0
गोल्डेन न्यूज संवाददाता
पोखरामा आज असारे रोपाइँ महोत्सव हुँदैछ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने उद्देश्यले रोपाइँ महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको महोत्सवको यो १२ औं संस्करण हो । पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको परिषद अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए । परिषद्ले यस वर्ष पोखरा उपमहानगरपालिका–१७, बिरौटाफाँटमा महोत्सव आयोजना गरेको हो । बिरौटा क्लबको स्थानीय व्यवस्थापनमा महोत्सव हुन लागेको हो । महोत्सवलाई पर्यटन बोर्ड र पोखरा उद्योग वाणिज्य संघले प्रवद्र्धन गर्नेछन् । स्थानीय कृषक शमसेरबहादुर पौडेलको ११ रोपनी क्षेत्रफल खेतमा महोत्सव हुने मूल संयोजक महेन्द्र श्रेष्ठले जानकारी दिए दिए । ‘पोखरा बजारभित्रै महोत्सव आयोजना गरेकाले यस वर्ष दर्शकको अत्याधिक भिड लाग्ने अनुमान गरिएको छ,’ संयोजक श्रेष्ठले भने । चारहल गोरुले जोतेको खेतमा हिलो छ्यापाछ्याप गर्दै रोपाइ गरिनेछ । ‘मानो रोपेर मुरी फलाउने’ र धान दिवसको रुपमा पनि असार १५ ले विशेष महत्व पाउँदै आएको छ । पर्यटन क्षेत्रमा यतिबेला अफसिजन हुने भएकोले पाहुनाको आकर्षण बढाउन परिषदले महोत्सव गर्दै आएको छ । महोत्सवको एक समारोहबीच नेपाल सरकारका सूचना तथा संचारमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा सहभागी हुन मन्त्री रिजाल मंगलबार बिहान पोखरा आउने भएका छन् । मन्त्री रिजाल रोपाइँ महोत्सवका साथै अन्य केही कार्यक्रममा समेत सहभागी हुनेछन् ।  ‘असार १५ नेपालको पर्यटन प्रवद्र्धनका लागि विशेष दिन बन्दै आइरहेको भएपनि अहिले भूकम्पका कारण विषम परिस्थिति देखिएको छ,’ पर्यटन परिषद्का अध्यक्ष थापाले गोल्डेन न्यूज दैनिकसंग भने,–‘महाभूकम्प पछि सुस्त अवस्थामा रहेको पर्यटकीय गतिविधिमा जागरुता ल्याउन पनि महोत्सव सफल हुनेछ ।’  महोत्सव शुरु हुन भन्दा अगाडि पञ्चे बाजासहित निकालिने सांस्कृतिक ¥यालीले पोखरा परिक्रमा गर्ने बिरौटा क्लबका अध्यक्ष सूर्यप्रसाद बरालले बताए । हरेक वर्ष फरक ठाउँमा हुँदै आएको महोत्सवले नेपालमा विदेशी र आन्तरिक पाहुना तान्न सफल भएपनि भूकम्पछिको अहिलेको अवस्थामा विदेशी पर्यटक कम हुने परिषद्ले जनाएको छ । करिब एकसयजना विदेशी पर्यटक मात्र सहभागि हुने परिषद्को अनुमान छ । बढिभन्दा बढि विदेशी भित्रयाउन नेपालस्थित विभिन्न राजदूतावास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाका विदेशी प्रतिनिधिलाई सहभागि गराउने प्रयास भइरहेको थापाले बताए । महोत्सवमा विदेशी पर्यटक सीमित संख्यामा उपस्थिति हुने भएपनि आन्तरिक पर्यटकको निकै भिड लाग्ने आयोजकको विश्वास छ । महोत्सवमा हिलो खेल्दै धान रोप्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटकले पनि खेतालाको भूमिकामा रमाउन सक्ने परिषद्का महासचिव रामु गौतमले बताए । महोत्सवमा साउने प्रतियोगिता, असारे गीतसँगै रोपाई, विदेशी र नेपाली सहित विभिन्न समूहको रस्साकस्सी, माछा समाउने, हिलो दौडलगायतका प्रतियोगिता समावेश गरिएको उनले जानकारी दिए ।

Post a Comment

 
Top