गोल्डेन न्यूज संवाददाता
कास्कीको पामे र चापाकोट गाविस जोड्ने गरी फेवा खोलामा पक्की पुल निर्माण हुने भएको छ । करिब ५ करोड रुपैयाँको लागतमा कात्रेमा मोटरेवल पुल निर्माण हुन लागेको हो । यसअघि बैदाम पामे– ठूलोखत–घाटिछिना सडक पुल विना नै संचालन हुँदै आएको छ । यो पुल निर्माण पछि चापाकोट र पामे गाविसको बीच भागलाई नै सीधा सडकले छुनेछ । पुल निर्माण हुने भएपछि स्थानीयबासिन्दा पनि खुशी भएका छन् । पुल निर्माण पछि सडकले गाउँलाई सीधा जोड्ने र स्थानीयले निकै राहत पाउने जिविसले जनाएको छ । पुल निर्माणका लागि टेण्डर आह्वान समेत भैसकेको छ । आगामी असार ११ गते टेण्डर खुल्ने र ठेक्का सम्झौता हुने जिल्ला प्राविधिक कार्यालय कास्कीका ईञ्जिनियर राजु रेग्मीले जानकारी दिए । स्थानीय स्तरका सडक पुल तथा ग्रामिण पहुँच सुधार कार्यक्रम मार्फत पुल निर्माण गरिने रेग्मीले बताए । यो सँगै अहिले कास्कीमा २ वटा पुल निर्माणका लागि टेण्डर प्रक्रिया सुरु भएको छ । शिशुवा–पोल्याङ्गटार सडकखण्ड अन्तर्गतको आपुखोलाको पुल पनि यसैबर्ष टेण्डर निकालेर काम सुरु गर्ने तयारी गरिएको छ । यसको पनि टेण्डर प्रक्रिया सुरु भैसकेको छ । एसएनआरटिपी कार्यक्रम मार्फत यहाँ पुल निर्माण गर्न लागिएको कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । कास्कीमा यसअघि सञ्चालित आरएआईडिपी परियोजना सकिएर यो बर्षदेखि दोश्रो चरणको एसएनआरटिपी कार्यक्रम लागू भएको हो । यो पुल निर्माणका लागि पनि पहिले नै छनौट गरेर केन्द्रमा पठाएका थियौं, उनले भने—अब बुटवलको कार्यालयले नो अव्जेक्सन लेटर पठाएपछि टेण्डर प्रक्रिया सुरु गर्छौं । यी २ वटै पुल १ बर्ष वा १२ महिनाभित्र सक्नुपर्ने जिविसले जनाएको छ । पुल निर्माण सकिएपछि यातायातका साथै त्यस क्षेत्रको उत्पादनले सहज रुपमा बजार पाउने स्थानीयले बताएका छन् । यहाँका स्थानीयले बर्षौँअघिदेखि पुल निर्माणको माग गर्दै आएका थिए । पुल निर्माण नहुँदा नियमित यातायातका साधन संचालन हुन सकेको थिएन भने विकास निर्माणको काममा समेत प्रभाव परेको थियो । अर्कोबर्ष पनि हेमजा—समिबगर—लुम्रे सडक खण्डमा पर्ने इदीखोलाको पुल निर्माण गर्ने तयारी भएको छ ।
Post a Comment