा बन्दुक राखेर उनै सोझाको छाती जल्न सक्छ यहाँ भन्दै मानव हित विरूद्ध लगाइएका यस्ता बोक्रे नीतिनियमका पर्खालहरू तोड्न आव्हान गर्दै यसरी कुर्लेका छन् ः
धूवाँको खरानीमा आगो, बल्न सक्छ यहाँ,
नसल्केको आगोले छाति जल्न सक्छ यहाँ । (पृष्ठ ः ६)
उनी समाजमा भएका अन्याय, अत्याचारलाई टिपेर त्यसको विरोध गर्ने मात्र हैन । न्याय, समतामुलक र स्वतन्त्रतायुक्त समाज निर्माणको सुमेरू पहाड बोकेर जिन्दगीको अनकन्टार यात्रामा निस्कन्छन् । गाउँले, दुखी, दिनहिन, श्रमजीविहरूको उच्च सम्मान गरेर शोषक सामन्तीप्रति घृणाको भाव व्यक्त गर्छन् । वकम्फुसे भलादमीप्रति व्यङ्गय प्रहार गर्छन । शोषणका लागि मात्र हैन शोषितप्रति सहानुभूतिको भावव्यक्त गर्दैै प्रगतिवादी चिन्तन र विचारको प्रवाहसमेत आफ्ना सिर्जनाका माध्यमबाट गर्न भ्याउछन् र भन्छन्ः
युद्धमा कसैको बिहानी हुँदैन,
जिन्दगीको आफ्नो निशानी हुँदैन । (पृष्ठः ५८)
निम्नवर्गीय परिवारको कारूणिक जीवन कथाको रोचक प्रस्तुती हो उनको पानीमुनीको आकाश भन्दा फरक पर्दैन । उनी शुद्ध र मिठो भाषाको प्रयोग गर्नमा सिपालु छन् । बोक्रे आदर्श भन्दा यथार्थवादी जिन्दगी जिउनमा रमाउने उनको प्रवृत्ति देखिन्छ । उनको सबै भन्दा सवल पक्ष कौतुहलता कायम राखी सन्दर्भ रोचक बनाउने हो । पङ्क्तिकारले आजसम्म अध्ययन गरेका गजल कृतिमध्ये मन छोएको सवल र सफल पक्ष जीवनपानीको भेटाएको भनेको यही नै हो । उनी साहित्यका गहन विधा आख्यानलाई नअंगालेता पनि छोटो, मिठो र चोटिलो विधा गजलकै माध्यमबाट सतही नभइ गम्भीर प्रकृतिका सन्दर्भलाई उठान र बैठान गर्ने एक जादु विद्या पारङ्गत जादुकर जस्ता बनेका छन् यो सङ्ग्रहमा । उत्ति खेरै उनी मान्छे देखेर वाक्क पर्छन, उत्ति खेरै वकम्फुसे भलाद्मीको हालतले चकित पर्छन उत्ति खेरै उनी एउटा बालसुलभपनलाई पनि व्यक्त गर्न भ्याउछन्ः
आबादी जग्गा हो विचार उम्रिन्छ भन्नुहुन्छ,
यो रूखो टारीमा मान्छेको सिलो होला र सर ? (पृष्ठ ः ८)
उनको यस सङ्ग्रहमा जुन सुकै समालोचक, समीक्षक र पाठकले जसरी जुन कोणबाट विश्लेषण र विवेचना गरेपनि उनी विसंगतीवादी गजलकार हुन् । जीवन जगतका कुनै पनि वस्तु, विचार वा क्रियाकलाप संगति नभएको देख्ने साहित्यिक दृष्टिकोण वा धारणामा विश्वास गर्नेलाई नेपाली बृहत शब्दकोषले विसंगतिवादी भनेर परिभाषित गरेको छ । विसंगतिवादी पात्रहरू अनिश्चित भविष्यमा बाँच्दछन् । यि सम्पूर्ण सन्दर्भ र प्रसङ्ग जीवनपानीको पानीमुनिको आकाशमा आएका छन् । यति मात्र हैन उनी सदा विसंगतिवादी बनेर मात्र लागि रहेका पनि छैनन् । उनी