नेपालद्वारा प्रस्तावित तीन नयाँ अन्तरसीमा हवाई रुट सञ्चालनमा ल्याउन भारतले स्वीकृति प्रदान गरेको समाचारप्रति पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । संघले आइतबार एक विज्ञप्ति प्रकाशित गरी उक्त कदमलाई नेपाली हवाई यातायात र पर्यटन क्षेत्रका लागि सकारात्मक कदम भनी खुसी व्यक्त गरेको छ । नेपाल सरकारले त्यस्तो हवाई रुट संचालनमा ल्याउन ५ वर्षदेखि प्रयास गरिरहेको थियो । भारतबाट यस्तो स्वीकृती प्राप्त भएपछि नेपाली पर्यटनलाई माथि लैजान सहयोग पुग्ने संघका अध्यक्ष भरतराज पराजुलीले बताए । पोखराका पर्यटन व्यवसायी भूकम्प पछिको अवस्थालाई ख्याल गर्दै नेपाली पर्यटनलाई जगाउने अभियानमा व्यस्त भइरहेको बेला भारत सरकारले प्रदान गरेको यस्तो स्वीकृतिले खुसीको संचार गरेको पराजुलीले बताए । नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा समेत नयाँ हवाई रुट सञ्चालनका लागि स्वीकृति दिन आग्रह गरेको थियो । भारतीय राजदूत रणजित रायले रुटलाई स्वीकृति दिएको औपचारिक पत्र छिट्टै नेपाल सरकारले पाउने जानकारी पनि गराइसकेका छन् । स्वीकृत प्राप्त रुटअन्तर्गत अन्तर्राष्ट्रिय विमान पूर्वमा जनकपुर, पश्चिमबाट भैरहवा र मध्यपश्चिबाट नेपालगन्ज हुँदै काठमाडौं भित्रने जनाइएको छ । यी सबै रुटका लागि भारतीय आकाश पनि प्रयोग हुने भएकाले भारतको स्वीकृति आवश्यक भएको हो । हाल नेपाल भित्रने अधिकांश जहाजहरू सिमरा रुट हुँदै आउने गरेका छन् । हाल नेपालबाट बाहिरिनका लागि भने पाँच हवाई रुट छन् । तर भित्रनका लागि सिमरा एउटामा एन्ट्री पोइन्ट हो । एउटा मात्र बिन्दु भएका कारण अन्तर्राष्ट्रिय हवाई चाप उच्च रहेको छ । नयाँ क्रसबोर्डर प्रवेश बिन्दु सञ्चालन पछि जहाजहरू एउटै बिन्दुबाट आउन र जान पाउनेछन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment