0
गोल्डेन न्यूज संवाददाता
पर्वतका एक युवाले आफ्नो वैवाहिक भोजलाई केवल चियापानमामात्र सीमित गरी जिल्ला सदरमुकाम कुश्मा वजारमा सोलार वत्ति जडान गरेका छन् । अन्तर्राष्ट्रिय सेवामूलक संस्था रोटरी इन्टरनेशनल अन्तर्गत गठित रोट्याक्ट क्लव अफ पर्वतका संस्थापक अध्यक्ष समेत रहेका मोहन आचार्यले आफ्नो वैवाहिक भोजको रकमलाई सामाजिक कार्यमा लगाएका हुन् । पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ८ निवासी आचार्य पर्वत जिल्लाकै राम्जादेउराली गा.वि.स, वडा नंं. ३ निवासी सञ्जु गौतमसंग शनिवार वैवाहिक वन्धनमा वाँधिएका थिए । रोट्याक्ट क्लव अफ पर्वतको संयोजनमा आईतवार सदरमुकाम कुश्मास्थित राममन्दिर परिसरमा सोलारवत्ति हस्तान्तरण, बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य अर्जुन प्रसाद जोशीले पर्वत जिल्लाको सामाजिक अभियानमा रोटरी, रोट्याक्टको अग्रणी भूमिका रहेको वताए । असल संस्थामा सहभागी भएकाले नै आचार्यमा सकरात्मक सोच विकास भएको भन्दै उनले समाजका हरेक युवाले यस कार्यको अनुशरण गर्नुपर्नेमा जोड दिए । नवदम्पत्तिको तर्फबाट बोल्दै आचार्यले देशको विषम परिस्थितिमा भडकावपूर्ण भोजको आयोजना गर्नु भन्दा सदाको लागि वजारलाई उज्यालो बनाउने अभियानको थालनी गर्नु उपर्युक्त देखेकाले आँफूले सोलार उपलव्ध गराएको बताए । कार्यक्रममा निमित्ति प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराई, प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति नवराज गुरुङ्ग, नेकपा एमाले, पर्वतका अध्यक्ष पदम गिरी, रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई, वर्तमान अध्यक्ष प्रेम प्रसाद पौडेल, पत्रकार महासंघ, पर्वतका सभापति दुर्गा प्रसाद शर्मा, इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष लक्ष्मी मेधाशी लगायतले  नव विवाहित आचार्य दम्पत्तिलाई खादा, माला र टीका लगाएर बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा आचार्य नवदम्पत्ति तथा प्रमुख अतिथि जोशीले संयुक्त रुपमा नि. प्रमुख जिल्ला अधिकारी भट्टराईलाई झण्डै एक लाख वरावरको दुई सेट सोलार हस्तान्तरण गरे । सो सोलार हाललाई वजारको मुख्य दुई स्थान लोकतन्त्रचोक र शिवालयचोकमा जडान गरिनेछ । क्रमशः बजारको अन्य क्षेत्रमा पनि सोलार थपका लागि पहल गर्दै जाने आयोजकवाट बताईएको छ । कार्यक्रम रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष अज्यूत तिवारीको अध्यक्षता, आगामी अध्यक्ष सन्तोष पौडेलको स्वागत एवम् सचिव कृष्ण सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top