0
सेवामध्येको सर्वोत्कृष्ट सेवा हो स्वयंसेवा । कुनै लाभ नलिएर आफ्नै स्वविवेकमा पूर्ण सेवाभावका साथ गरिने कामलाई स्वयंसेवा भन्ने गरिन्छ । स्वयंसेवाका विभिन्न रुपहरु हुन्छन् । विशेषगरी श्रमको क्षेत्रमा गरिने स्वयंसेवालाई श्रमदान भन्ने गरिन्छ भने अभियानकै रुपमा समूहबद्ध भएर गरिने त्यस्तो श्रमदानलाई श्रम शिविर पनि भन्ने गरिन्छ । त्यसो त सेवाभाव नेपालीहरुको आफ्नै मौलिक पहिचान पनि हो । अरुको सेवा गर्दा सन्तुष्टि महसूस गर्ने हाम्रो विशेषता हो । अरुको निम्ति केही गर्नुपर्छ भन्ने सेवाभाव सामाजिक संस्कार र चिन्तनको अभिव्यक्ति पनि हो । हामी समूहमा विश्वास गर्छौं, एउटालाई पर्दा अर्कोले सहयोग गर्नुपर्छ भन्ने सामाजिक मान्यताबाट अभिप्रेरित छौं । बिस्तारै पूँजीवादको प्रवेशले शहर बजारहरुमा हरेक क्षेत्रलाई किनबेचको साधन बनाइरहेको छ तर पनि ग्रामीण भेगहरुमा अहिले पनि सेवाभावको भावना मरिसकेको छैन । बाहुरे, पर्मजस्ता मौलिक र प्राचीन स्वयंसेवाका रुपहरु अहिले पनि कायम छन् । एउटालाई पर्दा अर्कोले सहयोग गर्ने भावना मानव सेवाको उच्च रुप हो । अहिले नेपालमा फेरि एकपटक त्यही सेवाभावको जागरण चाहिएको छ । भूकम्पको महाबिपत्तिले थिचिएका बस्तीहरुलाई माथि उठाउन फेरि एकपटक सबै नेपाली सेवाभावका साथ उठ्नुपर्ने बेला आएको छ । नेपालको आफ्नै मौलिक पहिचान भएर पनि बिस्तारै मर्न थालेको स्वयंसेवालाई अभियानकै रुपमा सञ्चालन गरेर यसलाई जीवन्तता दिने अनि भूकम्पले सिर्जना गरेको पीडा र शोकलाई ऊर्जामा बदलेर पुनःनिर्माणको महाअभियान चलाउने समय आएको छ । भूकम्पले निम्त्याएको महाबिपत्तिलाई सामना गर्ने विधिको खोजी भइरहेको छ । देशभित्रको स्रोतसाधन परिचालनसहित अन्तर्राष्ट्रिय समुदायबाट आउनसक्ने सहयोगको पनि खोजी भइरहेको छ । त्यसका साथै लाखौंको संख्यामा रहेका युवा जनशक्तिलाई कसरी परिचालन गर्ने बहस पनि भइरहेको छ । देशभित्र लाखौं युवा जनशक्ति छ, जसलाई परिचालन गर्न एउटा महाअभियान चाहिन्छ । पाँच वर्षअघि हाइटीमा महाभूकम्प जाँदा आफ्नै जनशक्ति नहुँदा राष्ट्रसंघको आह्वानमा विभिन्न देशबाट युवाहरु लैजानुपरेको थियो । अहिलेसम्म त्यहाँ विश्व समुदायको ठूलो राशी लगानी भइरहेको छ तर पनि पीडितहरु पालमुनि नै छन् । हामीले यसबाट सिकेर देशभित्रको युवा जनशक्ति परिचालनको सही नीति बनाउन आवश्यक छ । सही नीति र योजनासहित युवा परिचालन गर्न सक्ने हो भने पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढ्नसक्छ । अहिले सरकारले युवाहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्ने नीति अगाडि सार्न थालेको छ । यो निकै राम्रो सोच हो । तर यसका लागि आम युवाहरुमा स्वयंसेवी भावनाको विकास गर्न सक्नुपर्छ । स्वयंसेवाका लागि कसैको करकाप होइन, हरेक व्यक्तिमा भित्रैदेखि चाहना जाग्नुपर्छ । स्वयंसेवाको भाव जागृत गर्न ‘ह्वीप’ होइन ‘ह्वीम’ सिर्जना गर्नसक्नुपर्छ । त्यसो हुनसके स्वयंसेवक बन्ने प्रतिष्पर्धा नै चल्नसक्छ । संकटको बेला स्वयंसेवा गरेका व्यक्तिलाई राज्यले प्रदान गर्ने अन्य अवसरहरुमा प्राथमिकता दिने नीति बनाउने हो भने यसमा अझ आकर्षण बढ्नसक्छ । अहिले विभिन्न राजनीतिक दलहरुले कार्यकर्तालाई स्वयंसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेका छन् । केही दलहरुले विभिन्न जिल्लामा स्वयंसेवक परिचालनसमेत गरिसकेका छन् । यो क्रमलाई प्रोत्साहन गर्न जरुरी छ । स्वयंसेवक परिचालन गर्ने दलहरुले त्यसबाट राजनीतिक फाइदा लिन खोज्नु नितान्त स्वाभाविक हो, जनताको सेवा गरेर जनताको मन जित्ने प्रतिष्पर्धा गर्नु राजनीतिको सुन्दर पक्ष हो । राजनीति बिग्रियो, राजनीतिक क्षेत्र सेवा गर्नेभन्दा लाभ लिने थलो बन्यो भनेर सर्वत्र चिन्ता व्यक्त भइरहेको बेला दलहरुले कार्यकर्तामार्फत जनताको सेवा गर्ने र देशको पुनःनिर्माणमा योगदान गर्ने भूमिकाको खोजी गर्छन् भने राज्यले स्वागत गर्दै यसलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्छ । त्यसो त अहिलेसम्म राज्यतहबाट स्वयंसेवक परिचालनको गतिलो अभ्यास नै भएको छैन । २०६९ सालमा तत्कालीन सरकारले ‘राष्ट्रिय स्वयंसेवा निर्देशिका’ पारित गरेर स्वयंसेवक परिचालनको नीति पारित गरेको थियो । तर राजनीतिक अस्थिरताले पटक–पटक सरकार परिवर्तन हुँदा त्यो लागू हुन पाएन । अहिले पुनःनिर्माणको सन्दर्भमा कतिपय बुँदाहरु थप गरेर त्यही निर्देशिकालाई लागू गर्दा पनि धेरै सहयोग पुग्न सक्छ ।

Post a Comment

 
Top