0
गोल्डेन न्यूज संवाददाता
शान्तिका लागि नागरिक समाजको सञ्जालले प्रमुख चार राजनीतिक दलहरुवीच जेठ २५ गते भएको १६ बुँदे राजनीतिक सहमति संविधान निर्माणका लागि सकारात्मक रहेको भन्दै स्वागत गरेको छ । सञ्जालले जेठ २७ गते विज्ञप्ति जारी गरी दलहरुवीचको पछिल्लो सहमतिले आम नागरिकमा छिट्टै मुलुकमा संविधान जारी हुने आशाको सञ्चार भएको उल्लेख गर्दै सहमतिको इमान्दारितापूर्वक कार्यान्वयन गर्न समेत आग्रह गरेको छ । संविधान निर्माणमा भएको ढिलाई र विवादले प्रमुख राजनीतिक दलहरुप्रति आम जनताको विश्वास गुम्दै गएको अवस्थामा पछिल्लो पटक भएको महत्वपूर्ण १६ बुँदे सहमतिले नेपाली जनतामा दलहरुप्रतिको विश्वास बढ्ने संकेत मिल्नुका साथै छिट्टै संविधान जारी हुने विश्वास भएको उल्लेख छ । आम नागरिकका हक अधिकारलाई सम्बोधन हुने गरी यथाशीघ्र संघीय लोकतान्त्रिक संविधान जारी गरी लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत गर्न तथा सहमति भन्दा बाहिर रहेका राजनीतिक शक्तिलाई पनि मुलधारमा ल्याउनका लागि विश्वसनीय वातावरण बनाउनका लागि आग्रह गरिएको छ । साथै भुकम्पले मुलुकमा पु¥याएको क्षतिप्रति गम्भीर भई दीर्घकालीन योजनाका साथ पुनःनिर्माणमा जुट्न सरकार तथा राजनीतिक दललाई सञ्जालले अनुरोध गरेको छ । विज्ञप्तिमा सञ्जालका संयोजक रामप्रसाद सुवेदी, वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, मानव अधिकारकर्मीहरु नवदत्त ढुङगाना, खगराज आचार्य, इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, मानव अधिकार एलायन्सकी सचिव जानकी शर्मा, मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष कमलप्रसाद अर्याल, महिला मानवअधिकार रक्षक सञ्जालकी सचिव सरिता थापा, कास्की जिल्ला अदालत बारका अध्यक्ष पदमपाणि देवकोटा, गैसस महासंघका अध्यक्ष गोपाल खड्का, ल्याक कास्कीका शोभा पराजुलीले हस्ताक्षर गरेका छन् ।

Post a Comment

 
Top