0
भूकम्पले घर ध्वस्त भएका यहाँका जनता विस्तारै अब घर निर्माणतिर अग्रसर हुन थालेका छन् । त्रिपालमुनिको बसाइँ सुरक्षित नभएपछि बर्खा लाग्दै गर्दा नुवाकोटमा घर निर्माणको हतारो देखिएको हो । तर अब बनाइन थालिएका घर पनि पुरानै शैलीमा ढुङ्गा माटोकै भरमा सुरु भएको छ । कोही बर्खा सकेपछि जुन जमिन सुरक्षित रहन्छ त्यही घर बनाउने सोचमा छन् भने कतिले चाहीँ धमाधम घर बनाउन थालेका छन् । सुरु भइसकेको बर्खामा सुरक्षित रहनकै लागि ग्रामीण भेगका भूकम्प प्रभावितले घर बनाउने चटारो गरेका हुन् । यो पालिको भैँचालोले ढुङ्गा माटोले बनेको सबै घर ध्वस्त बनाएको छ । लड्न बाँकी रहेको ढुङ्गा माटोको घर पनि चिरिएर भरे भोलि भएको छ । तै पनि अहिले चटारोमा निर्माण थालिएको नयाँ घर पनि ढुङ्गा माटोबाटै बनाउन थालिएको छ । अहिले जस्तापाताको टहराबाहेक घरकै संरचना खडा गर्नेले फेरि ढुङ्गा माटो नै प्रयोग गरेका छन् । यसरी ढुङ्गा माटो प्रयोग भएर घर निर्माण हुने क्रम ग्रामीण भेगमा बढी छ । शिखरबँेसी–५ मिश्र भञ्याङका अच्युत पण्डित बर्खा सुरु भएको र विकल्प नरहेकाले ढुङ्गा माटोबाटै घर बनाउन थालेको बताउँछन् । एक तल्ला ढुङ्गा माटोबाट बनाइएको घरको माथिल्लो भागमा जस्तापाता ठोकेर घर बनाउने तयारी गरिएको पण्डित बताउनुहुन्छ । भैँचालोले भत्काएको घरबाट बल्लतल्ल निकालेको सामानको समेत सुरक्षा गर्न नसकेपछि यस्तो प्रकृतिको घर तयार पारेको मिश्रभञ्याङका पण्डित बताउँछन् । यसरी गाउँ गाउँमा धमाधम असुरक्षित घर बन्न थालेकामा जिल्ला प्रशासन कार्यालय नुवाकोटले चिन्ता व्यक्त गरेको छ । अहिले बनाइने खर्चबाटै भूकम्प प्रतिरोधी घर तयार पार्न सकिने भएकाले घर निर्माण गर्दा जिल्ला प्राविधिक कार्यालय या सहरी विकास तथा भवन निर्माण कार्यालयसँग समन्वय गर्न नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेले आग्रह गरेका छन् । “जनता सधैँ पालमै बस्नका लागि सम्भव छैन, तैपनि भर्खरैको विनाश भोग्दाभोग्दै ढुङ्गा माटोबाटै घर बनाइनु सुरक्षित होइन, घर बनाउन चाहनेले प्राविधिकसँग सम्पर्क गर्नु आवश्यक छ,”–सहायक प्रजिअ घिमिरेले भने । गाउँमा धमाधम घर निर्माणको कामले च्यापेपछि कामदारको अभाव मात्रै भएको छैन ज्यालामा समेत वृद्धि भएको छ । गाउँमा युवा नहुनाले पनि कामदारको ज्यालामा भारी मात्रामा वृद्धि भएको छ । सुन्दरादेवी–१ का श्यामलाल श्रेष्ठ दैनिक रु ४०० मा काम गर्नेको भाउ अहिले रु एक हजारसम्म पुगेको बताउँछन् । घरको भग्नावशेष हटाउने, अस्थायी या स्थायी घर निर्माण गर्नेदेखिका काममा गाउँ गाउँमा कामदारको कमी देखिएको छ । सबैजना आफ्नै बसोबासका लागि व्यस्त हुनु, गाउँमा जनशक्तिकै कमी रहनु जस्ता कारणले गर्दा अर्कै गाविसबाट समेत काम गर्ने मान्छे ल्याउनुपर्ने अवस्थाको सिर्जना भएको छ । त्यो पनि भन्ने बित्तिकै पाइएको छैन । केही कामदार आफ्नो घरकै काम छाडेर भए पनि अरूको काममा लागेका कारण निर्माणको काम अघि बढेको छ । शिखरवेशी–१ सिम्टाङका राजेन्द्र तामाङ गाउँभरिनै घर निर्माणको काम गर्ने मान्छे आठ÷नौ जना मात्रै रहेको बताउँछन् ।यसरी अरूको घरका लागि काममा आउने पनि आफ्नो घर अलपत्रै छाडेर हिँडेका छन् । सिम्टाङबाट मिश्रभञ्याङसम्म घर बनाउन भनी हिँडेका युवाको आफ्नै हालत राम्रो छैन । भत्केको घरको केही अन्नपात निकाल्ने बित्तिकै उनीहरू अरूको काम गर्न हिँडेका हुन्छन् । घरमा भएको सम्पत्ति निख्रिएको यो बेलामा ज्याला गरेर नकमाई विकल्पै नभएकाले बाध्य भएर काममा हिँड्नु परेको तामाङ बताउँछन् । भनिन्छ, घर जीवनमा एक पटक बनाइन्छ । यस्ता प्राकृतिक प्रकोपका अगाडि मान्छेले पटक पटक घर बनाउनु पर्ने बाध्यतासमेत ल्याउँदो रहेछ । कति नागरिकलाई आर्थिक समस्याले घर बनाउन रोकेको छ त कतिलाई घर बनाउने समयसमेत बाँकी नभएकामा चिन्ता छ । जीवनको अन्तिम क्षणमा पुगेका कतिपय नागरिक अहिले घरबारविहीन भएर मर्नुपर्ने छटपटीबाट गुज्रिरहेका छन् । कतिपय भैँचालो र त्यसपछिको पहिरोबाट प्रभावित भएकाहरू यो बर्र्खापछि पनि बाँचिएछ भने घर बनाउने विषयमा सोच्ने बताउने गरेका छन् । कतिपय भने अब यो जुनीमा घर बनाउने समय नै छैन भन्न थालेका छन् । रातमीका रेशमबहादुर पण्डित आफूले घर बनाउनै नभ्याउने बताउँछन् । जहाँ मन बस्न सक्छ, त्यसैलाई घर भनिन्छ । यतिबेला कुनै पनि नेपालीको घर छैन । घर सध्ये भएकाको पनि मन आफ्नो घरमा बस्न सकेको छैन । भैँचालोसँग बाहिर भागाभाग गर्नुपर्ने या पानी पर्न थालेपछि पहिरो नजाने ठाउँतिर कुद्नुपर्ने मध्ये एक न एक पीडाबाट सबै ग्रसित छन् । यो विपत्तिले कल्पनै नगरेको फसादमा सबै जनतालाई पारिदिएको छ । आफ्नो सुरक्षाका लागि बनाइएको घरबाटै थुप्रैको ज्यान गएको छ । अब आफ्नो जीवन र सम्पत्ति सुरक्षाका लागि सबैले भैँचालो प्रतिरोधात्मक प्रविधिलाई अपनाएर घर बनाउने तर्फ उन्मुख हुनै पर्छ ।

Post a Comment

 
Top