0
नेपाली काँग्रेसले भूकम्पबाट घर क्षतिग्रस्त भएका तीन हजार १५० परिवारका लागि अस्थायी संरचना बनाई हस्तान्तरण गरेको छ । यी संरचना पार्टीले स्वयंसेवक परिचालन गरी निर्माण गरेको हो । गत जेठ ६ गते बसेको काँग्रेस पदाधिकारी बैठकले भूकम्प प्रभावित जिल्लामा श्रमदानका लागि स्वयम्सेवक खटाउने निर्णय गरेको थियो । निर्णयअनुसार प्रभावित २२ जिल्लामा १५ हजार स्वयम्सेवक भत्किएका अस्थायी संरचना निर्माण र राहत एवम् उद्धारमा खटिएका थिए । भत्किएको एक हजार १२५ घरको धराप संरचना हटाइएको प्रवक्ता दीलेन्द्रप्रसाद बडूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “ध्वस्त भएका विद्यालयमा एक हजार ८५ कक्षा कोठा निर्माण गरिएको छ, यस क्रममा १० सामुदायिक भवन र एक मन्दिरको अस्थायी संरचना बनाएका छौँ, धेरै जिल्लामा अझै स्वयम्सेवक काम गरिरहेका छन्”–उनले भने । पूर्ण विवरण सबै जिल्लाका स्वयम्सेवक काम पूरा गरी आएपछि सार्वजनिक गरिने छ । श्रमदानमा झापादेखि कन्चनपुरसम्मका तराइ जिल्लाबाट पार्टी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका नेता, कार्यकर्ता भूकम्प प्रभावित पहाडी र हिमाली जिल्लामा खटिएका थिए । तराइका नेता कार्यकर्ता पहाड र हिमालमा स्वयम्सेवामा खटिँदा जनता बीचमा एकता र सद्भाव बढाउन मद्दत गरेको र यसले राष्ट्रिय एकतामा पनि सहयोग पुगेको काँग्रेसले जनाएको छ । यसका अतिरिक्त पार्टीका नेता र कार्यकर्ताले व्यक्तिगतरूपमा निर्माण गरेका अस्थायी संरचना र राहत विवरण यसमा समावेश नगरिएको प्रवक्ता बडूले जानकारी दिए ।     भूकम्प प्रतिरोधक, सुरक्षित, सुन्दर, एकत्रित र सुविधा सम्पन्न बस्ती निर्माणका निमित्त प्रथम चरणमा प्रभावित जिल्लामा र त्यसपछि क्रमशः देशभरि ‘कस्ता बस्ती कस्ता घर’ कार्यक्रम सञ्चालन गर्न काँग्रेसले माग गरेको छ । यसका लागि पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानबाट योजनासहित विज्ञ एवम् नेता कार्यकर्ताबीचमा अन्तक्र्रिया गरी नेपाल सरकारलाई सुझाव प्रस्तुत गरिएको उनले बताए ।  केन्द्रीय कार्यसमितिको वैशाख १४ गतेको निर्णयअनुसार नेपाली काँग्रेस भूकम्पपीडित सहयोग कोषको नामबाट राष्टिूय वाणिज्य बैंक सिंहदरबार शाखामा खोलिएको खाता नं ११३०००३ ७६३०१ मा हालसम्म रु एक करोड ६४  लाख ३९ हजार ९२९ विभिन्न सङ्घ संस्था र व्यक्तिबाट जम्मा भएको काँग्रेसले जनाएको छ । रासस

Post a Comment

 
Top