गोल्डेन न्यूज संवाददाता
पर्यटनको माध्यमबाट आर्थिक विकास गराउने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), जापानले पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद् (पिटिसी) सँग सहकार्य गर्ने भएको छ । त्यसका लागि आइएलओ जापान र पिटिसी बीच सहकार्य गर्ने सम्झौता भएको छ । आइएलओले ‘एलइडि’ (स्थानीय आर्थिक विकास) कार्यक्रम अन्तर्गत पोखराको पर्यटनमा सघाउने गरि सम्झौता भएको परिषद् अध्यक्ष सोमबहादुर थापाले जानकारी दिएका छन् । थापा र एलइडिका तर्फबाट आइएलओ नेपाल निर्देशक जोश एशालिनो बीच केहिदिनअघि सम्झौता भएको छ । सम्झौता अनुसार एलइडि परियोजनाले पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि प्रवद्र्धनात्मक सूचना दिने खालको वेभसाईट, पोखरा गाईडबुक, ब्रोसर, नक्सा सहितको सूचना पाटी निर्माण गरिदिने पिटिसीका अध्यक्ष थापाले जानकारी दिए । पिटिसीले केहि समयभित्रै पर्यटन सम्बन्धि जानकारि दिने मोवाइल एप्स बनाउने पनि तयारी गरेको छ । ‘यो सम्झौताले ‘ग्रेटर पोखरा’को पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निभाउनेछ’ उनले भने, ‘पोखरा आएका पर्यटकले खोजेको सूचना पाउनेगरि पुर्वाधार निर्माणमा सहयोग पुग्नेछ ।’ परियोजना अन्तर्गत हालैको भूकम्प र पराकम्पन पछिको जटिल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तालिम, सेमिनार, कार्यशाला गोष्ठी समेत आयोजना गरिने उनले बताए । परिषद् उपाध्यक्ष चिरञ्जिवी पोख्रलेका अनुसार यो सम्झौता पाँच महिनाका लागि भएको र त्यो अवधिमा धेरै पूर्वाधार बनिसक्नेछन् । ‘एउटा सानो सुरुवात भएको छ । भविष्यमा अन्य विविध क्षेत्रमा साझेदारी गर्दै पर्यटन व्यवसायी श्रमिकहरु र समग्र पर्यटन उद्योगलाई अझ मजबुद बनाउनेछ’ उनले भने,–‘पोखरा र आसपासका पर्यटकीय क्षेत्रबारे चाहेको सूचना पाउने आधिकारी वेभसाइट अहिलेको आवश्यकता थियो । त्यो अब पुरा हुनेछ ।’ उनले पोखराको पर्यटन प्रवद्र्धनमा यो सम्झातौले आवश्यकता पुरा गर्ने बताए । पिटिसीका महासचिव रामु गौतमका अनुसार पोखरा आएका धेरै पर्यटकले चाहेको सूचना नपाएर भौतारिनुपरेको बेला आइएल ओसँगको सहकार्यले आगामि दिनमा पोखरा आउँदा पर्यटकहरुले सूचना पाउन सहज हुनेछ । ‘पर्यटकले पोखराबारे सधै सूचना पाउने एकमात्र आधिकारी वेभसाइट अहिलेसम्म छैन । तर अब विश्वका कुनैपनि कुनामा रहेका पर्यटकले एक क्लिकमा पोखराबारे जानकारी पाउनेछन’ गौतमले भने, ‘पोखरा र आसपासका क्षेत्रका सबै सूचना यो वेभसाइटमा हुनेछ ।’ आईएलओ नेपालस्थित राष्ट्रिय निर्देशक प्रकाश शर्माले पनि यो सम्झौता पोखराका पर्यटन क्षेत्रका लागि महत्वपूर्ण रहेको बताए । पर्यटन क्षेत्रमा पहिलोपटक सहयोग गर्न पाएको उनले बताए । उनले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । ‘पोखरा र आसपासका क्षेत्रलाई समेटेर हामीले सघाउन थालेका हौ’ उनले भने, ‘यो प्रभावकारी कदम हो ।’ यसले पोखराको पर्यटनलाई एक कदम भएपनि माथि उठाउन सघाउनेछ ।’ सम्झौताले पोखराको पर्यटन क्षेत्र झनै उत्साहि भएको पिटिसीका पूर्व अध्यक्ष टिकाराम सापकोटाले जानकारी दिए । सम्झौतापछि आइएलओका नेपाल निर्देशक जोश एशालिनोले वर्षेनी लाखौं पर्यटक भित्रिने पोखरा र आसपासका क्षेत्रको विकासको लागि यो सहयोग रहेको बताए ।
Post a Comment