गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिकाको वडा नं. १३ खुदीखोलाको आराधना टोलवासीले आफ्नो क्षेत्रमा मदिरा उत्पादन, विक्री वितरण तथा जुवातास र लागूऔषध प्रयोग मुक्त क्षेत्र घोषणा गरेका छन् । टोलमा बुधबार एक कार्यक्रमको आयोजना गरी टोलबासीले मदिरा उत्पादन, विक्री बितरण तथा जुवातास र लागु औषध प्रयोग मुक्त क्षेत्र घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै नेकपा एमाले लेखनाथ नगरकमिटीका अध्यक्ष मोहनवहादुर गुरुङ्गले सामाजिक विकृती नियन्त्रणका लागि टोलबासीको गरेको क्रियाकलाप प्रशंसनीय रहेको उल्लेख गरे । नेकपा एमाओवादी लेखनाथ नगरसमितिका अध्यक्ष विनय थापाले मदिरा र जुवा नियन्त्रणले सामाजिक अपराध रोक्न टेवा पुग्ने बताए । गगनगौंडा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक उज्वल पौडेलले लागु पदार्थ तथा जुवातास कानूनी रुपमा दण्डित भएको उल्लेख गर्दै, सार्वजनिक अपराध ऐनमा कारवाही हुन सक्ने बताए । टोल विकास संस्थाका अध्यक्ष भूपेन्द्र रानामास्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस वडा इकाई सभापति वडा नं. १३ का शिववहादुर थापामगर, एमाओवादी का अर्जुन मल्ल, जेवि घले, सामुदायिक सेवा केन्द्रका गोविन्द वि.क लगायतले बोलेका थिए । टोलमा २ सय घर धुरी आवद्ध रहेका छन् । साथै टोलबासीले स्थानीय खुदीखोलामा विषादी तथा करेण्ट लगाएर माछा मार्न समेत निषेध गरेका छन् । कार्यक्रमको संचालन टोलविकास संस्थाका सचिव राजु परियारले गरेका थिए ।
Post a Comment