0
गोल्डेन न्यूज संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराबाट गएको टोलीले आइतबार लमजुङ बेंशीशहर स्थित विभिन्न कार्यालयमा छड्के निरीक्षण तथा अनुगमन गरेको छ । अख्तियार क्षेत्रीय कार्यालय पोखराका उपसचिव नरेन्द्र प्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले जिल्ला स्थित विभिन्न कार्यालयमा छड्के गर्दा ४० जना कर्मचारी अनुपस्थित रहेको पाइएको थियो । जस अन्तर्गत अधिकृत स्तरका १४ जना र सहायक स्तरका २६ जना कर्मचारी अनुपस्थिति रहेका थिए । सो सम्वन्धमा आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाइएको छ ।  त्यस्तै टोलीले लमजुङ जिल्ला स्थिति विकास निर्माण आयोजनाहरु स्थलगत रुपमा गई अनुगमन निरीक्षण अनुगमन गरेको छ । त्यसैगरी बुधबार नै आयोगको क्षेत्रीय कार्यालय पोखराबाट शाखा अधिकृत पार्वती लामिछानेको नेतृत्वमा खटिइ गएको टोलीले बहादुरे उच्च मा.वि. भदौरे तामागीबाट छापामारी विद्यालयका आर्थिक गतिविधिसँग सम्वन्धित श्रेस्ता कागजातहरु नियन्त्रणमा लिएको छ । विद्यालयको अयिनमितताको विषयमा टोलीले विद्यालयका प्रधानाध्यापक नविनराज पौडेलको घरमा छापामारी विद्यालयका विभिन्न महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व कोषाध्यक्ष र हालका कोषाध्यक्षको घरबाटपनि विद्यालयका आर्थिक गतिविधिसँग सम्वन्धित श्रेस्ता कागजातहरु बरामद गरेको छ । टोलीले आ.व. ०६८।०६९ देखि हालसम्मको विद्यालयका आर्थिक÷प्रशासनिक एवं निर्माणसँग सम्वन्धित कागजातहरु नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका कागजात हरुमा नेपाल सरकार र विल्डरनेश अष्ट्रेलियबाट प्राप्त छात्रवृत्ति वितरण सम्वन्धी कागजात, एसएलसीमा विद्यार्थीलाई प्राक्टिकल विषयमा विषय शिक्षकले दिएको नम्बर र प्र.अ.ले जिल्ला शिक्षा कार्यालयमा पठाएको नम्बर सम्बन्धी विवरण कागजातहरु लगायता विभिन्न बैंकमा चेकबुकहरु, बैदेशिक सहयोगमा स्कुलले संचालन गरेको होस्टल सम्वन्धी कागजातहरु समेत नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी नरेन्द्र प्रसाद भट्टराईले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top