गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रशासन कार्यालय कैलालीले थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र गौतमलाई सम्मान गरेको छ । मानव बेचविखन विरुद्धमा जिल्लामा सक्रिय भूमिका निर्वाह गरेको भन्दै डा गौतमलाई सम्मान गरिएको हो । बुधबार आयोजित एक कार्यक्रमका बीच कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले निर्देशक डा गौतमलाई सम्मान गरेको थ्रि एन्जल्स नेपालको केन्द्रिय कार्यालय पोखराले जनाएको छ । सम्मान समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले थ्रि एन्जल्स नेपालले महिला तथा बालबालिकाको क्षेत्रमा गरेका कार्यक्रमहरु महत्वपूर्ण रहेको र यसबाट मानव बेचविखनका घटनामा कमी आउन सफल भएकोले डा गौतमलाई समन गरिएको बताए । थ्रि एन्जल्स नेपालले कैलालीमा सामुदायिक भवन निर्माण गरेर बालबालिका हरुलाई लेखपढ गर्ने व्यवस्था गरेको, महिलाहरुलाई विभिन्न सीपमूलक गतिविधि सञ्चालन गर्न सहयोग गरेको बताउँदै उनले डा गौतमलाई आगामी दिनमा अझ सक्रिय रुपमा काम गर्न अनुरोध गरे । सो अवसरमा बोल्दै सम्मानित व्यक्तित्व डा राजेन्द्र गौतमले सम्मानले आफूलाई मानव बेचविखन विरुद्धको कार्यमा लाग्न थप हौसला तथा प्रेरणा मिलेको बताए । सो अवसरमा थ्रि एन्जल्स नेपालका वित्त विभाग प्रमुख डा मदन थापाले थ्रि एन्जल्स नेपालले मानव वेचविखनको विरुद्ध र संरक्षण विहीन बालबालिकाको क्षेत्रमा संचालन गरिएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कैलालीका महिला बालबालबालिका प्रमुख, जिविस प्रतिनिधि, महिला सेलका प्रतिनिधि, थ्रि एन्जल्स नेपालको साझेदार संस्था एसियन एड अर्गनाईजेशनका प्रतिनिधि भेनेसा रेनोल्ड लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन फिल्ड को–अडिनेटर नारयण दवाडीले गरेका थिए ।
Post a Comment