0
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले गत वर्षबाट थालेको सामाजिक परीक्षणको प्रभाव पहिलो वर्षमै सकारात्मक पाइएको छ । गत वर्ष सामाजिक परीक्षणपछि तयार गरिएको कार्ययोजनाको कार्यान्वयन भएको र सेवाको प्रभावकारिता पनि बढेको सरोकारवालाले बताएका छन् । गत वर्ष कास्कीका आठवटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरिएको थियो । यो वर्ष तीसहित थप पाँचवटा संस्था परीक्षणको सूचीमा परेका छन् । नेपाल समता फाउण्डेसन कास्कीको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा  बिहीबार देउराली र कास्कीकोटमा सामाजिक परीक्षण आमभेला सम्पन्न भएको छ । देउरालीमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले सरकारी संस्थाबाट भएका काम र सेवा प्रवाहको लेखाजोखा गरी सुधार गर्न सामाजिक परीक्षण महत्वपूर्ण रहेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका  लेखा अधिकृत एकनारायण शर्माले जनताले चाहेका सबै सेवा गाउँमा उपलब्ध गराउन नसकिएको बताए । यो वर्ष स्वास्थ्य सेवा विभागले औषधी खरिद नगरेका कारण केही समस्या आएको उनको भनाइ थियो । समता फाउण्डेसनका सचिव भरत कोइरालाले सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा देउराली स्वास्थ्य चौकी प्रमुख आनन्दलाल जोशीले आफूहरुले सकेसम्म नागरिकलाई सेवा दिएको बताए । स्वास्थ्य संस्था व्यवस्थापन समिति अध्यक्ष एबं गाविस सचिव स्थानेश्वर ढुंगानाले आगामी आवमा गाविसले पाँचवटा स्टेचर किनिदिने प्रतिबद्धता जनाए । बिरामीलाई चाहिने ह्लिचियर पनि उपलब्ध गराउने जानकारी दिंदै उनले घरमा सुत्केरी हुने क्रम रोक्न गाविसले घरबाट स्वास्थ्य संस्थासम्म आउन लागि एम्बुलेन्स खर्च बेहोरिदिने बताए । भेलामा स्थानीय बासिन्दा तथा महिला स्वास्थ्य स्वयं सेविकाले गाउँघर क्लिनिक र खोप केन्द्र संचालनका लागि असहज भएको औषधि पर्याप्त नभएको बताएका थिए ।यसैगरी बिहीबारै कास्कीकोटमा सम्पन्न सामाजिक परीक्षण आम भेलाका सहभागीले कास्कीकोट उपस्वास्थ्य चौकीको स्तरोन्नती भएपछि सोही अनुसार कर्मचारी व्यवस्था हुनुपर्ने बताए । भवन निर्माणका लागि जग्गा प्राप्त भइसकेकाले अब छिटै काम थाल्न पनि उनीहरुले आग्रह गरे । अहिले बस्ती तल्लो  भेगमा सरेको र स्वास्थ्य संस्था माथिल्लो भेगमा भएकाले समस्या परेको गुनासो सहभागीले गरेका थिए । समता फाउण्डेसनका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरत कोइरालाले सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top