0
गोल्डेन न्यूज संवाददाता
तमु समाज युकेका उपाध्यक्ष शिवचन्द्र गुरुङ्गलाई खादा, टिका, सम्मानपत्र र मायाको चिनो प्रदान गरी पोखराबाट बिदाई गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को आयोजनामा भुकम्पमा परी घरबार गुमाएका परिवारलाई राहत वितरण गर्न उपशाखासँग समन्वय गरी तमु समाज युकेले बेलायतबाट पठाएको १५ लाख बराबरको राहत सामाग्री वितरण कार्य सम्पन्न गरेकोमा उपशाखा १०, ११ ले उनलाई विदाई गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मानवअधिकारकर्मी उपशाखा १०, ११ का विशिष्ट सदस्य समाजसेवी लेखबहादुर थापाले सम्मानपत्र हस्तान्तरण गर्दै उपशाखा १०, ११ लाई युकेदेखि तमु समाज युकेले राहत वितरण गर्न साझेदारी गरी ३ जिल्लामा रहेका पीडितहरुको केही समस्या हल गराउन कोशिस गरी आफ्नै हात र आफै पीडितसम्म पुगी सहयोग प्रदान गरेकोमा आउँदा दिनमा समेत सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा तमु समाज युकेलाई उपशाखा १०, ११ को तर्फबाट सम्मानपत्रका साथ मायाको चिनो, कार्यक्रमको फोटो र उपशाखा १०, ११ को भवन निर्माणमा थप सहयोगको लागि अनुरोध पत्र समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा तमु समाज युकेका उपाध्यक्ष शिवचन्द्र गुरुङ्ग, आर्वा विजय उपशाखाका सभापति मुक्तिनाथ पौडेल, उपशाखा १०, ११ महिला समिति सचिव लेकमाया गुरुङ्ग, हिम बहादुर गुरुङ्ग लगायतले उपशाखा १०, ११ को विषयमा चर्चा गर्दै मानवीय सेवाका लागि अझ लागिपर्ने भन्दै उपाध्यक्ष गुरुङ्गले आफू युके पुगेपछि अन्य कार्यका लागि पहल गर्ने समेत बताए । उपशाखा १०, ११ का कोषाध्यक्ष सीता तिमिल्सिनाले रेडक्रसका सात सिद्धान्त वाचन गरेको कार्यक्रममा उपशाखा १०, ११ का कार्यसमिति पदाधिकारी, महिला उपसमितिका पदाधिकारी र युवा सर्कलका पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।       उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विपद् व्यवस्थापन समिति संयोजक रिता आचार्य र कार्यक्रमको संचालन सचिव सूर्य बहादुर बानियाले गरेका थिए ।

Post a Comment

 
Top