गोल्डेन न्यूज संवाददाता
कास्कीको भदौरे गाविस वडा नं. ७ स्थित आहालडाँडामा वनस्पति उद्यान निर्माण गरिएको छ । कास्की, स्याङजा र पर्वतको संगमस्थल पर्ने उद्यान करिव २० रोपनी क्षेत्रफलमा फैलिएको छ । दुई हजार १७ मिटर उचाईमा अवस्थित उद्यानमा पश्चासे क्षेत्रमा पाइने अधिकांस प्रजातिका विरुवाहरु हुर्काइने लक्ष्य राखिएको छ । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम (इबीए), को सहयोगमा माछापुच्छ«े विकास संघले उद्यान निर्माण गरेको हो । उद्यानमा हाल २५ प्रजातिका सुनाखरी छन् भने २५ प्रजाति थप्ने योजना रहेको पश्चासे संरक्षित मुल परिषदका अध्यक्ष गोपाल गुरुङले बताए । संसारमा अन्यत्र कतै नपाईने ३ थरीका सुनगाभामा पञ्चासेमा मात्रै पाईन्छ । पश्चासे संरक्षित मूल परिषदका उपाध्यक्ष रामकाजी गुरुङका अनुसार उद्यानको अवधारणा पहिलै ल्याएपनि मूर्तरुप अहिले पाएको जानकारी दिए । उद्यानमा मुख्य १४ वटा प्रजातिहरु रहने छन् । लोपोन्मुख लोठ सल्ला, लेक चाँप पनि उद्यानमा रहनेछन् । भालुको मुख्य खाना खस्रु पनि यहाँ रहनेछ । यो दाउँरा घाँसको लागि पनि उपयोग गर्न सकिने छ । छत्रे उन्यू, धुपी रक्चन, लालिगुराँस, खस्रु निगालो, लेकचाँप पनि रहने छ । जैविक विविधताले धनी यस क्षेत्रलाई विद्यार्थी र पर्यटकहरुका लागि खुला विश्व विद्यालयको रुपमा विकास गर्न सकिने पञ्चासे संरक्षति वन कार्यक्रमका प्रवन्धक सञ्जय तिवारीले बताए । माछापुच्छ«े विकास संघका अध्यक्ष अर्जुन कुमार पौडेलले यस क्षेत्रमा पहिलो पटक शुरुवात गरिएको उद्यानले जैविक विविधतासँग सम्वन्धित विद्यार्थीहरुलाई अध्ययनमा समेत टेवा पुग्ने उल्लेख गरे । हाल उद्यानलाई पर्खाल लगाएर संरक्षण गरिएको छ । दुई वर्षदेखि यस क्षेत्रमा सञ्चालित पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम (इबीए) का फिल्ड अफिसर रधधिर सिंहले थप विरुवाहरु रोपेर संरक्षणमा समेत सहयोग गर्ने बताए । करिब ५५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको पन्चासे क्षेत्रमा १२ प्रकारका बनजंगल, ५८९ प्रजातीका फूल फुल्ने बनस्पतीहरु, १५० थरीका औषधीजन्य जडीबुटीहरु पाइन्छन । साथै ८ थरीका रेसादार बनस्पति हरु, १८ थरीका पुष्प ब्यवसायजन्य बनस्पतिहरु, ५६ थरीका जंगली च्याउहरु, ९८ थरीका उन्यू र ११३ किसिमका सुनगाभा पाइन्छन् ।
Post a Comment