गोल्डेन न्यूज संवाददाता
पर्यटन व्यवसायीले भूकम्पले पर्यटन क्षेत्रमा निकै नै असर परेको भन्दै यसलाई उकास्नका लागि सरकारी सहयोगको माग गरेका छन् । भूकम्पपछि पोखराका पर्यटन क्षेत्र खस्केकोले यसलाई उकास्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने व्यवसायीको भनाई छ । भूकम्पपछि शून्यमा झरेको पर्यटन क्षेत्र उभो लगाउन प्रवद्र्धनमा जोड दिन व्यवसायीले विशेष आग्रह गरेका छन् । सरकारी सहयोग नपाएसम्म पोखराको पर्यटन क्षेत्र उकास्न मुस्किल रहेको उनीहरुको भनाई छ । पोखराका पर्यटन व्यवसायी सम्मिलित पोखरा पर्यटन पुर्नजागरण समिति (पिटिआरसी) टोलीले आइतबार राजधानीमा अर्थ र पर्यटन मन्त्रीलाइ भेटेर पर्यटन क्षेत्र उकास्न सरकारी सहयोग चाहिएको बताए । व्यवसायीले पर्यटनमन्त्री कृपाशुर शेर्पालाइ भेटेर पोखराको मात्र नभइ समग्र नेपालको पर्यटन प्रवद्र्धनमा सरकारले सघाउनुपर्ने माग राखेका थिए । त्यस्तै अर्थमन्त्री रामशरण महतसमक्ष बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ऋणको भाका सारिदिन आग्रह गरेका थिए । भूकम्प पछि पाहुना अभाव हुँदा पर्यटन क्षेत्रले दैनिक खर्च चलाउन नसक्ने अवस्था आएको र त्यसले गर्दा वित्तीय संस्थालाई तिर्नुपर्ने ऋणको ब्याज र किस्ता समेत बुझाउन नसक्ने अवस्था आएको व्यवसायीले मन्त्रीहरुसमक्ष गुनासो पोखेका थिए । टीममा सहभागी पिटिआरसीका संचार संयोजक टिकाराम सापकोटाले पर्यटन मन्त्री शेर्पासमक्ष भूकम्पले पर्यटन क्षेत्रमा पारेको क्षति र त्यसपछि आइपरेको अप्ठेरोबारेमा जानकारी गराएका थिए । भूकम्पपछि पोखरामा रहेका सबै विदेशी पर्यटक स्वदेश फर्केको र आउने तयारीमा रहेका पाहुनाले भ्रमण रद्ध गर्दा आर्थिक क्षेत्र धराशायी बनेको मन्त्री शेर्पा समक्ष गुनासो पोखेको सापकोटाले बताए । भौतिक रुपमा पोखराले भूकम्पबाट क्षति नभोगेपनि पर्यटकविहीन भएर बस्नुपर्दा आर्थिक क्षति भोग्नुपरेको व्यवसायीले मन्त्रीहरुसमक्ष गुनासो पोखेका थिए । पोखरा मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने माग राखेको सापकोटाले बताए ।व्यवसायीले विभिन्न मुलुकका पर्यटन प्रवद्र्धनमा जानका लागि सरकारले आर्थिक सहयोग गर्नुपर्ने, विभिन्न मुलुकमा कार्यक्रम गर्न जाँदा संयोजन गरिदिनुपर्ने लगायतका माग राखेका थिए । त्यस्तै नेपाल आउने विदेशी पर्यटकको संख्या बढाउन भिषा र पदयात्रामा जाँदा लाग्ने शुल्कमा पनि छुट दिन सरकारसँग आग्रह गरेको उनले बताए । टीममा सापकोटा सहित पिटिआरसी सह–संयोजक विश्व पालिखे, पोखरा पर्यटन परिषद अध्यक्ष सोम थापा, पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली, नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) अध्यक्ष पोमनारायण श्रेष्ठ र रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) अध्यक्ष गोपी भट्टराई रहेका छन् । व्यवसायीले अहिले पोखरामा पाहुना शून्य हुनुमा पोखरामा बनाउने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नबन्दा समस्या भएकोले विमानस्थल बनाउने कामलाई प्राथमिकतामा राख्न व्यवसायीले आग्रह गरेका थिए । व्यवसायीले आइतबारै अर्थमन्त्री महत समक्ष पर्यटन क्षेत्रले बैक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने बैंकको ब्याज र किस्ताको समय बढाइदिन आग्रह गरेका थिए । पाहुना अभावमा पर्यटन व्यवायीको आम्दानी घटेकोले बैंकलाई तिर्नुपर्ने ऋणमा समेत समस्या भएको व्यवसायीले अर्थमन्त्री महत समक्ष गुनासो पोखेका थिए । व्यवसायीले अर्थमन्त्री महतलाई मुख्य रुपमा बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ऋण र ब्याजको भाका अवधि बढाइदिन आग्रह गरेका थिए । ६ महिना पछिसम्म तिर्नसक्ने गरि ब्याजको भाका बढाइदिने हो भने नोक्सानमा रहेको पर्यटन क्षेत्रलाई राहत पुग्ने व्यवसायीको भनाई छ । व्यवसायीको आग्रहपछि अर्थमन्त्री महतले नेपाल राष्ट्रबैंकका गर्भनरसँग सल्लाह गरेर अघि बढ्ने आश्वासन दिएका थिए । व्यवसायीले सोमबार प्रधानमन्त्री र राष्ट्रबैंकका गर्भनरलाई भेट्ने कार्यक्रम रहेको छ ।
Post a Comment