आफू बाँचेको समाज देखेर वाक्क परेर नै संसारका विसंगतिसँग सङ्घर्ष गरेर अस्तित्व कायम राख्नुपर्छ भन्ने धारणा व्यक्त गर्ने अस्तित्ववादी गजलकार पनि हुन् । उनी यो समाजमा आफ्नो छुट्टै मान, सम्मान र पहिचानका साथ सुनौलो भविष्यको कल्पना गरेर बाचेका छन् । आफ्नो अस्तित्व प्रदर्शन गर्न मान्छे मूल्यहिन र निरूद्देश्य भएर पनि बाँच्छ भन्ने अस्तित्वादी दार्शनिक अल्बर्ट कामुको चिन्तनलाई जीवनपानीका गजलले पछ्याएको पाइन्छ ।
जीवनपानीले आफ्ना गजलमा समसामयिक युग जीवनका विकृती र विसंगतिप्रति असहमति जनाउँदै त्यसप्रति चोटिलो व्यग्य प्रहार गरेका छन् । कतै प्रगतिवादी, अतियथार्थवादी र विसंगतिवादी भाव व्यक्त गर्ने जीवनपानीले प्रकृतिलाई नजिकैबाट नियालेका छन् । नेपाली प्रकृतिका सुन्दर पक्षको चित्रण गरेका छन् । जीवन भोगाएको क्रममा, पेशा व्यवसाय अंगाल्ने क्रममा मनका पैदा भएका निराशा र कुण्ठाका भावहरू पनि उनका गजलका केही शेर हुन् आएका छन् । प्रगतिवादसँगै स्वच्छन्दवादको गन्ध उनका सिर्जनामा पाइन्छन् । मान्छेका आन्तरिक तहका मनोभावहरूलाई खोतल्दै तिनलाई स्वच्छन्दवादी भावधारामा व्यक्त गर्न पनि भ्याएकै छन् । यसैले उनी स्वच्छन्दवादी गजलकारका रूपमा पनि देखिएका छन् । उनका गजलका विभिन्न संगीतकारले संगीत भरेका छन् । गायकले गाएका छन् तर पनि आजसम्मको गजल लेखनको धरातललाई हेर्दा संगीतपक्षलाई उनले चपक्क समात्न सकेका छैनन् त्यो अनुभूति हुन्छ । संगीतात्मकता को उचित निर्वाह भने नभएको हैन, गरेका छन् ।
विविध बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै अत्यन्त मौलिक र नवीन रूपमा प्रस्तुत गर्न सक्नु उनको विशेषता हो । वैचारिक भावलाई सरल भाषाशैलीका माध्यमबाट संप्रेष्य रूपमा प्रस्तुत गर्नु । शब्दचयनगत वैशिष्ट्यले भाषा र संरचनामा दुर्बोध्यताको स्थिति देखानपर्नु पनि उनको सफल पक्ष हो ।
मानिसको जिन्दगी सधै एक, दुई र तीन... गियर हुँदै अगाडिको मात्र बढ्दैन । जिन्दगी त व्याक गियर पनि हिड्छ कहिलेकाही । त्यस्तै जीवनपानीको गजल यात्रा व्याक गियरमा पनि हिडेको पाइन्छ । उनको पानीमुनीको आकाशमा अवतरण गर्दा । राम्रा सँगसँगै नराम्रा पक्षहरू जहाँ पनि हुन्छन् । फरक यत्ती हो । राम्रो कुरा वर्षौ हराएर नदेखिइकनै जानसक्छ । नराम्रो कुरा लुकाउछु भनेर लुकाउन र टाल्छु भनेर टाल्न सकिदैन । नकरात्मक सन्देशले पहिला बाटो पच्छयाउँदै आएको हामीले पाएका छौ । देशमा लोकतन्त्रको वहालीपछि जातीय प्रसङ्ग चर्को आवाजले चिच्चयाएको छ । सोही कारण हुनुपर्छ, राष्टूको नै सम्पत्ति