गोल्डेन न्यूज संवाददाता
राष्ट्रपति रामवरण यादवले राज्यका तीन प्रमुख अंगहरूबीच उचित तालमेल र सम्मानसहित संविधान निर्माण प्रक्रियालाई गति दिन शनिबार आग्रह गरेका छन् । प्रमुख विपक्षी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा यादवले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिप्रति समेत चासो प्रकट गरेका हुन् । सर्वोच्च अदालतबाट शुक्रबार जारी अन्तरिम आदेशले संविधान निर्माणलाई के–कस्तो प्रभाव पुर्रुयाउँछ भन्ने विषयमा समेत राष्ट्रपतिले जिज्ञासा राखेका थिए । सर्वोच्चको आदेशलाई असहमति जनाएका दलहरूले संविधान निर्माण प्रक्रिया भने जारी राखेका छन् । १६ बुँदेलाई कार्यान्वयन गर्ने विषयमा शनिबार पनि कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वमा रहेको मस्यौदा समिति अन्तर्गतको कार्यदल बैठक बसेको थियो । ‘अदालतको आदेशमा हाम्रो सहमति छैन,’ आफूले राष्ट्रपति यादवलाई दिएको जवाफ उल्लेख गर्दै दाहालले संवाददाताहरूसँग भने, ‘तर अदालतको सम्मानमाथि आँच आउने काम हुन दिन्नौं । आदेश त्रुटिपूर्ण भएकाले सच्याउन पुनरावेदन दिन जान्छौं ।’ अघिल्लो दिन सर्वोच्चका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले प्रमुख ४ दलले गरेको १६ बुँदे सहमति अन्तरिम संविधानविपरीत भएकाले तत्काल कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश जारी गरेको थियो । असारभित्रै नयाँ संविधानको खाका सार्वजनिक गर्ने तयारी भइरहँदा यस्तो आदेश भएकाले दलहरू त्यसलाई बदर गर्न सर्वोच्चमा जाने भएका हुन् । यस्तो बेला राज्यका अंगहरूबीच पर्याप्त समन्वय हुनुपर्ने भन्दै राष्ट्रपति यादवले अदालतको आदेशपछि द्वन्द्वको अवस्था आउन नदिन दलका नेताहरू सजग हुनुपर्ने सुझाव पनि दिएका थिए । ‘राज्यका अंगहरू बीच आपसी द्वन्द्वको अवस्था नआओस् भन्नेमा राष्ट्रपतिको चिन्ता र चासो थियो, त्यो ठिकै पनि हो,’ दाहालले भने, ‘हामी पनि त्यस्तो अवस्था आउन दिन्नौं ।’
Post a Comment