0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सम्पन्न सातौं राष्ट्रपति रनिङशिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टप्स उमावि च्याम्पियन बन्न सफल भएको छ । छात्रा भलिबलमा प्रथम भई ३५ तथा एथलेटिक्समा दोस्रो भई १०१ गरी समग्रमा १३५ अङ्क प्राप्त गर्दै टप्स उमावि यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता को च्याम्पियन बन्न सफल भएको हो । योसँगै टप्स च्याम्पियनको श्रृङ्खला छैटौं हो । यस्तै भलिबलमा १४ र एथलेटिक्समा ११२ गरी जम्मा १२६ अङ्कसहित कास्की मोडनाइज एकेडेमी द्वितीय तथा एथलेटिक्समा ७६ अङ्कसहित गौरीशंकर उमावि हेमजा तृतीय हुन सफल भएका छन् । च्याम्पियन बनेको टप्सले नगद १५ हजार, द्वितीय बनेको कास्की मोडनाइज एकेडेमीले नगद १२ हजार र तृतीय बनेको गौरीशंकर उमाविले नगद १० हजार प्राप्त गरे । विजेता तथा उपविजेतालाई एन–प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोची, प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष खेमबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कार्यालय प्रमुख प्रकाश बराल, राष्ट्रिय भलिबल खेलाडी अरुणा शाही, टप्स उमाविका संस्थापक रत्नमान गुरुङ, एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललगायतले च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।एथलेटिक्सतर्फ ११२ अङ्कसहित कास्की मोडनाइज एकेडेमी प्रथम, १०१ अङ्कसहित टप्स उमावि द्वितीय र ७६ अङ्कसहित गौरीशंकर उमावि हेमजा तृतीय भए । छात्र भलिबलमा वीरेठाँटी उमावि प्रथम भएको छ । उसले आइतबार भएको फाइनलमा सिद्धबराह मावि चापाकोटलाई २५–११, २५–१४ र २५–२० को सोझो सेटमा पराजित गर्दै वीरेठाँटी उमावि प्रथम भएको हो । छात्रातर्फ टप्स उमावि प्रथम भएको छ । आइतबार नै भएको फाइनलमा धौलाश्री उमावि छोम्रोङलाई २५–१०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गर्दै टप्स उमावि प्रथम भएको हो।दुवै फाइनल खेल राष्ट्रिय रेफ्री गोपाल थापा, राम पुन र चित्रजंग गुरुङले खेलाएका थिए । छात्र भलिबलतर्फ वीरेठाँटी उमाविका सुजन गुरुङ र छात्रातर्फ धौलाश्री उमाविका सुस्मिता मगर बेस्ट प्लयेर घोषित भए। यस्तै कास्की जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष दिँदै आएको छात्रवृत्तिअन्तर्गत यस वर्ष छात्रातर्फ टप्स उमाविका शशी चौधरी र छात्रतर्फ वीरेठाँटीका राजु दर्जीले प्राप्त गर्न सफल भए । दुवैलाई जनही १० हजार प्रदान गरिएको थियो ।

Post a Comment

 
Top