0
मानव जीवनका लागि ज्यादै संवेदनशील र महत्वपूर्ण विषय भए पनि नीति निर्माताको नजरमा महत्व पाउन नसकेको सरसफाइ केही वर्षयता नेपालमा राष्ट्रिय एजेण्डा नै बनेको छ । जसको परिणामस्वरुप सरसफाइ जागरण राष्ट्रिय अभियानको रुपमा अघि बढिरहेको छ । सरसफाइ जागरण अभियानकै रुपमा अघि बढ्न थालेपछि गाउँ, टोल, वडा, गाविस÷नगरपालिका हुँदै जिल्लाहरुमा खुला दिसामुक्त घोषणा भइरहेको छ । केही जिल्लाहरुमा खुला दिसामुक्त घोषणा भइसकेको छ भने धेरै जिल्ला तयारीमा जुटेका छन् । सन् २०१७ सम्म नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्षका साथ अभियान अघि बढिरहेको छ । गत वर्षको बाढीपहिरो तथा यसपटकको महाभूकम्पका कारण क्षतिग्रस्त जिल्लामा अभियान प्रभावित भए पनि समग्रमा देशव्यापी यो अभियान चलिरहेको छ । खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाहरुमा पनि त्यसको तयारीमा जुटेका छन् भने घोषणा गरिसकेका जिल्लाहरुले पूर्ण सरसफाइतर्फको यात्रा प्रारम्भ गरेका छन् । यो यात्रामा आउनसक्ने संभावना र चुनौतीका विषयमा सरोकारवालाहरुले अनुगमन÷छलफल शुरु गरेका छन् । हिजो खुला दिसामुक्त अभियानको क्रममा देखिएको उत्साहलाई पूर्ण सरसफाइ अभियानमा पुनःजागृत गर्न यस्तो पूर्वतयारी आवश्यक छ । पूर्ण सरसफाइ अभियान शुरु गर्न र सफलतापूर्वक सम्पन्न गर्न केही पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखिन्छ । पहिलो कुरा त आम मानिसहरुमा सरसफाइको महत्वबोध गराउन आवश्यक छ । कुनै समस्या आउँदा सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गर्ने तर समस्या समाधान भएपछि त्यसतर्फ फर्केर नहेर्ने हामी नेपालीहरुको बानी नै छ । केही समयअघि जाजरकोटमा महामारी फैलिंदा सबैको ध्यान त्यतैतिर गयो । सरसफाइको कमीबाट महामारी फैलिएको निष्कर्ष पनि निकालियो । सरकारी घोषणामा खुला दिसामुक्त बनेको जिल्लामा सरसफाइको अभाव किन भयो भनेर चर्चा पनि गरियो । तर महामारी सकिएसँगै सरसफाइको चर्चा पनि सकियो । किनकि यो हाम्रो पुरानै रोग हो । मानव स्वास्थ्यका लागि सरसफाइ मुख्य आधार हो भन्ने कुरा धेरैलाई थाहा छ । तर त्यसलाई सबैले पालना गर्न सकिरहेका हुँदैनन् । यो आवश्यकताबोध गराउन सक्ने हो भने राज्य वा सरोकारवालाहरुले आह्वान गरे पनि नगरे पनि सबै मानिस पूर्ण सरसफाइतर्फ अघि बढ्नेछन् । अझ ग्रामीण क्षेत्रमा सरसफाइको अवस्था निकै कमजोर छ । त्यहाँ सरसफाइलाई आधारभूत आवश्यकता नै ठानिदैन । सरसफाइलाई अरु काम पुगेपछि गरिने अतिरिक्त कामको रुपमा लिइन्छ, खासमा त्यसो होइन । मानव जीवनको महत्वपूर्ण पाटो सरसफाइ आधारभूत आवश्यकता र नियमित कामभित्र पर्छ भन्ने कुराको बोध गराउनु नै पूर्ण सरसफाइ यात्रामा प्रवेश गर्नु हो । पूर्ण सरसफाइका अन्तर्वस्तुहरु सफा घर, आँगन, सफा कार्यस्थल, चर्पीको प्रयोग, साबुनले हात धुने बानी, सुरक्षित पानी र सुरक्षित खाना आदि आधारभूत सवाल हुन् तर सबैले प्रयोग गरेको पाइँदैन । अहिले भइरहेको अनुगमन र अध्ययनहरुले देखाइरहेका छन्, पूर्ण सरसफाइको यात्रामा जानका लागि सार्वजनिक निकायहरुको सरसफाइ चुनौतीको रुपमा देखिएको छ । आम नागरिकलाई सेवा दिने र उनीहरुको अत्यधिक चाप हुने सरकारी, अर्धसरकारी, गैरसरकारीलगायतका सार्वजनिक निकायमा सरसफाइको अवस्था निकै नाजुक देखिएको छ । खुला दिसामुक्त जिल्लामा पनि विद्यालयहरुले राम्ररी शौचालय प्रयोगमा ल्याउन नसकेको, शौचालयमा पानी उपलब्ध गराउन नसकेको, पानी भए पनि साबुनको व्यवस्था नभएको, कक्षा कोठा र विद्यालय परिसर सफा हुन नसकेको जस्ता समस्या देखिएका छन् । सरसफाइको अभियानमा सबैभन्दा ठूलो भूमिका विद्यालयहरुको रहन्छ । कास्कीमा नेपालकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा बालबालिकाकै अगुवाइमा भएको थियो । प्रायः हरेक घरबाट बालबालिकाहरु विद्यालयमा जान्छन् । त्यहाँ सिकाइने ज्ञान र गराइने अभ्यासले बालबालिकामा मात्र होइन, उनीहरुको घरपरिवार र समुदायमा नै प्रभाव पार्दछ । त्यसैले पनि विद्यालयहरुमा सरसफाइसम्बन्धी ज्ञान र अभ्यास निकै बढाउनु जरुरी छ । सरसफाइ कुनै बाध्यकारी काम होइन, यो त हरेक मानिसको जीवनसँग जोडिएको आधारभूत सवाल हो । समाजका हरेक क्षेत्रले यो कुराको बोध गर्दै अरुलाई पनि बोध गराउन सक्ने हो भने पूर्ण सरसफाइको यात्रा निकै सुखद् हुनेछ । पूर्ण सरसफाइको अभियानलाई सफल बनाउनु र मानव जीवनलाई स्वस्थ बनाउनु हरेक नागरिकको दायित्व हो ।

Post a Comment

 
Top