गोल्डेन न्यूज संवाददाता
नेपालमा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक सचेतना आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ट्राफिक नियम पालना गर्ने हो भने मात्रै दुर्घटनामा धेरै कमि आउने भन्दै उनीहरुले सडक दुर्घटनाबाट बच्न सडक प्रयोगकर्ता, सवारीे चालक र यात्रुहरु बढी सचेत र संवेदनशील हुनुपर्नेमा जोड दिए । नेपाल रेडक्रस सोसाईटी कास्की शाखा अन्र्तगत प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत पोखरामा आयोजित समुदायस्तरीय प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धी ४ दिने तालिमको उद्घाटनका अवसरमा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि रेडक्रस कास्कीका उप–सभापति डोलराज पाण्डेले नेपालमा दैनिक रुपमा बढ्दो दुर्घटनाले दैनिक ६ जना व्यक्तिको ज्यान गइरहेको बताउँदै न्युनिकरण र घाइतेको उपचारका लागि समुदाय स्तरबाटै पहल गर्न तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे । उनले नेपालमा सडक दर्घटनाबाट १५ देखि २९ वर्ष उमेरका युवा–युवतीहरुको बढि मृत्यु तथा घाइते हुने गरेको जानकारी दिए ।नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाका कार्यक्रम अधिकृत टिकाराज पौडेलले तालिमहरुबाट विभिन्न घटनाबाट हुन सक्ने मानवीय क्षतिको न्युनिकरणको लागि समुदायस्तरबाट पहल हुने बताए । कास्कीको कोत्रेदेखि लुम्लेको नयाँपुल सम्म अत्याधिक दुर्घटना हुने क्षेत्रलाई ध्यान दिएर दुर्घटना न्युनिकरण र घाइतेको उपचारका लागि सामुदायिकस्तरीय तालिम प्रदान भइरहेको फिल्ड को–अर्डिनेटर प्रतिभा सापकटाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी पोखरा १०,११ उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा शाखाका कोषाध्यक्ष सीता तिमिल्सिनाले स्वागत गरेका थिए । चार दिने तालिममा कृष्ण तिमिल्सना, रेखा ढकाल, देव नारायण पौडेल, मोहन सिहं खड्का र शुक्रराज सुवेदी लगायतले सहजिकरण गर्नेछन् । २४ जना प्रशिक्षार्थीको सहभागी तालिममा नेपाल रेडक्रस सोसाईटी १०, ११ उपशाखाले संयोजन गरेको हो ।
Post a Comment