गोल्डेन न्यूज संवाददाता
पोखरामा सम्पन्न दोस्रो आरएमसी पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधि अनिल शाहीले हात पारेका छन् । स्काइ माउण्ट टेनिस क्लबको आयोजनामा शनिबार भएको एकलतर्फको फाइनलमा विकास गुरुङलाई ६–१ र ७–६ को सोझो सेटमा पराजित गर्दै अनिल शाहीले उपाधि हात पारेका हुन् । उपाधिसँगै अनिलले नगद १० हजार, ट्रफी पाए भने विकासले नगद पाँच हजार र ट्रफी पाए । पहिलो सेट सजिलै हात पारेका अनिल दोस्रो सेटको सुरुवातमा भने केही पछाडि परेका थिए । कुनै समय ३–० ले पछि परेका अनिलले उत्कृष्ट पुनरागमन गर्दै खेललाई ६–६ को बराबरीमा ल्याए । सुपरटाइमा पनि ३–० ले अगाडि रहेका विकास विरुद्ध उत्कृष्ट पुनरामगन गर्दै अनिलले खेल ७–६ ले जिते । यसअघि अनिल शाहीले पोखरामा भएका प्रतियोगिताका विभिन्न ११ वटा टाइटल जितिसकेका छन् । अनिल पोखराको शीर्ष वरियता प्राप्त खेलाडी हुन् । जुनियरतर्फ मेन्स सिंगल्सको उपाधि प्रदीप खड्काले हात पारे । धर्मस्थली मावि पस्र्याङमा कक्षा १० मा अध्ययन गर्ने खड्काले फाइनलमा लोक गुरुङलाई ६–७, ६–१ र १०–६ ले पराजित गरेका हुन् । प्रतियोगिताअन्तर्गत सिनियरतर्फ मेन्स डबल्सको उपाधि शक्ति शर्मा र शरण गुरुङको जोडीले जितेको छ । फाइनलमा सो जोडीले धरमसिंह लामिछाने र गोपीबहादुर भट्टराईको जोडीलाई ६–४ र ६–२ को सेटमा हराएको हो । जुनियरतर्फको मेन्स डबलको उपाधि पनि शरणले नवीन श्रेष्ठको जोडीले नै जितेको छ । शरण र नवीनको जोडीले पृथ्वीमान गुरुङ र प्रदीप खड्काको जोडीलाई ६–३, ३–६ र १०–५ को सेटमा पराजित गरेको थियो । अन्य इभेण्टका विजेताले नगद पाँच हजार र उपविजेताले तीन हजार, ट्रफी पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा नवीन पुनमगर राइजिङ प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ट्रफीसहित नगद ६ हजार रुपैयाँ प्राप्त गरे ।विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख प्रायोजक पोखरा एभरेष्ट ट्रेड एण्ड हाउजिङ प्रालिका अध्यक्ष नारायण गुरुङ, सदस्य अर्जुन थपा, तिलक गुरुङ, बमबहादुर गुरुङ, कास्की जिल्ला लनटेनिस सङ्घका अध्यक्ष विनोद कायस्थ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमसिंह लामिछाने, समीर शेरचन, राजु श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
Post a Comment