0
गोल्डेन न्यूज संवाददाता
धादिङ–पोखरा सम्पर्क समितिको १२औं वृहत् खुल्ला रक्तदान कार्यक्रम आज शनिबार पोखरामा हुँदैछ । पोखराको सभागृहचोकमा बिहान ७ बजेदेखि हुँदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक समितिका उपाध्यक्ष दिपेन्द्र थपलियाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार कार्यक्रमको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सुपरिटेण्डेन्ट डा.श्रीकृष्ण श्रेष्ठले गर्ने कार्यक्रम छ । रक्तदान कार्यक्रमका लागि धादिङबासीबाट विभिन्न सामाग्री सहयोग प्राप्त भएको संयोजक थपलियाले बताए । पोखराको सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न धादिङ समितिले रक्तदान कार्यक्रम सम्पन्न गर्न समितिका उपाध्यक्ष दिपेन्द्र थपलिया संयोजक, योगप्रसाद सापकोटा सह–संयोजक र भरत सापकोटा, समिर अर्याल, गोकुल नेपाली सदस्य रहेको उपसमिति गठन गरेको थियो । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने भूल नाराका साथ समितिले  हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । यसैबीच समितिद्वारा आयोजित रक्तदान कार्यक्रमको प्रचार गर्दै शुक्रबार पोखरा र लेखनाथमा  माइकिङ्ग गरिएको छ । माइकिङ्गका लागि समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, सह–कोषाध्यक्ष समिर अर्याल, सदस्यहरु बलराम लम्साल, गोकुल नेपाली, रामप्रसाद नेपाल, शम्भु अधिकारी लगायत सहभागी थिए । समितिले रक्तदान कार्यक्रमको साथै धादिङमा शैक्षिक सामाग्री वितरण, विभिन्न समस्यामा परेका धादिङवासीलाई सक्दो मानवीय एवं आर्थिक सहयोग गर्दै आएको छ ।

Post a Comment

 
Top