गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले गोरखाको आले गाउँमा भूकम्प पीडितहरुलाई राहत स्वरुप खाद्यान्न, लत्ताकपडा, जस्तापाता वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्की र लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको संयोजनमा १५ बण्डल (१ सय ८० थान) जस्तापाता वितरण गरिएको हो । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले कलाकारहरु गीत संगीत प्रस्तुत गरेर गुजारा चलाउने भएकोले भूकम्प पीडितलाई ठूलो आर्थिक, भौतिक सहयोग गर्न नसकेको बताए । उनले कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्रि पंगेनीले भूकम्प प्रभावितको पिडालाई कलाकारहरुले गीत संगीतको माध्यमबाट मनोरञ्जन दिलाएर कम गर्ने बताए । दोहोरी गीत प्रतिष्ठान गण्डकीको सानो प्रयास मात्र भएको, ठुलो राहत नभएको उल्लेख गर्दै पंगेनिले भूकम्प पीडितको दुःखमा दुःख मिसाएको विचार व्यक्त गरे । उनले कलाकारहरु भूकम्प पीडितको घर बनाउनको लागि श्रम दान गर्न तयार रहेको बताए । प्रतिष्ठानका संरक्षक प्राजापति पराजुलीले विपत्तिमा नआत्तिएर धैर्यका साथ सामना गर्नु पर्ने बताए । प्रतिष्ठानको अभियानलाई ओम फाउन्डेशन, पवित्र पौडेल लगायतले सहयोग गरेका थिए । कार्यक्रममा भूकम्प पीडित गोरखाका दोहोरी गायक रमेश श्रेष्ठ र माधव बाबु श्रेष्ठलाई १०÷१० प्रति जस्तापाता र खाद्यान्न समेत वितरण गरिएको थियो । प्रतिष्ठानका गण्डकी अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश बि.जी., सचिव शिरिष देवकोटा, केन्द्रीय सदस्यहरु चोलेन्द्र पौडेल, तारापति सुवेदी, गण्डकी उपाध्याक्ष शंकर विरही गुरुङ, महासचिव घनश्याम रिजाल, सचिव तथा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपकोषाध्यक्ष सुरेन्द्र गुरुङ, कास्कीका सचिव रामजी पौडेल, सिटी रेवानका महासचिव तथा दोहोरी गीत प्रतिष्ठानका आजीवन सदस्य दिपक तिमील्सीना, दोहोरी गीत प्रतिष्ठान गोरखाका अध्यक्ष शिव केसी, स्थानिय समाजसेवी कृष्ण केसी लगायतले राहत सामाग्री वितरण गरेका थिए । कार्यक्रममा प्रजापति पराजुली, बद्री पंगेनी चोलेन्द्र पौडेल, तारापति सुवेदीले भूकम्प पीडितको दुःखेको मन हसाउन तथा पुरानै अवस्थामा फर्काउन गीत प्रस्तुत गरेका थिए ।
Post a Comment