बनेको कृति सेतो धर्ती भुजेल समाज, नेपालले जलायो । जलाउने मात्र हैन । तेस्रो संस्करणमा उनले केही संसोधन गरे । संसोधन मात्र हैन पोखराको वृहत प्रदर्शनीमा पुस्तक बिक्रीमा रोक लगाएकोमा चिन्ता व्यक्त गरे । अझ त्यतिले पुगेन २०६९ को पुस २१ गतेको नागरिक दैनिकले पाठक अदालतमा लेखकको बयान भनेर एक पृष्ठ नै खर्च गर्यो । मैले यो सन्दर्भ यस अर्थमा जोड्न खोजको छु । कवि, लेखक... कोही पनि साना ठूला हुँदैनन् । उनलाई कालजयी बनाउने उनका सिर्जनाले हो । यसर्थ उनको एक शेरः
पिँडालु रोपेर आलु, फलाउँछ यो माटो
जातले सार्की कर्मले महरा बनाउन सक्छ । (पृष्ठ ः९)
यसरी कुनै जातजाति उल्लेख गर्नु त्यती राम्रो हैन होला । धोती फुस्केपछि कस्नका लागि आत्तिनु भन्दा फुस्कनु भन्दा पहिला सचेत हुनु बुद्धिमानी हुन्छ । यस्तै शब्द चयनको सन्दर्भमा उनले ख्याल पु¥याउनु पर्ला । आदरार्थी शब्दको प्रयोग गर्ने भनेर विभिन्न कार्यक्रमहरू हुने गरेको । सञ्चार माध्यमले फुक्ने गरेको सन्दर्भमा लङ्गडो, (पृष्ठ ः ५७) लाटो (पृष्ठः ९) जस्ता शब्द चयनमा ख्याल गर्नुपर्ला । नेपाली वाङ्मयको क्षेत्रमा अझ बढी गजल विधामा र सङ्ग्रहहरूमा देखिएका कमजोरी भनेका भाषिक अस्पष्टताका कारण उत्पन्न भएको दुरूहता र अपूर्णता जस्ता कुरा हुन् । कसैले पनि चाहेको हुन्न यस्ता कुरालाई भिœयाउन तर उनीहरू बाध्य बन्ने गर्छन फजलको संरचना गजलमा ढाल्नका लागि । लेखाइसँग सम्बन्ध नै नरहेका असम्बद्ध विषयवस्तुलाई सिर्जनाको लाममा उनेर कुरूपता प्रर्दशन गर्नेहरूको लर्को यहाँ देखिएको छ ।
यो समस्याले जीवनपानीलाई पनि अलि–अलि छोएको छ । आफूलाई फरक देखाउन खोज्नाका कारण । उच्छ्वास, रूवावास, प्रस्वास, समास, बदमास, भट्टमास, दुताबास, स्याबास, दङ्दास, दास, उदास, तस्विर, तक्दिर, उत्तर, अन्तर जस्ता काफिया पुनरावृत्तिको समस्या जीवनपानीका गजलमा देखिएका छन् । उनको पानीमुनीको आकाश एक पटक मात्र अध्ययन गरेर छोड्यो भने त्यसलाई राम्ररी अथ्याउन हम्मेहम्मे पर्ने अवस्था शब्दसङ्कोचले निम्न्त्याएको छ । जुन पङ्क्तिकारले पनि दोहो¥याएर अध्ययन गरेको र भोगेको कुरा हो । पुस्तकको पछिल्लो खण्डमा समावेश भएका गजलहरूको शब्द संयोजनको ढाँचा त्यस्तै प्रकारका रहेका छन् ।
शाब्दिक कठोरता, काफियाहिनता, अनादरता, वजनभङ्गता, बहरहीनता, विक्षेपजस्ता कमजोर पक्षहरू उनको गजल सङ्ग्रहमा देखियता पनि उनका सबल पक्षहरूले ती सम्पूर्ण समस्यालाई लुकाएका छन् । आगामि दिनमा उनका यी भन्दा दमदार गजलको स्वाद चाख्न पाइयोस् यही मेरो कामना !

Post a Comment

 
Top