गोल्डेन न्यूज संवाददाता
सरकार, बैंक तथा विभिन्न निकायसंग सहयोग माग्दै आएका पोखराका पर्यटन व्यवसायी सहयोग माग्नेक्रमलाई जारी राखेका छन् । नेपालमा हालै आएको महाभूकम्पका कारण आफूहरुको व्यवसायमा असर परेको भन्दै मुख्यगरी पोखराका पर्यटन व्यवसायीले महिनादिनदेखि सहयोग माग्दै आएका थिए । व्यवसायीले नेपालस्थित भारतीय दूतावास पदाधिकारीसँग समेत भारतीय पर्यटकलाई पोखरा घुम्न आउनेगरि सघाउन आग्रह गरे । नेपालको पर्यटनको ठूलो हिस्सा भारतीय पर्यटकले ओगटेकोले त्यसमा सघाउन व्यवसायीको आग्रह गरेका हुन् । पोखरा पर्यटन पूनःजागरण समिति (पिटिआरसी) का पदाधिकारीले मंगलबार नेपालस्थित भारतीय दूतावासका कमर्सियल कन्सुलर आशिष सिन्हालाई भेटेर भारतीय पर्यटकलाई नेपाल आउने वातावरण बनाइदिन आग्रह गरेका थिए । भारतीय पर्यटकको सिजन भएपनि भूकम्पका कारण आउन डराएकोले आगमनमा सघाउन व्यवसायीले आग्रह गरे । पिटिआरसीका सह–संयोजक विश्वशंकर पालिखेका अनुसार सिन्हाले भारतीय पर्यटक लाई नेपाल भित्र्याउन सक्दो पहल गर्ने वचन दिएका छन् । ‘भारतीय दूतावासले नेपाल नआउनु भनेर ट्राभल एडभाईजरीमा उल्लेख गरेको छैन । सचेतना अपनाउनु मात्र भनेका हौं’ सिन्हाको भनाई उल्लेख गर्दै पालिखेले भने,–‘हामीले आउन नहुने भनेका छैनौं । भूकम्प आइरहेकोले सचेत मात्र गराएका हौं ।’ पोखराका पर्यटन व्यवसायीले भूकम्पपछि पर्यटक आगमन घटेको भन्दै प्रवद्र्धनात्मक र कुटनीतिक भेटघाट गरेकोमा दूतावास पदाधिकारीले खुसी व्यक्त गरे । ‘पर्यटन प्रर्वद्धनका लागि व्यसायीले सहि कार्यक्रम गरेका छन् । भारतीय शहरमा पुगेर प्रवद्र्धन गर्नु पनि जरुरी छ’ सिन्हाको भनाइ उद्घृत गर्दै पालिखेले भने । पिटिआरसी संचार संयोजक टिकाराम सापकोटाले विभिन्न भारतीय संचारमाध्यमलाई पनि नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्नका लागि दूतावासले भूमिका निभाउन आग्रह गरेको बताए । उनले भारतीय संचारकर्मीलाई पोखरा ल्याएर यहाँको सकारात्मक सन्देश प्रवाह गर्ने तयारी भएकोले त्यसमा सघाउन दुतावातसँग आग्रह गरेका थिए । ‘यतिबेला संचार माध्यमको भूमिका छ । पोखरामा भारतीय पर्यटक आगमन बढाउँन त्यहाँका संचारमाध्यमलाई पोखरा ल्याउने तयारी पनि छ’ उनले भने,–‘त्यसो भयो भने बल्ल पोखरामा भारतीय पर्यटक भित्र्याउन सकिन्छ ।’ गर्मी छल्न र मुक्तिनाथ दर्शन गर्नका लागि पोखरामा वर्षेनी हजारौं भारतीय पर्यटक आउँछन् । यतिबेला भारतीय पर्यटकको पोखरा आउने सिजन भएपनि भूकम्पबाट त्रसित भएर आउन डराएको व्यवसायीले बताए । टीममा सहभागी नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा गर्मी छल्ने ठाउँको रुपमा रहेपनि भूकम्पबाट तर्सिएर भारतबाट आउने तयारीमा रहेका पर्यटक उतै रोकिएको बताए । उनले पोखरा र आसपासका क्षेत्र सुरक्षित हुँदाहुँदै पनि संचारमाध्यमबाट फैलिएको गलत संदेशका कारण पर्यटक आउन डराएको बताए । भारतीयका अनुसार यतिबेला पोखरा र सिंगो नेपालबारे भारतमा नकारात्मक सन्देश प्रवाह भएको छ ।
Post a Comment